दुबईको सार्वजनिक पार्कमा दुई दर्जनभन्दा बढी युवाहरु मलिन अनुहारमा बसिरहेका छन् । अधिकांश युवाहरु मोबाइलमा कसैसँग हारगुहार मागिरहेका छन् । सबैको उस्तै–उस्तै गुनासो छ । पैसा पनि गयो, जिन्दगी पनि जाला जस्तो छ । ‘यताबाट गरेको फोन गरेको ‘रेस्पोन्स’ नै गरिरहेको छैन । जे कामका लागि ल्याएको थियो त्यो काम पनि होइन रहेछ । १२ घण्टाभन्दा बढी काम गर्दा पनि पैसा नदिएपछि अहिले हामी टन्नै साथीहरु कम्पनी छाडेर पार्कमा आएर बसिरहेका छौं । तीनदिनदेखि भोकै छौं, लौ न त्यहाँ कसैलाई भनेर हाम्रो उद्धार गरिदिनुप¥यो ।’ आफ्नो गुनासो फोनबाट नेपालमा आफन्तलाई गर्दै थिए राजेन्द्र ।
राजेन्द्रसँगै रहेको प्रकाश पनि उनका भिनाजु पर्नेलाई कुवेततिर भिडियो कल गर्दै थिए । श्याम पनि आफूलाई पठाउने दलालले धोका दिएको गुनासो खै कोसँग गर्दै थिए । रोजगारीका लागि विभिन्न किसिमले दुबई पुगेर अलपत्र परेका नेपाली युवाहरुको रोदन त्यो बिरानो देशमा कसले पो सुन्दिने हो र ?देशमा रोजगारी नपाएर परदेश भासिन बाध्य भएका युवाहरुलाई आफ्नै देशबाट ठगिनुपरेको छ । रोजगारी पाइन्छ, राम्रो कमाई हुन्छ भन्दै घरपरिवार छाडेर ऋण काढेर परदेशी बनेकाहरुको पीडा कसले सुन्ने हो र ?
श्यामको भिडियो कलमा कुरा गर्नेले भन्दै थिए । ‘खै तिमीहरु अब जसरी भए पनि फर्क, बरु म तिमीहरुलाई कतै न कतै पठाइदिउँला’ । लाग्थ्यो विदेशमा उसकै कम्पनी छ अनि तुरुन्तै जागिर लगाइदिन्छ ।विदेशमा अलपत्र परिरहँदा लाखौं रुपैयाँ त डुबिसकेको छ । त्यही ऋणको भारी बिसाउनका लागि मान्छे बेच्ने दलालहरुले फिँजाएको भ्रमको जालोमा नजानिँदो किसिमले मध्यम वर्गीय युवा पुस्ता भासिएका छन् ।राजेन्द्र उसको भिनाजु पर्नेको कुरा सुनेर अब त त्यो जालोबाट मुक्त पाइन्छ कि भान गर्दै अलिअलि फुरुंग थियो । सायद उसले अर्को देशको आश्वासन पाएको थियो ।
निचारेको कागतीको जस्तै अनुहारमा कुरा गरिरहेको राजेन्द्रको अनुहारमा एकाएक खुसी छाएको देखेर श्याम पनि दंग भयो । उसले राजेन्द्रलाई सोध्यो, ‘के भो हामीले नयाँ काम पाउने भयौ हो ?’श्यामको उत्साह देखेर राजेन्द्रले भन्यो, ‘खै यहाँ त होइन अन्तै भनेका छन् मलाई हाम्रो भिनाजुले ।’ श्यामले अझै उत्साहित हुँदै सोध्यो, ‘साँच्चै तँ जहाँ जान्छस्, मलाई भनी भन है जसरी पनि यार, मेरो बिजोग हुन्छ तँलाई थाहा छ नि मैले कसरी ऋण गरेको छु भनेर’ अलि भावुक हुन्छ ।
‘अँ तँ मात्र हो नि मेरोचाहिँ हालत बुझेको छैनस् र ? हामी सबैको उही हालत हो उन्नाइस र बीस मात्र हो । तर, हेर हामी केही कमाउन आएका हौं । जसरी भए पनि जहाँ गएर पनि कमाउनुपर्छ । भिनाजुले केही गर्लान् भन्ने आशा छ ।’ अलि आत्मवल बलियो बनाएर राजेन्द्र ढाडस् दिन्छ ।
