अब यो देशलाई निकास दिन सबै खालका विचारधाराबाट प्रभावित जनतालाई अटाउने दल चाहिएको छ । त्यो भनेको राष्ट्रवादी धारको हुन्छ । उदारवादी हुन्छ । कम्युनिस्ट पार्टीले समेट्न सक्दैन ।
भीम रावल
पूर्वउपप्रधानमन्त्री
काठमाडौं– राजनीतिक जीवनको उत्तराद्र्धमा एकपछि अर्को कम्युनिस्ट नेताले विचार परिवर्तन गरेका छन् । दशकौं कम्युनिस्ट राजनीति गरेर अनेक लाभको पदमा पुगेकासम्मले अनपेक्षितरूपमा विचार परिवर्तन गरेका छन् । त्यस्तो नेताको सूचीमा पछिल्लोपटक थपिएका छन्, भीम रावल । २०३० सालदेखि कम्युनिस्ट राजनीति गरेका उनी उदारवादी धाराको गैरवामपन्थी दल स्थापना गर्न अघि बढेका छन् । स्थापना गर्न लागिएको नयाँ दललाई उनले भन्नचाहिँ राष्ट्रवादी दल हुने भनेका छन् । नयाँ दल कम्युनिस्ट नहुने उनले स्पष्ट पारिसकेका छन् ।
‘अब यो देशलाई निकास दिन सबै खालका विचारधाराबाट प्रभावित जनतालाई अटाउने दल चाहिएको छ,’ उनले प्रभावसँग भने, ‘त्यो भनेको राष्ट्रवादी धारको हुन्छ । उदारवादी हुन्छ । कम्युनिस्ट पार्टीले समेट्न सक्दैन ।’रावलले कम्युनिस्ट नेता राधाकृष्ण मैनालीबाट २०३२ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन् । त्यसयता लगातार कम्युनिस्ट राजनीतिमा उनी क्रियाशील थिए । तर, एमालेको चितवनमा भएको १०औं महाधिवेशनपछि राजनीतिको डिलमा पुर्याइएका रावललाई हालै एमाले अध्यक्ष केपी शर्मा ओलीले साधारण सदस्यतासमेत नरहनेगरी कारबाही गरेर हटाएको छ । त्यसपछि रावल कम्युनिस्ट धारबाट अलग हुने भएका छन् ।
२०४७ मा नेकपा एमाले बनेपछि उक्त दलको उपाध्यक्षसमेत भएका र पटक–पटक सोही दलबाट चुनाव जितेर उपप्रधान तथा गृह र रक्षासँगै पर्यटनमन्त्री भएको अनुभव उनीसँग छ । उनकै भनाइलाई आधार मान्ने हो भने सुदूरपश्चिममा नेकपा एमालेको संगठन विस्तार गर्ने नेताको श्रेय उनैलाई जान्छ । तर, पार्टीबाट हटाएपछि रावलले कम्युनिस्ट विचारधारा पनि मन र मस्तिष्कबाट हटाउने भएका छन् ।
यसअघि २०७२ को असोज ३ गते संविधान जारी भएपछि डा. बाबुराम भट्टराई माओवादी पार्टी छाडेर अलग भए । त्यसबेलै उनले माओवादमात्रै होइन, वामपन्थ नै त्यागे । तर, समाजवादलाई भने उनले अँगाले । डा. भट्टराईले चार दशक लामो समय कम्युनिस्ट राजनीति गरेका थिए । जीवनको जोखिम रहेको १० वर्षे सशस्त्र युद्धको नेतृत्वमा रहे । तत्कालीन युद्धको एउटा पक्ष माओवादीको तर्फबाट वार्ता समिति संयोजक पटक–पटक भएर नेपालको शान्ति प्रक्रियामा महŒवपूर्ण योगदान दिए । गणतन्त्र नेपालको चौथो (पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल)पछि प्रधानमन्त्री भए । सामाजिक न्यायको क्षेत्रमा काम गर्ने प्रयास गरे । उनै पूर्वप्रधानमन्त्री डा. भट्टराईले राजनीतिक जीवनको झण्डै आधा शताब्दीपछि भने विचार परिवर्तन गरे ।
हजारौं श्रमजीवी र मजदुर वर्गलाई माओवादी युद्धमा समाहित गराएका उनले अन्ततः वामपन्थ त्यागे । यद्यपि, समाजवाद स्थापनाको मार्ग भने उनी भरपर्दा यात्री देखिएका छन् ।
उनीभन्दा अघि वामपन्थ त्याग्ने नेता थिए, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव । यादवले २०६३ को अन्तरिम संविधानमा संघीयता शब्द उल्लेख नगरिएपछि तराई मधेसमा मधेसी जनअधिकार फोरम गठन गरेर आन्दोलन गरे । पहिले एमाले र पछि माओवादी राजनीति गरेर कम्युनिस्ट कित्तामा उभिएका यादव २०६३ पछि विचार परिवर्तन गरेर अघि बढे । उनले पनि समाजवादलाई अन्तिम लक्ष्य बनाएका छन् ।
पञ्चायती व्यवस्था हुँदासम्म दरबारसँग नजिक हुने र राजनीतिक शक्ति र अवसर दुवै प्राप्तिका लागि विचार परिवर्तन गर्ने प्रचलन थियो तर आजकालचाहिँ पार्टीबाट किनाराकृत हुँदा विचार परिवर्तन गर्ने चलन नै देखियो ।
प्रा.कृष्ण पोखरेल
राजनीतिशास्त्री
राजनीतिक विश्लेषक भीम भुर्तेलका अनुसार त्यसअघि ३० को दशकतिर डा. केशरजंग रायमाझीले पनि वामपन्थ त्यागे । पञ्चायतलाई समर्थन गर्दै उनी दरबार पसे । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँगै तुलसीलाल अमात्य, मनमोहन अधिकारीलगायत नेताको हाराहारीमा रायमाझी थिए । तर, उनले विचार परिवर्तन गरेर राजानिकट भएको भुर्तेल बताउँछन् ।
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी पनि राजनीतिक जीवनको प्रारम्भमा कम्युनिस्ट राजनीतिमा क्रियाशील थिए । तर, १ पुस २०१७ सालमा राजनीतिक परिवर्तन (कू) हुँदा उनी राजा महेन्द्रको सल्लाहकार थिए । त्यस दिनको घटनासँगै उनी पनि वामपन्थ त्यागेर पञ्चायततिर लागेको इतिहास छ । उसो त पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पनि राजनीतिक जीवनको सुरुमा कम्युनिस्ट थिए । अन्ततः उनले पनि राजनीतिक विचार परिवर्तन गरे । उनी नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील भए ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेल कोहीले अवसर त कोहीले पार्टीबाट किनाराकृत हुँदा विचार परिवर्तन गर्ने गरेको पाइएको बताउँछन् । ‘पञ्चायती व्यवस्था हुँदासम्म दरबारसँग नजिक हुने र राजनीतिक शक्ति र अवसर दुवै प्राप्तिका लागि विचार परिवर्तन गर्ने प्रचलन थियो तर आजकालचाहिँ पार्टीबाट किनाराकृत हुँदा विचार परिवर्तन गर्ने चलन नै देखियो,’ उनले भने । उनका अनुसार यसरी लामो समय एउटा विचार बोकेर जनतालाई प्रभावित पार्ने तर अन्तिममा त्याग्नुले त्यस्ता राजनीतिक नेतृत्व कति वैचारिक इमान्दारी भन्ने प्रश्न उठेको छ ।