बिग्रँदो अर्थतन्त्रलाई चलायमान बनाउने एउटा माध्यम खेल पनि हो । विश्वका धनी मुलुकहरु महŒवपूर्ण खेलहरु आयोजना गरेर खेल पर्यटनलाई बढावा दिन लागि पर्छन् । साउदी अरब २०३४ मा विश्वकप फुटबल आयोजना गर्न धुमधामका साथ १५ वटा अत्याधुनिक रंगशाला बनाउन लागिपरेको छ । यसरी खेल पर्यटक भित्र्याउन विकसित देशहरुसमेत मरिहत्ते गर्छन् ।
नेपालको सन्दर्भमा पहिलो त पूर्वाधार नै छैन । मुस्किलले दशरथ रंगशालामा कुनै खेल भएमा नेपाली दर्शक ओइरिन्छन् । यसपटक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट भयो । पहिलोपटक आयोजना गरिएको फ्रेञ्चाइज प्रतियोगितामा आठ समूह सहभागी थिए । तीन हप्ता चल्दा प्रतियोगितामा नेपाली दर्शकको भरपुर साथ रह्यो । चाखलाख्दा खेलहरुमा केहीबेरमै टिकट ‘सोल्डआउट’ हुन्थ्यो । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार यो खेलमा चार करोड रुपैयाँ टिकट बिक्रीबाट नै आम्दानी भयो ।
क्षमता अभावका कारण कतिले रुखमै चढेर खेल हेरे भने कतिले सुरक्षा चुनौतीलाई ख्याल गर्दै घरबाटै टेलिभिजनमार्फत हेरे । यसले पनि पुष्टि हुन्छ खेल पर्यटनले देशको आर्थिक पाटोमा पुग्ने योगदान । यसका लागि पक्कै पनि सरकारले पूर्वाधार विकासमा ध्यान दिनैपर्छ । आइतबारमात्र खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद मन्त्रालयलाई नगरपालिकालाई जति पनि बजेट नदिने दुखेसो पोखेका छन् । पूर्वाधार हेर्ने हो भने मन्त्रीको भनाइ पुष्टि हुन्छ । तर मन्त्रीले यो निरीहता देखाउने हैन ।
जहाँ सम्भावना छ, त्यहाँ लगानी गर्नुपर्छ । खेल पर्यटन देशको अर्थतन्त्र चलायमान बनाउने एउटा अभिन्न अंग बनाउन नीतिगत सुधार पनि गर्नैपर्छ । यसपटक क्यानले राम्रो प्रयास गरेको छ । यसपटकको खेल अबका दिनमा निरन्तर जारी राख्नुपर्छ । खेल जारी राख्दा एक त खेलाडीले आफ्नो सीप तिखार्ने अवसर पाउँछन् भने अर्कोतर्फ उनीहरु विदेसिनबाट पनि रोक्छ । खेल भइरहँदा नयाँ प्रतिभाका लागि पनि यस क्षेत्रमा लाग्ने प्रोत्साहन मिल्छ । खेलाडीहरुलाई व्यावसायिक बनाउँदै खेलक्षेत्रमै टिकाउन सहयोग पुग्छ ।
बलियो पूर्वाधार नहुँदा दर्शक रुखमै चढ्ने, पार्किङमा समस्या देखिनुका साथै समर्थकबीच कुटपिटका घटनासमेत भएका छन् । खेलहरुमा छिटफुट घटना हुनु सामान्य मानिएला, तर सिटको अभावमा रुखमा चढ्नुपर्ने बाध्यता हट्नुपर्छ । यसैगरी जातिवादी, क्षेत्रीयतावाद, नश्लीयवादका रुपमा खेलाडीलाई गालीगलौचमा उत्रने ‘ट्रेन्ड’लाई सभ्य भएर रोक्नुपर्छ । यस्ता विषय सुधार गर्दै लैजाने विषय हुन् । यसका लागि राज्य पनि दत्तचित्त भएर अगाडि बढ्नुपर्छ । यसो भएमा नेपाली क्रिकेट अझै अब्बल बन्दै जाने छ । एनपिएलले जगाएको उत्साहले निरन्तरता पाओस् ।