‘न्याय नपाए गोरखा जानू’ भन्ने कथन त्यसबेला थियो, जुनबेला नेपाल भन्ने देश बाइसे चौबिसे राज्यमा विभक्त थियो । र, गण्डक राज्यका नाममा गोरखाबाट राज्यमा शासन गरिरहेका थिए राजा राम शाहले । गोरखाका राजा पृथ्वीनारायण शाहले खण्डित राज्यलाई एकीकरण गरी अखण्ड नेपाल बनाए । तर, अहिले फेरि अखण्ड राज्य खण्डखण्डमा परिणत भएको छ, प्रदेश सरकार र स्थानीय सरकारका नाममा । हिजो बाइसे चौबिसे राज्य थिए । अहिले सातवटा प्रदेश र ७५३ स्थानीय तह बनेको छ ।
हिजो एक सरकार थिए अहिले ७६१ सरकार छन् । अनि आ–आफ्नै ढंगले राज्य चलाइरहेका छन् । त्यही भएर पनि त्यसबेला राम शाहको जस्तो न्याय र रामराज्य हुन सकेको छैन । अब न्याय माग्न गोरखा जाने दिन पनि गए । गण्डकमै पुर्याएकालाई पनि फेरि नेपाल खाल्डोमा नै ल्याएर जाक्ने काम भयो ।
माथि स्वर्गबाट रामराज्य ल्याउन खोज्ने राम शाहले मुख खोले, ‘होइन त्यो मेरो पालाको न्याय कता गयो हँँ ? प्रजाहरुले न्याय पाउन छाडेछन् ।’स्वर्गमा सँगै रहेका कान्तिपुर राज्यका राजा जयप्रकाश मल्लले राम शाहलाई भने, ‘जुन दिन वीरेन्द्रको वंश नाश भयो, मदन भण्डारीजस्ता नेता मारिए । बिपीजस्तो व्यक्तिलाई शासनसत्ताबाट हटाइयो त्यही बेलादेखि नै न्याय हरायो काजी !’जयप्रकाश मल्लले राम शाहलाई काजी भने पनि उनले भने, ‘होइन ए जय म कसरी काजी भएँ हँ ? म त गोरखाको राजा पो थिएँ । मृत्युपछि म काजी भएँ !’
हो त । जयप्रकाश भन्दै थिए । ‘मृत्युपछि को के–के हुन्छ, हुन्छ ! तिम्रा नातिखलकले मेरो राज्य खोस्दा पनि न्याय मरेको थियो । मैले न्याय पाइनँ । मलाई मेरै भाइ भारदारहरुले सहयोग गरेनन् ।’किन ? उनले प्रश्न गरे । ‘सबै स्वार्थी । आफ्नो स्वार्थ पूरा नहुञ्जेल अघिपछि हुने अनि स्वार्थ पूरा भएपछि छाडिदिने छन्’ नपत्याए अहिले नेपालको देश चलाउने ठेक्का लिएका राजनीतिक दलका नेताहरु हेर त ? जयप्रकाशले उत्तर दिए ।
त्यस्तो पनि हुन्छ र ? मैले त सबैका लागि न्याय पहिलो प्राथमिकतामा राखेको थिए । मैले शासन गर्दासम्म कसैले पनि अन्याय भोग्नु परेन । राम शाहले निकै नरम साथ जयप्रकाशलाई सोधे ? ‘त्यही भएर त मैले काजी सम्बोधन गरेको नि । म पनि राजा तिमी पनि राजा । तिम्रा खलककै पृथ्वीनारायणले मेरो राज्य खोस्यो मैले न्याय पाइनँ । मैले न्याय नपाउँदा मैले रुनसमेत पाइनँ । हो, अहिले त्यस्तै भएको छ । दलभित्रको अन्याय हेर, न्यायालयभित्रको अन्याय हेर ! सिंहदरबारदेखि पालिकाको दरबारसम्म हेर ! बिरामी निको पार्ने अस्पतालदेखि मृत्यु संस्कार गर्ने घाटसम्म पनि अन्याय नै अन्याय छ । हेर त आज मकर संक्रान्तिको दिन परेको छ । ती थारु जातिले कहिल्यै पनि न्याय पाएनन् । सधैं अन्यायमा नै बस्नुपर्यो । त्यही थारु जातिलाई तिम्रो राज्य हुने छ भन्दै ५२ सालतिर उचाले । त्यही लोभमा धेरै थारुहरुले अनाहकमा ज्यान गुमाए । अखण्ड राज्यलाई खण्ड–खण्ड पारे । थारुले केही पाएनन्, बरु थारुको नाममा अरुले नै ‘भारु’ खाए ।
जयप्रकाशको कुरा सुनेर राम शाह खित्का छाँड्दै हाँस्न थाले । ‘के नचाहिने कुरा गर्छौ हो तिमी पनि, पहिलेजस्तो कहाँ छ र आधुनिक समय छ । त्यसरी अर्काको नाममा कहाँ खान पाइन्छ र ?’‘हेरहेर यिनको मति !’ जयप्रकाशले खिल्ली उडाउन थाले । तिम्रो पाला जस्तो राम राज्य त कहाँ हुन्छ ? ल यता आउँ म तिमीलाई देखाउँछु ।’ राम शाहको दाहिने हात च्याप्प समातेर जयप्रकाशले स्वर्गको भीरजस्तै ठाउँमा लगेर तलको बस्ती देखाउन थाले । ‘अब तिमी यही स्वर्गबाट तिम्रा खलकले कब्जा गरेको मेरो राज्य हेर त कति ताण्डव चलिरहेको छ ?’
