अहिले राजनीतिक दलका नेताहरू अत्यन्तै असन्तोषी बनिरहेका छन् । उनीहरूले आफू पार्टीको अध्यक्ष हुनैपर्ने मानसिकता बोक्दा अहिले राजनीतिक दलहरू जनताको मनमा बस्न सकेका छैनन् । नेताहरू सरकारमा जानेबित्तिकै अनियमितता गरेर जनताले तिरेको करलाई कमिसनका रूपमा लिएर आफू मात्र सम्पन्न बन्ने काम गरेर जनतालाई चिढाइरहेका बेला अहिले शीर्ष नेताहरू सबै अध्यक्ष वा पार्टी प्रमुख हुनै पर्ने लोभी भएका छन् । राजनीति भन्नेबित्तिकै देश र जनताको सेवा गर्ने हो तर अहिले भने नेताहरूमा यस्तो भावना हराएको छ । नेताहरूले जनताको सेवाभन्दा पनि आफू र आफन्तलाई कसरी स्थापित गर्न सकिन्छ भन्नेतिर मात्र ध्यान दिँदा राजनीतिको शोभा घटेको छ । यसबाट तिनै नेताहरूलाई नै घाटा परिरहेको छ । हिजो राणा, राजतन्त्र, अधिनायकवादविरुद्ध आन्दोलन गर्न जनताले नेताहरूलाई साथ दिएका थिए । यहि बलमा ती सबै व्यवस्थाहरूको अन्त्य भएको हो । तर, नेताहरूले शासन सत्ता हात पार्दा पनि उहि संस्कार रहेपछि अब केही गरी अर्को अधिनायकवाद जन्म्यो भने नेताहरूलाई जनताले साथ दिने छैनन् ।
अहिले हरेक दलमा बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने कुरा उठ्न थालेको छ । निर्वाचनमा गएर जनताको मन जितेर विजयी भएर आउनुपर्ने बेलामा नेताहरूमा पार्टीको सर्वोच्च तहमा बसेर शासन चलाउने भूत चढेको देखिन्छ । अहिले सत्तारुढ दलमा बहुअध्यक्षात्मक प्रणाली देखिएको छ । केही साना दलहरूमा पनि बहुअध्यत्मक प्रणाली चलिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा पनि पार्टीभित्र छरपष्ट रूपमा गुट मौलाएको भन्दै त्यसको अन्त्यका लागि पनि आगामी १४औँ महाधिवेशनमा नेतृत्व बहुअध्यक्षीय प्रणालीमा जानुपर्ने आवाज उठ्न थालेको छ । जनताले तिरेको करमा मस्त गर्नका लागि यस्तो प्रणालीको माग गरिएको देखिन्छ । अन्य दलहरूमा बहुअध्यक्षात्मक प्रणाली रहिरहँदा कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले पार्टीभित्रका गुटहरू अलिक बढी नै छताछुल्ल भएको भन्दै बहुअध्यत्मक प्रणाली अपनाउन पार्टीमा कुरा उठ्न थालेको छ ।
वास्तवमा नेपाली कांग्रेसमा बहुअध्यत्मक प्रणाली सुहाउँदैन । प्रजातन्त्रमा विश्वास गर्ने पार्टीले नै पार्टीलाई भद्रगोल बनाउन बहुअध्यत्मक प्रणाली अपनाउन खोजियो भने यसले पार्टीको गरिमा खस्काउँछ । कांग्रेसका नेताहरू पदमा होइन, जनतामा विश्वास गर्ने पार्टी प्रमाणित गर्न पनि बहुअध्यत्मक प्रणालीमा जानु हुँदैन । हो, पार्टीका अध्यक्षले मनपरीतन्त्र चलाउन थाले भने यसलाई अंकुश लगाउनका लागि पार्टीको नेतृत्वमा चार÷पाँच जनाको कोर–टिम बनाएर अघि बढ्न सकिन्छ । तर, त्यहि टिमले अध्यक्षलाई काम गर्न बाधक बन्नु भने हुँदैन । पदकै लागि मरिहत्ते गर्ने प्रणाली भने स्वीकार गर्नु हुँदैन । ठूलो पार्टीमा केही विवाद हुनु कुनै ठूलो कुरा होइन । तर, विवादलाई मत्थर पार्नका लागि पद नै बाँड्दै हिँड्ने हो भने ठूलो दलको हैसियत हराउन सक्छ । कुनै पनि राजनीतिक दलले जनतालाई रिझाउन सक्नुपर्छ । जनतालाई रिझाउनभन्दा पनि पद हत्याएर पार्टी कब्जा गर्ने र शासन गर्ने सोच नराखेसम्म राजनीतिक दल जनताको प्यारो हुँदैनन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६ ०६:३७