भोजपुर- मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो ।
मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ ५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्द्रीप्रसाद पाण्डेले मङ्गलबार उद्घाटन गर्नहुँदै देशको भाषा, संस्कार, संस्कृतिको विकास गरेर्र खुला सांस्कृतिक सङ्ग्रालयका रूपमा विकास गर्न सकिने बताए ।
पर्यटनको मध्यमबाट आगामी दिनमा हजारौँ नागरिकलाई स्वरोजगार बनाउन सकिने उनको भनाइ छ । सरकारले देशका विभिन्न पदमार्गमा देश, विदेशका नागरिकलाई हिँडाउन चाहेको उनको भनाइ छ । पर्यटनको माध्यमबाट राज्यको जिडीपी बढाउन सकिने मन्त्री पाण्डले बताए ।
मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ गाउँपालिका–४ को पर्यटकीय क्षेत्र चखेवा भञ्याङमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा पर्यटकलाई लक्षित गरेर स्थानीय परिकारसँगै राडीपाखीलगायतको प्रदर्शनी राखिएको आयोजक चखेवा बजार तथा सहरीकरण व्यवस्थापन समितिले जनाएको छ ।
महोत्सवमा पयर्टकलाई लक्षित गरेर स्थानीय विभिन्न जातजातिको संस्कार, संस्कृतिसँगै झाँकी प्रदर्शन गरिएको छ । महोत्सवमा जैविक (अग्र्यानिक) खानाका परिकार तथा प्रदर्शनी राखिएको छ । पर्यटकलाई लक्षित गरेर कोदो, फापर, भुटेको मकै, गुन्द्रुकसँगै स्थानीय परिकार रहेको आयोजकको भनाइ छ ।
कृषि, पर्यटन तथा स्थानीय संस्कार, संस्कृतिको विकास तथा प्रवर्द्धन गर्न मुन्दुम भ्रमण वर्षलाई लक्षित गरेर महोत्सवको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए । “गाउँपालिकाले कृषि र पर्यटनको विकासमा जोड दिएको छ”, उपाध्यक्ष राईले भने, “महोत्सवमार्फत यहाँका सम्भावनाको उजागरसँगै कृषि उत्पादनको बजारीकरणमा जोड दिएका छौँ । यसले यहाँको सम्पूर्ण क्षेत्रको विकासमा टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ ।”
यहाँको कृषि र पर्यटन क्षेत्रको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधार, टेम्केमैयुङ विकासको आधार’ भन्ने मूल नाराका साथ यहाँको विकासका गतिविधि अघि बढाएको अध्यक्ष बस्नेतको भनाइ छ । “मुन्दुम भ्रमण वर्ष २०२५ लक्षित गरेर महोत्सवको सञ्चालन गरेका छौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “महोत्सवको माध्यमबाट मुन्दुम पदमार्गको थप विकास तथा विस्तारको जोड दिएका छौँ । यो भ्रमण वर्षमा एक लाख पर्यटक भित्र्याउने हाम्रो लक्ष्य छ ।”