पौराणिककालका नारदको जन्म कुनै महिलाविना नै भएको थियो । यिनलाई ब्रह्माबाट जन्माइएको थियो । कलियुगका नारदहरुको जन्म माता पिताबाट नै भएको थियो । तर, यिनीहरुलाई दलले नै जन्माएका थिए । ती नारद ब्रह्माण्डको सबै कुरा थाहा पाउँथे । उनी देवताका मात्र थिएनन् । दानव, दैत्य, नाग, गन्धर्व, मानव सबैका साझा थिए । अहिलेका नारद वल्लो टोल र पल्लो टोलको कुरा पनि थाहा पाउँदैनन् । नाइकेले भने पछि मात्र भाको नभाको थाहा पाउँछन् ।
ऊ बेलाका नारदले शिवलाई अनेक कुरा लगाएर दक्ष प्रजापतिको शिर छेदन गर्न लगाएका थिए । अहिलेका नारदमुनि आफ्नै घरभित्र आगो लगाउन तयार हुन्छन् । ऊ बेलाका नारदमुनिलाई पृथ्वी लोक घुम्ने रहर लागे छ । रात छिप्पिँदै थियो । मंसिर शुक्ल पूर्णिमाका दिन अचानक साँझ नारदमुनि टुँडिखेलको चौरमा फुत्त झरे । उनी यहाँको रमझम देखेर दंग परिरहेका थिए । चिटिक्क परेको व्यक्ति, हातमा गोप्रो बोकेको देखेर काठमाडौंका नारदमुनिले सोधे, ‘तपाईंलाई पहिलोपटक देखें, कहाँबाट आउनुभएको हो ?’
ती नारदमुनिले नेपाली भाषा अलि बुझेनन्, उनले मुण्टो हल्लाए । उनले उनकै लवजमा बोले । यताका नारदले सबै बुझेजस्तो गरे । तर केही बुझेका थिएनन् । भर्खरै पृथ्वी झरेका नारदमुनिलाई लाग्यो, यहाँका नारदहरु सबै संकेतमा पोख्त रहेछन् । मैले यिनको भाषा बुझिनँ तर यिनले मेरो भाषा कसरी बुझे ?नारदमुनि मुसुक्क हाँसे, यताका नारद भने ङिच्च परेर हाँसे । हाम्रा नारद ङिच्च हाँसेको देखेर नारदमुनिलाई शंका लाग्यो । यी पक्कै पनि म जस्तै होइनन् । उनले मुसुक्क हाँस्दै इशारा गरे, कतै पेय पदार्थ पिउन पाए हुन्थ्यो ।
हाम्रा नारद के कम, विदेशी भेटेका । उता ठमेलतिर पुर्याउने विचार गरे । उनले नेपांग्रेजीमा ठामेलऽ ठामेल भन्दिए । विचरा नारदमुनिलाई के थाहा ठामेल ! उसले नि ओकेऽ ओके गर्दियो । ट्याक्सी चढेर ठामेल पुगे । ठमेलको रमझम देखेर नारदमुनि तीनछक्क परे । सडकलाई उनले स्वर्गका अप्सरा कहाँबाट यहाँ आइपुगे छन् भन्ने लाग्यो । उनलाई जाडो लागिरहेको थियो । तर, ठमेलमा अप्सराहरुको अर्धनग्न शरीरमा पनि चिसोको कुनै आभाष थिएन ।
नारदमुनि र नारद क्वलमा छिरे । नारदमुनिलाई केही शंकोच भयो । उनले आफ्नो रुप परिवर्तन गरे । एकै छिन ध्यान गरेजस्तै गरी भाषा बुझ्नेजस्तै भए । यताका नारद मुर्गा पाएकोमा खुसी थिए । एकैछिनको रमझमपछि दुवै खाना खाने भनेर क्लब छाडे । नारदमुनिले नारदलाई आधा नेपाली र आधा अत्तोपत्तो नभएको भाषा मिलाएर सोधे, ‘साँच्चि तिमी के गर्छौ ?’ यताका नारदले भने, ‘म त संगठनमा छु साराका सारा नारदलाई मैले नै चलाउने हो ।’