तिमीजस्तै मेरा पुर्खा पनि उत्तिनै थिए प्रजावत्सल । प्रजाको घरको धुरीबाट धुँवा नआएसम्म खानै खाँदैनथे । जयप्रकाशले आफ्ना पुर्खाको बखान गरे । साँच्ची ‘के रे उहाँको नाम ? ’‘महिन्द्र मल्ल, जसले १४ वर्ष शासन गर्दा सारा प्रजालाई खुसी दिए ।’ जयप्रकाशले भने । ए जयप्रकाशऽ त्यो तिम्रो सहरमा के–को भीड हँ ! देव्रे हात निधारमा राखेर परसम्म हेर्दै राम शाहले सोधे । त्यही ताण्डव नृत्य । अलकापुरी कान्तिपुरी नगरीमा अहिले न्याय पाउन मुस्किल छ । सबैलाई सत्ता र शक्तिको उन्माद चढेको छ ।
त्यो कालो दाडी भएकोलाई किन ‘देश रक्षक’हरुले घेरेका ? राम शाहले सोधे ? कुन दाडी भएको ? कुन रक्षकले घेरेको ? निलो कपडा लगाएकाले घेरेको कि हरियो लगाएकाले घेरेको, जयप्रकाशले सोधे । यिनीहरु के रक्षक होलान् र सबै भक्षक हुन् । नीलो लगाएकाहरुले घेरेको दाह्रीको कुरा गरेको ? ए त्यो नारदमुनि ? विचरा, गाईखानेका देशमा काम गरेर फर्केको केटो । सहकारी ठगको पैसामा रजजग गर्दै नारदमुनि बने छ !
नारदमुनि बन्दाबन्दै शासकहरुलाई घुमेर टुँडिखेलमा नाकको डाँडी भाँच्छु भन्दा प्रजाले ठोक–ठोक भनेर उचालेको भाग्यमानी । अहिले सहकारी ठग भन्दै न्यायका लागि कहिले गण्डक, कहिले बागमती घुमाका घुमाइ छन् अभागीलाई । अस्ति मन्त्री हुँदासम्म तिनै नीलो कपडा लगाएका रक्षकहरुले प्रजाहरुको रकम ठगी खाको छैन भन्थे । मन्त्री खुस्केपछि यही नै सहकारी ठग हो भन्दै दाह्रीलाई कहिले गण्डक राज्य, कहिले लुम्बिनी राज्य, कहिलो कान्तिपुरी नगरीमा पुर्याएका छन् ।’ जयप्रकाशले विस्तृत नै सुनाए ।
राम शाह तीन छक्क पर्छन्, ‘अस्ति सत्तामा हुञ्जेल ठीक, अनि अहिले सत्ताभन्दा बाहिर गएपछि बेठीक ! यत्तिका मानवले त न्याय पाएन भने अरु प्रजाहरुले कसरी न्याय पाउलान् त ? जयप्रकाश !’‘नेपालको कानुन जसले बनाउँछ उसैले जानुन्’ भनेर भन्न थालेका छन् । न्याय भन्ने कुरा त उही पैसा पद र पावरले खाइसक्यो ? न्याय नपाए जाने ठाउँ नै छैन ! शासक बन्न सत्ताचाहिँ दिल्ली दरबार पुगेपछि पाउँछन् रे ! अरु न्याय त उही पशुपतिनाथले रक्षा गरुन् । जय नेपाल !