पछिल्ला दिनहरुमा मानिसहरुको जीवन आप्रवासनमा बित्न थालेको छ । रोजगारीको सिलसिलामा होस् या अध्ययन, मानिसहरु आप्रवासनमा भिज्न थालेका छन् । कुनै बेला आफ्नो थातथलो छाड्न डराउने मानिस गाउँ हुँदै सहर, सहर हुँदै विदेश यात्रामा निस्कन थालेका हुन् ।
नेपालमा यस्तो आप्रवास वैदेशिक रोजगारी र अध्ययनको क्रमसँगै बढ्दो छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेसिनेको भीड देख्न सकिन्छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन प्रमुख माध्यम नै यही वैदेशिक रोजगारी हो । अर्थतन्त्रको मेरुदण्ड नै यसलाई मानिन थालिएको अवस्था छ । आर्थिक वर्ष २०८०/८१ मा गत आर्थिक वर्षको तुलनामा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएरै सात लाख ४१ हजारभन्दा बढी (पुनः श्रम स्वीकृतिसहित) वैदेशिक रोजगारीमा गएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभर करिब २८ करोड बढी मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको संख्या १६ करोड बढी छन् । नेपालमा पनि विभिन्न कारण अन्य देशका आप्रवासी श्रमिक आइपुगेका छन् ।
यसै सन्दर्भमा बुधबार अर्थात् डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाएको हो ।
संयुक्त राष्ट्रसंघको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापीरूपमा यो दिवस मनाउँदै आइएको छ । दिवसको सन्दर्भ पारेर नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिँदै छ ।
वर्तमान समयमा आप्रवासन समाजको अभिन्न आयाम बन्न पुगेको छ । यसका विभिन्न कारणमध्ये गरिबी, युद्ध, आन्तरिक द्वन्द्व तथा असुरक्षा, जलवायु परिवर्तनको असर, काम तथा रोजगारीको खोजी, विश्वव्यापीकरण एवं सूचना तथा सञ्चार प्रविधिको तीव्र विकासलाई लिने गरिएको छ । मुख्यतः अबको आप्रवासन सुरक्षित हुनुपर्दछ । यसलाई संयुक्त राष्ट्रसंघदेखि सरकारदेखि सरकारसम्मले हरेक रुपमा स्वास्थ्य, शिक्षा र सुरक्षाका विषयमा आप्रवासी श्रमिकलाई सम्बोधन गर्नुपर्दछ ।