काठमाडौं- वर्ष २०२४ लाई विभिन्न कारणले सम्झना गरिनेछ । यो वर्षले धेरै राम्रा कामको सुरुआत गरेको छ ।
कतिपय घटनाले सुखद कार्यलाई सम्झनामा सीमित गर्दै तिनलाई केवल निर्मम इतिहासमा बदलिदिएको छ । यस्ता घटना जसले सन् २०२४ मा संसार छोडेका केही महत्त्वपूर्ण व्यक्तित्वको नाम यहाँ प्रस्तुत गरिएको छ ।
जिमी कार्टर
अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा सन् २०२४ डिसेम्बर ३० मा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए । सबैभन्दा लामो समयसम्म बाँचेका अमेरिकी राष्ट्रपतिको जर्जियाको सानो शहर प्लेन्समा ‘होस्पिस केयर’मा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भएको हो ।
प्लेन्समा उनी र उनकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताए । रोजालिनको भने सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो । कार्टर सेन्टरका संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आफ्नो परिवारबीच उमेरजन्य समस्याका कारण शान्तिपूर्वक निधन भएको उल्लेख छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्टरको निधनबाट विश्वले एक ‘असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी’ नेतृत्व गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताएको छ ।
रोग उन्मूलन, शान्ति स्थापना, नागरिक र मानव अधिकारलाई अगाडि बढाउन, विश्वभर स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिन र घरबारविहीनहरूलाई सहयोग गर्ने कामका लागि विश्वले उनलाई सम्झिरहनेछ । कार्टरले आफ्नो महत्त्वाकांक्षालाई गहिरो बुद्धि, गहिरो धार्मिक विश्वास र विलक्षण कार्य नैतिकताका साथ प्रयोग गरे ।
उनले आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गर्नुभएको थियो र ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका थिए । सन् १९२४ अक्टोबर १ मा जन्मनुभएका कार्टर अमेरिकी राजनीतिज्ञ, लेखक र डेमोक्रेटिक पार्टीका सदस्य हन् । उनले सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाको ३९औँ राष्ट्रपतिको रूपमा काम गरेका थिए । उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
अल्बर्टो फुजिमोरी
मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको सेप्टेम्बर २१ मा निधन भयो । क्यान्सरसँगको लामो लडाइँपछि पूर्वराष्ट्रपति फुजिमोरीको निधन भएको हो ।
उनको जिब्रोमा क्यान्सर भएको थियो । सन् १९९० देखि २००० सम्म पेरुमा शासन गरेका फुजिमोरी भ्रष्टाचारको आरोपका कारण सत्ताबाट बाहिरिन बाध्य हुनुभएको थियो । राष्ट्रपति रहँदा उनले वामपन्थी गुरिल्ला विद्रोहविरुद्ध कडा अडान लिएको थियो ।
त्यसलाई कतिपयले मानवअधिकार उल्लङ्घनको आरोप लगाएका थिए । तर विद्रोहीहरूले सत्ता कब्जा गर्ने सम्भावना देखिएका बेला फुजिमोरीले पराजित गरेको भन्दै उनको प्रशंसा गर्ने समूह पनि गरिन्छ ।
एलेक्सी नभाल्नी
रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको सन् २०२४ फेब्रुअरी १८ मा जेलमा निधन भएको रूसी कारागार प्रशासनले जनाएको थियो । रूसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो।
कतिपयले उहाँलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको ठानेका थिए । उनको मृत्यु हुनुभन्दा करिब एक वर्ष पहिले मात्रै रूसको निकै कठोर जेलमध्येको आर्कटिक पेनल कोलोनीमा सारिएको थियो । नभाल्नीको मृत्यु भएको भन्दा एक दिनअघि फेबु्रअरी १७ मा उनी अदालती सुनुवाइको क्रमको एक भिडिओमा देखा परेको थियो ।
त्यसबेला उनी ठिकै देखिनुका साथै हाँसिरहेको देखिएको नभाल्नीका समर्थकहरूले दाबी गरेका छन् । जेल प्रशासनले नभाल्नी फेब्रुअरी १६ मा यात्राका क्रममा अचेत भएको र उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको बताइएको थियो ।
नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक नामक सोभियतकालीन विषाक्त पदार्थद्वारा आक्रमण गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उनी बिरामी परेपछि जहाजले आपत्कालीन अवतरण गर्नुपरेको थियो। त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ परेका नभाल्नी मृत्युपर्यन्त रूसी हिरासतमा थिए ।
