चौतारा। श्री इन्द्रध्वज गणको आयोजनामा पाँचौ लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेल रेस प्रतियोगिता हुने भएको छ। माघ २६ गते हुन लागेको प्रतियोगिताको प्रयोजन भोटेकोशी गाउँपालिकाले गरेको हो।
२४.५ किलोमीटरको लामो ट्रेल रेस तातोपानी भन्सार ड्राइपोर्ट हुँदै दुगुनागढीमा पुगेर टुंगिनेछ। ट्रेल रेसमा स्वदेशी तथा विदेशी नागरिकले सहभागीता जनाउन सक्नेछन। सहभागी हुन इच्छाएका व्यक्तिले माघ १५ गतेभित्र नाम दर्ता गराउन सक्ने प्रावधान मिलाएको आयोजकले जनाएको छ। सहभागी हुन चाहनेले केन्द्रिय सैनिक पुस्तकलय, चौतारा, मेलम्ची ,बाह्रबिसे झिर्पुमा रहेको सैनिक ब्यारेक र भोटेकोशी गाउँपालिकाको कार्यालय दर्ता गराउन सक्ने आयोजकले जनायो। खुल्ला पुरुष, खुल्ला महिला र गाउँपालिकातर्फ गरी तीन विधाको प्रतियोगिता तय गरिएको छ।
खुल्ला पुरुषतर्फ प्रथम हुनेले एक लाख १० हजार, दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्नेछन् । खुल्ला महिलातर्फ प्रथम हुनेले ७० हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार नगद प्राप्त गर्नेछन्। त्यस्तै गाउँपालिकातर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन्।
सिन्धुपाल्चोकको ऐतिहासिक स्थलहरुको पहिचान दिलाई पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन र साहसिक खेलकुदको विकास सहित सैनिक नगरिकको सम्बन्ध लाई प्रगाढ बनाउने उदेश्यले प्रतियोगिता गर्न लागिएको सेनानी अनिलकुमार बस्नेतले बताए। प्रतियोगीलाई ५ लाख बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ।