दक्षिण मोहडा फर्काएर बनाएको घर भएर होला पुसको चिसोमा पनि पारिलो घाम लागिरहेको छ । पश्चिमपट्टिको पारिजातको बोटमा बोलाइरहेको जस्तो भान हुन्छ । पिँढीको पूर्वतर्फ फलैंचामा पल्टिरहेकी छिन् ठूला घरे राम काकाकी अर्धांगिनी ।कोल्टे फेर्न पनि निकै कठिन छ । राम काका उता गोठमा गाई करायो भनेर लामपाटोको डिलमा रहेको तिमिलाको पात टिपेर गाईलाई खुवाउँदै छन् । यता अर्धांगिनी सुनिता अऽइऽया अऽइऽया गरिरहेकी छन् । आँखाभरि आँसु टिलपिल टिलपिल छ । उठ्न नसकेपछि हातको कुमले टाउको यसो उठाएर राम काकालाई हेर्छिन् । कपाल सेतै फुलेका रामका झुस्स परेको दाह्री कन्हाउँदै गाईलाई स्याहार गर्दै छन् ।
बूढाको काम देखेर सुनिता कार्की सुँक्क–सुँक्क गर्दै छिन् । ‘कठैबरा, उठ्नसक्ने भए पनि त म आफैं गर्थे नि ।’ एकछिन् भक्कान्निछिन् । उनको आँखाबाट बलिन्द्र धारा आँसु उनै भगवान्लेबाहेक कसैले देखेको छैन । फाटेको कमिज सुरुवाल लगाएका राम काका नांगो खुट्टा बारीको कान्लाबाट आँगनमा उक्लिन्छन् । आँगनको डिलबाट फलैंचामा पल्टिरहेकी प्राणप्यारी अर्धांगिनी सुनितालाई हेर्छन् ।
आँखा चिम्म गरेर मनमा अनगिन्ती कुरा खेलाइरहेकी छिन् सुनिता । ‘बाह्र छोरा तेह्र नाति, बूढा धोक्रो काँधै माथि’ । चार–चार जना छोराछोरी भएर पनि कोही नभएको टुहुरो बन्न परेको छ । सुनिताको आँखा चिम्म गरेकाले राम काका अलि डराउँछन्, दौडेर आउँछन् । पूर्वतर्फ सिरानी राखेकी सुतिरहेकी सुनिताको नाडी छाम्छन्, धिमधिम चलिरहेको छ । उनी आँखा उर्घाछिन् । ‘ओइ के भो तँलाई ?’ निकै भावुक भएर अर्धांगिनीलाई सोध्छन् । आँसु लुकाउन खोज्छिन्, ‘केही भएको छैन, गाईले घाँस पाए’ । तपाईंले के खानु भो ?’ सुनिताले उल्टै प्रश्न गर्छिन् ।
अँऽ । ‘त्यही लामपाटोको डिलबाट तिमिलोको पात ल्याएर गाईलाई हाल्दिएँ । तँलाई भोक लाग्यो होला ?’ राम काका सुनितालाई सोध्छन् । स्वर अलि निकाल्न खोजेजस्तै गरी सुनिता भन्छिन्, ‘छैन छैन मलाई भोक छैन, बरु तपाईंले बिहानदेखि केही खानु भाको छैन, केही खानुस् ।’‘म त सकिहाल्छु नि, भोक लागेपछि बनाएर खान्छु । बरू भन्न तँलाई के खान मन लागेको छ ?’ काका सिरानी मिलाउन खोज्छन् । ‘ल हेर सिरानी पुरै भिजे छ । जति भने पनि नलाग्ने है तँलाई । म यताउता लाग्यो कि आँसु झारिहाल्नुपर्ने ? अब हामीले मात्र सम्झेर हुन्छ ? ऊ बेला खाइनखाई दुःख गरेर पढायो लेखायो सक्षम बनायो अब अहिले हामीलाई नै वास्ता गर्दैन त के गर्ने, हाम्रो भाग्य नै खोटो भएपछि !’
