चितवन- उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले सहकारी प्रकरणको अनुसन्धान कानुनीरुपमा स्वतन्त्र रुपमा अघि बढेको बताए ।
“कानुन सबैका लागि समान हो । कानुनअनुरुप हुनुपर्ने हुन्छ”, उनले भने । उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि संसद्मा रहेका सबै दलसँग परामर्श भइरहेको बताए । उनले भने “संविधान संशोधन गर्न निश्चित विधि र प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । एउटा पार्टीले गरेर मात्र हुँदैन । यो काम संसद्मा रहेका सबै दलसँगको परामर्शमा दुई तिहाइ बहुमतबाट गर्नुपर्ने हुन्छ ।”
अहिलेको सरकारले अघिल्ला सरकारहरुले गरेका कामलाई विशेष ध्यान दिँदै व्यवस्थित गरेर अघि बढेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनेमा जोड दिँदै उहाँले कांग्रेस र एमालेबीचको समझदारीअनुसार सरकार अघि बढेको बताए ।
फरक प्रसङ्गमा उपप्रधानमन्त्री सिंहले मेला महोत्सवबाट देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले भने, “निजी क्षेत्रले गरेका यस्ता कार्यक्रमलाई सरकारले सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।”