काठमाडौं - ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को चौँथो संस्करण आगामी वैशाखमा हुने भएको छ । सेलिब्रेटी नेपालले तीन वर्षदेखि आयोजना गर्दै आएको महोत्सवले पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने विश्वास लिइएको हो ।
महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले भन्नुभयो, “महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गर्दै आएका छौँ । यसले चलचित्र भवन नभएका गाउँका दर्शकलाई पनि चलचित्रसँग जोड्छ भन्ने हाम्रो विश्वास छ । विगतका शृङ्खलाले पनि स्थानीयलाई चलचित्रसँग सामिप्यता बनाउन सघाँएको पाएका छौँ ।”
उनले महोत्सवका लागि चलचित्र दर्ता आह्वान गरिएको बताउँदै वृतचित्र, छोटा चलचित्र, भाषाभाषीका चलचित्रलाई समावेश गरिने जानकारी दिए । ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै अन्तरक्रिया, कार्यशाला गोष्ठी आयोजना गरिने अध्यक्ष सापकोटाले बताए ।
गोरखाको लाप्राकबाट सुरु गरिएको महोत्सवको दोस्रो शृङ्खला काभ्रेपलाञ्चोकको भकुण्डेबेँसीमा र तेस्रो शृङ्खला रामेछापमा आयोजना गरिएको थियो ।