काठमाडौं– नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्य व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरुसँग अपिल गरेको छ । संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्य परीक्षण प्रभावकारी, पारदर्शी, गुणस्तरीय र सरल तथा सहजरूपमा उपलब्ध गराउन सम्पूर्ण व्यवसायी तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको हो ।
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण प्रणालीमा हुने सिण्डिकेटविरुद्ध संघले निरन्तर संघर्ष गर्दै आएको जनाएको छ । साथै, सिण्डिकेटको विरुद्धमा उभिएका वैदेशिक रोजगारसँग सम्बन्धित व्यवसायीहरू, नेपाल वैदेशिक राजगार व्यवसायी संघ, सञ्चारमाध्यम, सरकारी निकाय, मलेसियन सरकार तथा दूतावासलगायतलाई संघले धन्यवाद ज्ञापन गरेको छ ।
संघले मलेसियन सरकारबाट सिण्डिकेट खारेज गरेको सूचना सम्प्रेषण भइसकेको जानकारी नेपालस्थित मलेसियन दूतावासबाट प्राप्त भएको पनि विज्ञप्तिमा उल्लेख गरेको छ । ‘मंसिर २७ गते माननीय श्रममन्त्री शरदसिंह भण्डारीसँगको छलफलमासमेत सबै देशको स्वास्थ्य परीक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने तथा छुट्टै कानुन बनाई विशेष क्षेत्रको स्वास्थ्य परीक्षण गरिरहेका स्वास्थ्य संस्थाबाट जाँच नगराई कोरिया, इजरायल तथा अन्य देशको स्वास्थ्य परीक्षण अस्पतालबाट गरिरहेको कुरा तुरुन्त बन्द गरी श्रम मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाबाट मात्रै हुने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ विज्ञप्तिमा भनिएको छ । सबै प्रकारका सिण्डिकेट अन्त्यका एक जुट भएर लाग्नुको विकल्प नरहेकोसमेत संघले विज्ञप्तिमा उल्लेख गरेको छ ।