नारदमुनि दंग परे । सबै नारदलाई ऊ एक्लैले चलाउने रहेछ । भनेपछि पक्कै ठूलै नारद रहेछ । मन मन सोचें । यताका नारदले मित्र नारदमुनिलाई सोधे, ‘अनि तिमीचाहिँ के गर्छौ नि ?’नारदमुनिले भने, ‘म त खासै केही पनि छैन । सानो जिम्मेवारी दिएको छ । स्थलगतरुपमा सत्यतथ्य पत्ता लगाएर जानकारी गराउने । मैले सबैको हेर्नुपर्छ । कहिले यताका कुरा गर्ने कहिले उताका कुरा गर्ने ।’ सानो काम छ । सबैले माया नै गर्छन् ।
उसले पनि उत्साहित मान्दै सोध्यो, ‘तिमी त ठूलो मान्छे रहेछौं, सूचना त निकै आउँछन् होला । हाम्रो जतो गाह्रो पनि छैन होला ? ’नारदले धक्कु लगाउँदै भन्यो । ‘हो नि हामीलाई त्यत्ति गाह्रो छैन तिमेरुको जस्तो । माथिको निर्देशन संगठनलाई आउँछ । त्यहीअनुसार संगठनभित्रका नारदहरुलाई जिम्मा लगाउने । कसलाई कहाँ फाँड्ने एकै चोटीमा सखाप !’नारदमुनि अलमल्ल पर्यो । ‘यस्तो पनि हुन्छ त ? आफैंले सत्यतथ्य खोज्नुपर्ने होइन र ? जोखिम त धेरै होला नि ?’
उसले तुरुन्तै जवाफ फर्कायो । छैन केही जोखिम । संगठनले सहयोग गरे गरिगो नगरे अर्को संगठनतिर छिरिगो । के सत्य के असत्य । सबैलाई पंगु बनाउने हो । ऊ अझै उत्सुक भयो । ‘त्यसो गर्दा आमनागरिकलाई अन्याय पर्दैन भन्या ? हाम्रो त तटस्थ हुनुपर्छ । हामी त कतै संगठनमा पनि हुँदैनौं । सबैको बराबरी भएर काम गर्छौं ।’ तिम्रोमा संगठनले भनेको मात्र मान्दा कसरी सही सूचना प्राप्त हुन्छ त ?
नारदले फेरि थप्यो, ‘हाम्रो देशमा त्यस्ता संगठन नभएका त बाँच्नै गाह्रो पो हुन्छ त ? एकदम थोरै छन् । ती पनि टिक्न सक्दैनन अनि विदेसिन्छन् ।’
‘ओहो ! त्यो त राम्रो होइन हो मित्र । हामी नारदमुनिहरुको काम भनेको सबैलाई सही जानकारी दिने हो । को मेरो को तेरो भन्दा पनि दिने त खास कुरो हो नि !’नारद भन्छन्, ‘दिनुपर्ने त खास कुरो नै हो । तर त्यो खास कुरो कसले पो पत्याउँछन र ? हाम्राँ त सबै कुनै न कुनै दलको झोलामा हो । माथिबाट जे आउँछ, त्यही नै स्वीकार गरेर वोक्ने हो ? सत्य तथ्य भन्न थाल्यो पनि त उही हो पारा । मिलुञ्जेल विन्दास मिल्छ छाडेपछि सत्यानाश !’
उसले फेरि सोध्छ,‘तिमीहरुको विचार बलियो हो कि संगठन ? ’यताका नारद फुरुंग हुँदै भन्छन्, के को विचार हुनु नि, संगठन नै हो । पद पनि भागबण्डामा हुने हो । विचार मिलोस् कि नमिलोस् । पद मिले सबै मिल्छ, पद नमिले भित्ता पुर्याउँछ ।’नारदमुनिले कुरो बुझ्दैन । अनि फेरि सोध्छ ‘होइन तिम्रो नेपालको नारदहरु सबै दलबाट परिचालित हुनुुपर्ने हो ? कि के हो ?
हाम्रो नारद ठमेलको नशामा अलिअलि झ्याप भइसकेका छन् । उनी कुनै धक नमानी उत्तर दिन्छन्, ‘हाम्रा त पार्टीको झोला, झोलामा पनि कुन गुट । गुटमा पनि को व्यक्तिको भन्ने हो नि । दलको झोलाभन्दा बाहिर त मुस्किल हो साथी मुस्किल । हामी त सबै दलको झोलाका नारदमुनि । खेल खत्तम पैसा हजम !