काठमाडौं - साउदी अरेबियामा गैरकानुनीरुपमा रहेका थप १०७ जना नेपालीले बहिर्गमन भिसा (एक्जिट भिसा) पाएका छन् । कानुनी हैसियत गुमाएका विदेशी कामदारलाई आफ्नो मुलुक फर्कन साउदी सरकारले दिएको सुविधाअन्तर्गत नेपाली दूतावासमार्फत एक्जिट भिसा दिइएको हो ।
रियादस्थित नेपाली दूतावासबाट बहिर्गमन भिसाको प्रक्रिया गरिएकामध्ये पछिल्लोपटक थप १०७ जनाले नेपाल फर्कने अवसर पाएका हुन् । यसअघि पनि धेरैले यो भिसाको सदुपयोग गरी नेपाल फर्किसकेका छन् । दूतावासले बहिर्गमन भिसा प्राप्त भएकाहरुलाई यथाशीघ्र नेपाल फर्कन आग्रह गरेको छ ।
एक्जिट भिसाका लागि नेपाली दूतावास रियादबाट फाराम भरेका व्यक्तिहरूले अब आफ्नो एक्जिट भिसाको अवस्थाको बारेमा अनलाइनमार्फत आफ्नो इकामा नम्बर÷राहदानी नम्बर प्रविष्ट गरी जानकारी लिन सक्नेसमेत दूतावासले जनाएको छ । ‘यदि तपाईंको मोबाइलमा एक्जिट भिसा लागेको म्यासेज आएको छैन भने दमाममा क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरेर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘एक्जिट भिसा लागेको म्यासेज मोबाइलमा आइसकेको छ भने एयरपोर्टमा त्यही म्यासेज देखाउँदा हुन्छ, एक्जिट पेपर लिनका लागि दूतावासमा आइरहनु पर्दैन ।’
एक्जिट भिसा प्रोसेसिङ निःशुल्क हुने र यसबापत एक हलाला पनि कंहीँ कतै बुझाउनु नपर्ने दूतावासले प्रस्ट पारेको छ । तर, एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्ने जनाइएको छ । एक्जिट भिसामा भएको राहदानी÷ट्राभल डकुमेन्ट नम्बर र आफूसँग भएको राहदानी÷ट्राभल डकुमेन्ट नम्बर एउटै छ÷छैन हरेर यकीन गरेरमात्र हवाई टिकट खरिद गर्न पनि दूतावासले आग्रह गरेको छ ।