कपिलवस्तु – कपिलवस्तुका एक युवालाई कक्षा ७ मा अध्ययनरत १४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत कपिलवस्तुले १२ वर्ष कैदको फैसला सुनाएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–९ इमिलियाका १८ वर्षीय योगेश श्रेष्ठलाई १२ वर्ष कैद र रु एक लाख क्षतिपूर्तिको फैसला भएको छ । जबर्जस्ती करणीे मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश लोकजङ्ग शाहको इजलासले बुधबार सो फैसला गरी सजाय तोकेको हो । ती बालिकालाई बलात्कार गर्ने अन्य चार बालकलाई भने आठ वर्ष बालसुधार गृहमा राख्ने फैसला भएको जनाइएको छ । विसं २०७५ माघ र फागुनमा छुट्टाछुट्टै सयममा ती बालिकालाई छ जनाले ललाइफकाई जबर्जस्ती करणी गरेका थिए जसबारे ती त्रसित बालिकाले घरमा कसैलाई जानकारी दिएकी थिइनन् । घटना भएको केहि समयपछि बालिकाले तीन महिना चार दिनको गर्भ बोकेको कुरा स्वास्थ्य जाँचमा थाहा भयो । २०७६ वैशाख ११ गते ती बालिकाकी आमाले आफ्नी छोरीलाई छ जनाले बलात्कार गरेको किटानी जाहेरी दिएकी थिइन् जसका आधारमा घटनाका मुख्य आरोपी श्रेष्ठ पक्राउ परेका थिए । बालिकालाई नगरपालिका–२ गोरुसिङ्गेस्थित रोयल खुस्बु होटलमा लगी बलात्कार गरिएको थियो । होटलका मालिक नगरपालिका–९ इमिलियाका युवराज भुसाल जैसी पनि बलात्कारमा संलग्न थिए । प्रहरीले किटानी जाहेरी परेदेखि उनी फरार रहेको बताएको छ । उनको मुद्दा मुल्तबी राखिएको जनाइएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ३६(४) अनुसार आरोपी बालक भए कैदको दुई तिहाइ मात्र सजाय भोग्नुपर्ने प्रावधान छ । प्रहरीका अनुसार ती बालिका भने सकुशल छिन् ।