बूढाको कुरा सुनेर सुनिता अझै दुःख मनाउ गर्छिन्, ‘खै अब त मेरो कति दिन होला र छोराछोरी किन यस्तो गरेका होलान् ? अब त तपाईं पनि एक्लै पर्नुहुन्छ । ‘सुनिता घ्वाँऽ घ्वाँ घुर्छिन् । आफ्नी बिरामी अर्धांगिनीको रुवाईले राम काकाको मन के थामिन्थ्यो र ? जति नै कष्ट सहेर पनि छोरा मान्छेले आँसु भित्रै दबाएर राख्नुपर्छ आँसु देखाउन हुँदैन भन्ने संस्कारबाट हुर्के पनि राम काकाले आँसु थाम्न सकेनन् । उनका पनि आँखाबाट आँसुका भेल बग्न थाले । ‘नरो न के, तँलाई केही हुँदैन ।’ सुनिताको आँसु पुछिदिन्छन् । जगडोलको डाँडापारि घाम डुब्दै गरेजस्तो गरी चिसो हावा आउँछ ।
सुनिताको कुराले राम काकालाई असह्य पीडा हुन्छ । गाउँ रित्तिँदै गइरहेका बेला आफ्नो अर्धांगिनीको वचनमा उनी डुब्छन् । साँच्चै केही पो भइहाल्ने हो कि ? कतै म एक्लो पो हुने हो कि ? काका सम्हालिन खोज्छन्, तर मन कहाँ सम्हालिन्छ र । काकाको आँसुले भेल रोकिँदैन । बूढा रोएको देखेर सुनिता उठ्न खोज्छिन् तर सक्दिनन् । ‘बूढा जेसुकै होस् रिसाए पनि रिसाउन्, मैले १० महिना कोखमा राखेर जन्माएकी हुँ । अब अन्तिम एकपटक चारैजनालाई फोन गर्दिनू न ।’ मलिन स्वरमा सुनिता राम काकालाई भन्छिन् ।
राम काका फोन गर्न चाहिरहेका छैनन् । सायद राम काकाले पटक–पटक फोन गरेर छोराछोरीबाट हारिसकेका छन् । एउटा हातले आफ्नो आँसु पुछ्दै अर्को हातले सुनिताको आँसु पुछिदिन्छन् । कमिजको खल्तीबाट फोन निकाल्छन् यो चाहिँ अन्तिमपटक हो नि मैले गर्ने फोन ? श्रीमतीलाई घुर्काएजस्तो पनि गर्छन् । राम काकाले जापानमा रहेकी जेठी छोरीलाई भिडियो कल गर्छन् । छोरीले फोन उठाउँछिन् । राम काका खुसी हुन्छन् छोरीले बोल्ने भई । तर छोरीले कर्कसो स्वरमा भन्छिन्, ‘कत्तिपटक भनिसकें जुनबेला पायो त्यही बेला फोन नगर्नू भनेर, म काममा छु भरे राति कल गर्छु’ फोन काटिदिन्छे ।
काकाको अनुहारमा भएको चमक फुस्रो हुन्छ । अस्ट्रेलियामा भएको जेठो छोरालाई गर्छन् । छोराले फोन उठाउँछ र भन्छ, ‘अँ भन्नुस् त !’राम काका भन्छन्, ‘हेर न, तेरी आमा अन्तिम अवस्थामा जस्तै भएकी छे, एकपटक आमाका लागि भए पनि घर आउँथिस् कि भनेर फोन गरेको हुँ ।’ उताबाट छोरो भन्छ, ‘तपाईं पनि कस्तो केटाकेटीको जस्तो कुरा गर्नुहुन्छ ? अस्ट्रेलियाबाट भन्नेबित्तिकै घर आउन पाइन्छ र भन्या ? मलाई फुर्सद छैन, बुहारीको पनि बिदा मिल्दैन । उता क्यानडा फोन गर्नु रवि भाइलाई’ । मैले के कति पैसा पठाउनुपर्ने हो पठाइदिउँला ।’ उसले पनि फोन राखिदिन्छ ।
राम काका क्यानडामा भएको कान्छा छोरालाई भिडियो गर्छन् । कान्छो छोरो रविले फोन उठाउँछ । ‘के छ बाबु तेरो त्यताको खबर ?,’ राम काका सोध्छन् । ठीकै छ यता त अनि त्यता के छ ? आमाको अवस्था ? छोरोले सोध्छ । ‘हेर्न बाबु, आमाले अन्तिमपटक फोन गर्नु भनेर गरें । रोगले च्याप्दै लिएर गएको छ । उता दिदीहरुले पनि फोन काटिदिए काममा बिजी भन्दै । तेरो दाजुले पनि फुर्सद छैन, बुहारीको बिदा मिल्दैन भन्दै आउने कुरा नै गरेन । घरमा म एक्लो बूढो । तँ कान्छो आमाको प्यारोजस्तै होस् क्यार । अब एकपटक आमाको मुख हेर्न आउँथिस् कि भनेर फोन गर्ने आँट गरें’ राम काकाले विनम्रपूर्वक भने ।
सुनिता बाबुछोराछोरीको कुरा सुनिरहेकी छन् । विचरा बोल्न सक्ने अवस्था मै छैनन् । जिन्दगीको अन्तिमजस्तै भान गरेकी छन् । उता कान्छो छोरा एकछिन केही नबोली जवाफ दिन्छ । ‘बा आमाको मुख हेर्न आउन त मन थियो नि, के गर्नु परदेशको ठाउँ के मिल्दैन । म आएर मात्र पनि आमालाई निको हुने होइन । बरु कति पैसा चाहिने हो भन्नुहोला म पठाइदिन्छु । आमाको सास रहुञ्जेल बस्नुहोला । अनि अन्तिम संस्कार गरेर एक्लै नबस्नुहोला, घरघडेरी सबै बेचेर आउनुस् यतै ।’
छोराको कुरा सुनेर राम काका छाँगाबाट खसेजस्तै हुन्छ । बूढाको फोन हातबाट खस्छ । बूढीको टाउको उठाएर आफ्नो छातीमा टाँस्छन् अनि भक्कानो छाडेर रुन्छन् । ‘बाउआमाको मन छोराछोरीमाथि छोराछोरीको ढुंगामुढा माथि’ भन्थे सायद यही नै होला ।