काठमाडौं– साउदीस्थित नेपाली दूतावासले साउदीको दमाम सहरमा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । दमामस्थित अल असेम रेस्टहाउस फर फेस्टिवलमा यही डिसेम्बर २७ र २८ तारिखका दिन शिविर सञ्चालन गर्न लागिएको दूतावासले सूचनामार्फत जानकारी दिएको हो ।
दूतावासले जारी गरेको सूचना अनुसार डिसेम्बर २७ का दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म र २८ तारिखका दिन बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म शिविर सञ्चालन हुने छ । उक्त शिविरमा राहदानी नवीकरण, बहिर्गमन भिसाको फाराम भर्ने तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन हुने दूतावासको भनाइ छ ।
रियादस्थित दूताबासबाट टाढा रहेका सेवाग्राहीहरुलाई उनीहरुको पायक पर्ने स्थानबाटै उपरोक्त सेवा प्रदान गर्न घुम्ती शिविर सञ्चालन गर्ने कार्यक्रम तय गरिएको दूतावासले जनाएको छ । उक्त शिविरमा सहभागी हुन अनलाइन फाराम भर्नुपर्ने व्यवस्था गरिएको छ । शिविरमा आउँदा अनलाइन भरेको (प्रि–इनरोलमेन्ट) बारकोटयुक्र फाराम अनिवार्य ल्याउनुपर्ने जानकारी दिइएको छ ।
अनलाइन फाराम नभरेकालाई शिविरस्थलमा प्रवेश नदिइने पनि दूतावासले प्रस्ट पारिएको छ । उक्त फारामको साथमा हालको सक्कल राहदानी र राहदानीको फोटो भएको पेजको फोटोकपी, नागरिकताको फोटोकपीसमेत ल्याउन भनिएको छ । दूतावासले फाराम भर्नका लागि सहयोग गरिदिन त्यहाँस्थित नेपाली संघसंस्था र समाजसेवीहरुसमक्ष अनुरोधसमेत गरेको छ । साउदीस्थित नेपाली दूतावासले विभिन्न स्थानमा शिविर सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै यसपटक दमाममा कार्यक्रम राखिएको जानकारी दिएको छ ।
थप ४३ जनाले पाए ‘एक्जिट भिसा’
यसैबीच साउदीमा गैरकानुनीरुपमा रहेका थप ४३ जना नेपालीले बहिर्गमन भिसा (एक्जिट भिसा) पाएका छन् । कानुनी हैसियत गुमाएका विदेशी कामदारलाई आफ्नो मुलुक फर्कन साउदी सरकारले दिएको सुविधाअन्तर्गत नेपाली दूतावासमार्फत एक्जिट भिसा दिइएको हो ।
नेपाली दूतावासबाट बहिर्गमन भिसाको प्रक्रिया गरिएकामध्ये पछिल्लोपटक थप ४३ जनाले नेपाल फर्कने अवसर पाएका हुन् । यसअघि पनि धेरैले यो भिसाको सदुपयोग गरी नेपाल फर्किसकेका छन् । दूतावासले बहिर्गमन भिसा प्राप्त भएकाहरुलाई यथाशीघ्र नेपाल फर्कन आग्रह गरेको छ । ‘विशेषगरी हुरूप लागेर एक्जिटको प्रक्रिया गरेका महानुभावहरू १५ दिनभित्रमा साउदी अरबबाट नेपाल फर्किसक्नुहोला अन्यथा १० हजार साउदी रियालसम्म जरिवाना हुने छ,’ साउदीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
एक्जिट भिसाका लागि नेपाली दूतावास रियादबाट फाराम भरेका व्यक्तिहरूले अब आफ्नो एक्जिट भिसाको अवस्थाको बारेमा अनलाइनमार्फत आफ्नो इकामा नम्बर÷राहदानी नम्बर प्रविष्ठ गरी जानकारी लिन सक्नेसमेत दूतावासले जनाएको छ । ‘यदि तपाईंको मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दमाममा क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आएसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ, एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु पर्दैन ।’
एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने र यसबापत एक हलाला पनि कंहीँ कतै बुझाउनु नपर्ने दूतावासले प्रस्ट पारेको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने जनाइएको छ ।