सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको मिलीजुली सरकार छ देशमा । एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । तर सत्ता कतिबेला ढल्ने हो भन्दै दैनिकजसो हल्ला हुन्छ । कहिले मन्त्री फेरिने, त कहिले सरकार नै फेरिने हल्ला हुन्छ । प्रधानमन्त्री ओलीले सरकार बन्नेबित्तिकै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका थिए । ती सम्झौतामा के–के थिए सार्वजनिक त छैन तर ओलीले बेलाबेला मन्त्रीहरुलाई बोलाएर यसबारे स्पष्टीकरण भने सोधिरहेका छन् । चीन उड्नुअघि पनि ओलीले यसबारे चासो लिएका थिए ।
ओलीकै शैली पछ्याउँदै मन्त्रीहरुले पनि मन्त्रालयका सचिवहरुसँग कार्यसम्पादको फाइल साटासाट गरे । तर तिनमा के प्रतिबद्धता थिए, सार्वजनिक भएनन् । झट्ट हेर्दा ओली नेतृत्वको सरकारको काम अहिले त्यही कार्यसम्पादन सम्झौता भएको र उक्त सम्झौताअनुसार काम भए नभएको समाचार लेखाउँदैमा चलिरहेको छ । मन्त्रीहरुको कामचाहिँ होटल, रेस्टुराँको उद्घाटनमा पुगेर रिबन काट्ने, सम्मान थाप्ने र भाषण गर्ने ।
यता प्रशासन धान्ने कर्मचारीहरु विदेश जाने, बेलाबेला बैठक गर्ने, सरकार चाँडै ढल्छ भनेर विश्लेषण गर्दै बित्छ । न त प्रशासकले काम गरेको छ, न त मन्त्रीहरुले नै । त्यसपछि कतै सरकार ढलिहाल्छ कि भनेर अहिलेको सरकारको नेतृत्व त्रासमा देखिन्छ । हुन पनि ओली नेतृत्वको सरकार अहिले राष्ट्रिय स्वतन्त्र पार्टीसँग त्रसित छ । सहकारी ठगी आरोपमा रास्वपा सभापति रवि लामिछाने अहिले अनुसन्धानका लागि हिरासतमा छन् । अर्का आरोपी दुर्गा प्रसाईं पुर्पक्षाका लागि थुनामा छन् । यी दुई नेतासँग ओली त्रसित हुनुको कारण के हो त ?
प्रस्टै छ, जनतामा आशा जगाउने खालका केही काम ओली नेतृत्वको सरकारले गर्न सकेको छैन । अर्थतन्त्र ओरालो लागेको छ, यद्यपि सरकारले सुधार आएको दाबी गरेको छ । बैंकबाट पैसा जान छाडेपछि राष्ट्र बैंकले तानेको तान्यै छ । घरजग्गा व्यवसाय खुम्चँदा राजस्व घटेको छ । भान्सा महँगिदा उपझोक्ता मारमा परेका छन् । कामदारले समयमा ज्याला पाएका छैनन् । जसको वितृष्णा सरकारमाथि पोखिने डर प्रस्टै छ ।
जसकारण बेलाबेला प्रधानमन्त्री ओली ‘देश बंगलादेशजस्तै बन्न सक्छ, श्रीलंका हुनसक्छ’ भन्दैमा नहुने भन्दै आफैं मैमत्त अभिव्यक्ति दिइरहेका छन् । यो ओलीको आफ्नो कमजोरी ढाक्ने रणनीति भएको प्रस्ट बुझिन्छ । सरकारले डेलिभरी दिने हो, रक्षात्मक बन्ने होइन । संसद्मा दुईतिहाइ बहुमत भएको सरकारको यस्तै कार्यशैलीले जनतालाई निराश बनाउनेबाहेक केही आशा जगाउने देखिँदैन । त्यसैले भाषणबाजीमा होइन काममा ध्यान दिन जरुरी छ । ओली सरकारको ध्यान जाओस् ।