परराष्ट्रमन्त्री आरजु राणा देउवाको अधिकांश समय विदेशमै बित्छ । परराष्ट्र सम्बन्ध सुधारका लागि विदेश तीर्थ जानुलाई स्वाभाविक मान्दै उनको प्रशंसासमेत हुन्छ । तर कांग्रेस–एमाले गठबन्धन सरकारको छिमेक सम्बन्ध भने अझै सुध्रिने छाँट देखिएन । यही सम्बन्ध सुधारका लागि आरजु गत बिहीबार जर्मनीबाट दक्षिणको छिमेकी मुलुक भारतको नयाँदिल्ली पुगेकी थिइन् । दिल्लीमा उनी पुग्नुको मुख्य उद्देश्य थियो– भारतलाई मनाउनु । तीन–तीन पटक निम्तो दिँदा पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेवास्ता गरेपछि ‘अझै काम बनिहाल्छ कि !’ शैलीमा आरजु भारत पुगेकी थिइन् ।
तर यसपटक त आरजुलाई कसैले पत्याइदिएन । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७–२० गतेको भ्रमणमा पनि आरजुलाई चीनले कुनै प्राथमिकता दिएको थिएन । त्यसपछि आरजु आफैं प्रधानमन्त्रीको भ्रमण तयारीका लागि भन्दै चीन पुगेकी थिइन् । जबकि, चीन भ्रमणको औपचारिक निम्तो आउने आशमा आरजुले त्यतिबेला जापान भ्रमणसमेत रद्द गराएकी थिइन् ।
अंग्रेजी वक्ताका रुपमा केही कांग्रेसीले आरजुको प्रशंसा गर्छन् । तर प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारकै रुपमासमेत काम गर्दै छिमेकसँग राम्रो सम्बन्ध बनाउनुपर्नेमा झन् बिग्रँदो स्थिति देखिएको छ । चीन भ्रमणका क्रममा बिआरआई फ्रेमवर्क पास गराएसँगै ओली नेतृत्वसँग भारत रुष्ट देखिएको प्रस्ट छ । यो असन्तुष्टिबारे बुझ्न एमालेले आरजुसँगै प्रदीप ज्ञवालीलाई पनि पठाएको खुलेको छ । तर दुवै नेताको यसपटकको भ्रमण खल्लो देखियो ।
ओली आफैं पनि भारतले नबोलाउँदा ‘साइकोलोजिकल टेरर’ अर्थात् मानसिक भयमा छन् । मलाई भारतले बोलाएन, बोलाए हुन्थ्यो । एकपटक त बोलाए हुन्थ्यो नि, त्यसपछि त मलाई कसैले प्रश्नै सोध्दैन थिए । अनि मेरो कार्यकाल सफल हुन्थ्यो भन्ने किसिमको प्रश्नले ओलीलाई जहिल्यै घोचिरहन्छ । कारण यसअघि जोसुकै प्रधानमन्त्री भए पनि पहिलो पाहुना बनाउने काम भारतले नै गथ्र्यो । यसपटक भारतले बेवास्ता गरेपछि ओली बल लगाएरै चीन पुगे ।
ओली नेतृत्वको सरकारलाई न त भारतले रुचाएको देखिन्छ न त चीनले । भन्ने एकथोक, गर्ने अर्कोथोक, झुक्याउने यो रोग नेपाली नेतामा प्रथा जसरी विकास भएको छ । प्रस्टता झल्काउन नसक्दा नेपाली नेतृत्वमा चीन र भारतले प्रश्न उठाएको हो । जसले दिनानुदिन परराष्ट्र सम्बन्ध बिग्रँदो छ । आरजुले आफ्नो पोर्टफोलियो प्रयोग गर्दा पनि यो सम्बन्ध सुधार्न सकिनन् ।