काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले राहदानी नवीकरण तथा श्रमिक सचेनाका लागि घुम्ती शिविर अभियान सञ्चालन गरिरहेको छ । रियादबाट टाढा रहेका सेवाग्राहीलाई पायक पर्ने स्थानबाटै राहदानी नवीकरणलगायतको सेवा प्रवाह गर्न शिविर सञ्चालन गरिएको दूतावासको भनाइ छ ।
यही क्रममा दमाम सहरमा शुक्रबार र शनिबार (२७ र २८ डिसेम्बर) दुई दिन राहदानी नवीकरण, श्रमिक सचेतना र बहिर्गमन भिसा फाराम भर्नेसम्बन्धी घुम्ती शिविर सम्पन्न गरेको दूतावासले जानकारी दिएको छ । यो कार्यक्रमलाई निरन्तरता दिँदै आगामी १० जनवरी २०२५ का दिन हायल सहरमा राहदानी नवीकरण तथा श्रमिक सचेतनाका लागि घुम्ती शिविर सञ्चालन हुनेसमेत दूतावासले सूचनामार्फत जानकारी दिएको छ ।
यसैगरी जुबेल सहरमा जनवरी २४ र २५ का दिन शिविर सञ्चालन हुने जनाइएको छ । जुबेलस्थित कुकजोन रेस्टुरेण्टमा हुने शिविरअन्तर्गत जनवरी २४ मा बिहान ७ देखि ५ बजेसम्म र भोलिपल्ट २५ जनवरीमा बिहान ७ देखि ३ बजेसम्म शिविर सञ्चालन हुने दूतावासको सूचनामा उल्लेख छ । २४ जनवरीका लागि ५५० जना र २५ जनावरीका लागि ४५० जनाको प्रि–इनरोलमेन्ट लिइनेसमेत दूतावासले सूचित गराएको छ ।
दूतावासले अनलाइनबाट प्रिइनरोलमेन्ट भएको बारकोडयुक्त फाराम लिएर शिविरमा सहभागी हुनसकिने जानकारी दिएको छ । अनलाइनबाट फाराम भरेकालाई मात्रै प्रवेश दिइने पनि प्रस्ट पारिएको छ । दूतावासले अनलाइन फाराम सकेसम्म आफैं भर्न वा आफन्त तथा साथीको सहयोग लिएर भर्न भनेको छ । आफैंले सम्भव नभए विभिन्न संघसंस्था एवं व्यक्तिको सहयोग लिन भनिएको छ ।
उल्लेखित मितिमा घुम्ती शिविरमा राहदानी नवीकरण गर्न जुन मितिका लागि प्रिइन्रोलमेन्ट गरेको हो सोही मितिमा उपस्थित हुन भनेको छ । कानुनअनुसार एक वर्षभन्दा कम अवधि भएका राहादानी मात्रै नवीकरण गर्न सकिने छ । राहदानी दस्तुर साउदी रियाल २०० र हराएको वा कुनै कारणले बिग्रिएको वा च्यातिएको भए ३०० रियाल तोकिएको छ ।