‘तेरो आफ्नै भिनाजु हो नि ?,’ श्यामले सोध्छ ।‘खै आफ्नै भन्ने कि अर्काको, ठूलो बाको ज्वाइँ भाइ हुन् ।’‘एऽ, उनी विदेशमै बसेका रैछन्, दुःख बुझ्लान् नि ?’ कुरा गरिराख है । ‘कसरी नेपाल फर्कनु त्यत्रो ऋण छ ?’ श्याम निराश हुँदै भन्छ । त्यही त । ‘साला, नेपाली भएर नेपालीलाई ढाँटेर विदेशमा ल्याएर अलपत्र पार्छन् । हाम्रो आँसुले त तिनीहरुलाई पोल्छ एक दिन ।’ राजेन्द्र अलि आक्रोश व्यक्त गर्छ ।
‘उनीहरुलाई हाम्रो आँसु लाग्ने कहिले हो, हाम्रो आँसु अहिले झरिरहेको छ । न घरको न घाटको जस्तो भइएको छ परदेशमा’ श्याम निकै गलेको स्वरमा भन्छ ।त्यत्ति नै बेला प्रकाशले श्यामलाई बोलाउँछ, ‘ए श्याम राजेन्द्र, सुन त ?’ दुवैले एकैस्वरमा भन्छन्, ‘के भो’‘अब हामी यहाँ बसिरहनु ठीक छैन जस्तो छ । हामी भाग्यौं भनेर कम्पनीले पुलिसलाई भनिदिएको छ रे कतै सुरक्षित ठाउँ जाउँ यार,’ प्रकाशले उत्तर फर्काउँछ ।
निकै कम बोल्न दिवाकर प्वाक्क बोल्छ, ‘भागेर कहाँ जान्छौ साथीहरु, हामी त नराम्रोसँग खाल्डोमा परिसक्यौ’ हामीले केही गल्ती गरेकै छैन भने हामी किन डराउने ? बरु नेपाली दूतावास जाउँ । त्यही गएर म्यानपावरले गरेको बदमासी, कम्पनीले दिएको दुःख उजुरी गरौं । कम्तीमा सग्लो ज्यान लिएर आफ्नै देश फर्कन त पाइन्छ ?’
दिवाकारको कुरा सुनेर श्यामलाई रिस उठ्छ कि क्याहो झर्किएर भन्छ, ‘जाऽजा तैँ मात्र जा दूतावास । नेपाली दूतावासले त्यत्ति सजिलै तँलाई घर पठाइदेला नि । गेटभित्र पनि सजिलै छिर्न पाउन्नस् । कत्ति न सजिलो सहयोग गर्छ भन्ठानेको होला ?’‘नरिसा न नरिसा, यत्रो दिन भइसक्यो हामी यसरी अलपत्र परेका छौं । घरपरिवारलाई केही भन्न सकेका छैनौं बरु दुतावासमा गएर कुरा ग¥यौं भने केही त राहत होला ।’ कस्तो कुरा नबुझेको हो ?
‘म त कुनै हालतमा दूतावास जाँदिन, अब यो अवस्थामा रित्तो नेपाल फर्कनु ? के हो राजेन्द्र तँ के गर्ने अरुलाई सोध है श्याम सहमत जनाउँछन् ।‘तिमीहरु जाउनजाउ अर्को कुरा हो । म त दूतावास जान्छु, सबै कुरा भन्छु । हाम्रो पैसा खाएर, हामीलाई यसरी अलपत्र पार्ने त्यो एजेण्ट र म्यानपावरलाई म चाहि त्यसै छाडदिनँ,’ दिवाकर निकै साहसीरुपमा भन्छ । ‘खै के हो के हो, ए राजेन्द्र भने है यो दिवाकरलाई । यसले गर्दा हामीलाई समेत अप्ठेरो पार्लाजस्तो छ,’ श्याम अलि शंकास्पद रुपले भन्छ ।
श्यामको कुरा सुनेर दिवाकर मुस्कुराउँदै भन्छ, ‘साथी, यत्रो दिन भो हामीलाई कठै भन्ने मान्छे छैन । हामीले गलत काम गरेर भागेको हो र ? पैसा तिरर काम गर्न आएका हौं, ऋण तिरेर कमाउन आएका हौं । यसरी चुप बस्यो भने त पैसासँग सँगै ज्यान पनि जान सक्छ बुझिस् । त्यही भएर तिमीहरु के गर्छाैं कुन्नि म चाहिँ दूतावास जान्छु, बरु नेपाल नै फर्कन परे पनि परोस् । यसै डुबियो, त्यसै डुबियो । डुबाउनेलाई पटक्कै छाड्ने छैन । बरु आफ्नै माटोमा गएर भोकै मर्छु ।’ ल साथीहरु म चाहिँ लागे दूतावासतिर न्याय खोज्नका लागि दिवाकर जान्छ ।
अरु साथीहरु परदेशी पार्कको डिलबाट दिवाकर गएतिर टुलुटुलु हेरिहन्छन ! को कता अलमलिने हुन् थाहा छैन ।