नभाल्नीले आफूमाथि स्नायु विष हमला भएकोबारे लगाएको आरोप सही भएको केही खोज पत्रकारहरूको अनुसन्धानले देखाएको थियो । नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक थिए । सत्चालिस वर्षको उमेरमा निधन भएका नभाल्नीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आएको थियो ।
उनी भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि हुन् । सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेको थियो तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन। नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए ।
सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल परेका थियो । उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो । साइबेरियामा भएको स्नायु एजेन्ट आक्रमणमा परेर आपत्कालीन उपचार गराइरहेको थाहा हुँदाहुँदै उनमाथि यस्तो आरोप लगाइनु हास्यास्पद भएको उहाँका वकिलहरूले बताएका थिए ।
डा. मनमोहन सिंह
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बुढ्यौलीजन्य स्वास्थ्य समस्याका कारण सन् २०२४ डिसेम्बर २६ मा राजधानी नयाँदिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा भर्ना गरिएको थियो तर उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा सोही दिन निधन भएको थियो । उनले प्रधानमन्त्रीका रूपमा सन् २००४ देखि २०१४ सम्म भारतलाई नेतृत्व दिए । भारतको आर्थिक सुधारका लागि विशेष योगदान दिनुभएका अर्थशास्त्री सिंहले १९९१ मा भारतको अर्थतन्त्रलाई उदारीकरण गर्न वित्तमन्त्रीको रूपमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनको कार्यकालमा भारतको आर्थिक वृद्धि उच्च भएको थियो । उहाँलाई सरल, विनम्र र प्रभावकारी नेतृत्वका लागि भारतका साथै समग्र विश्वले सम्झिन्छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनको अतीतलाई स्मरण गर्दै आफूहरूबीचको अन्तक्र्रियामा उनमा सधैँ ‘विवेक र नम्रता झल्किने गरेको’ बताउँदै उनको कार्यकालमा ‘भारतीय नागरिकको जनजीवन सुधार गर्न व्यापक प्रयासहरू’ भएको बताएको थियो । जवाहरलाल नेहरुपछि पहिलो कार्यकाल पूर्णरूपमा पूरा गर्दै पुनः प्रधानमन्त्रीमा निर्वाचित हुने उहाँ पहिलो भारतीय नेता हुन् ।
उनको दोस्रो कार्यकालमा भने सरकारमाथि व्यापक रूपमा भ्रष्टाचारका आरोपहरू लागेको थियो । सिंहको जन्म सन् १९३२ को सेप्टेम्बर २६ मा विभाजित हुनुपूर्वको भारतको पञ्जाब प्रान्त (हाल पाकिस्तान) को एउटा विकट गाउँमा भएको थियो । त्यहाँ पानी र बिजुलीको अभाव थियो । पञ्जाब विश्वविद्यालयमा पढेपछि उनी स्नातकोत्तर अध्ययनका लागि बेलायतको क्याम्ब्रिज विश्वविद्यालय पुग्नुभयो र पछि अक्सफोर्डबाट डिफिल गरेका थिए ।
उनले कर कटौती, रुपैयाँको अवमूल्यन, राज्यद्वारा सञ्चालित कम्पनीहरूलाई निजीकरण र विदेशी लगानीलाई प्रोत्साहन गर्ने काम गर्नुभएको थियो । यसका कारण अर्थतन्त्रमा सुधार देखा पर्दै उद्योगहरूको तीव्र वृद्धि भयो । बढ्दो मुद्रास्फीति नियन्त्रण भएर सन् १९९० को दशकमा वृद्धिदर निरन्तर उच्च बनेको थियो । सिंहको पहिलो प्रधानमन्त्रीकालमा सबैभन्दा ठूलो सफलता अमेरिकासँग आणविक सम्झौता गरेको रूपमा हेरिन्छ ।
उहाँको पालामा त्यस ऐतिहासिक सम्झौताका कारण भारतले अमेरिकाको आणविक प्रविधिमा पहुँच पाएको थियो । सिंह सरकारलाई समर्थन गरेका वामपन्थी दलहरूले त्यसकै कारण आफ्नो समर्थन फिर्ता लिएका थिए ।
सीताराम यचुरी
जीवनको उत्तराद्र्धतिर श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम यचुरीको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचारका क्रममा ७२ वर्षको उमेरमा सेप्टेम्बर १२ मा निधन भएको थियो । सन् १९५२ अगस्ट १२ मा भारतको चेन्नईमा जन्मिएका यचुरी भारतीय राजनीतिका प्रभावशाली नेता हुन् । उनले सन् २०१५ देखि कम्युनिस्ट पार्टीको महासचिव बनेको थिए ।
विद्यार्थी कालदेखि नै राजनीतिमा प्रवेश गरेका यचुरी जवाहरलाल नेहरु विश्वविद्यालयमा भारतीय विद्यार्थी महासङ्घ (एसएफआई)का प्रभावशाली नेता हुन् । उनले इन्दिरा गान्धीको शासनकालमा १९७५ देखि १९७७ सम्म लगाइएको सङ्कटकालको समयमा नागरिक अधिकार र वामपन्थी विचारधारको पक्षमा क्रियाशील हुन् । यचुरीले सन् २००५ अगस्ट १९ देखि सन् २०१७ अगस्ट १८ सम्म भारतको माथिल्लो सदन राज्यसभाको सदस्यका रूपमा पश्चिम बङ्गालबाट प्रतिनिधित्व गरेका थिए ।