जनकपुर– होलीमा रमाइलो गर्न खाएको मदिराले ११ जनाको ज्यान लिएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ को रमदैयामा विषाक्त मदिरा पिउँदा शनिबारसम्म ११ जनाको मृत्यु भएको छ ।
एक साताअघि सोही घटनामा पाँच र शुक्रबार रातिसम्म ६ गरी मृत्युहुनेको सो संख्या पुगेको जनाइएको छ । होली पर्वको अवसरमा अत्यधिक मात्रामा घरेलु मदिरा पिउँदा गम्भीर बिरामी भएपछि स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एक साताअघि मृत्यु भएका पाँचको विषाक्त मदिरा सेवनबाटै भएको आशंका गरिएको छ । मृत्यु हुनेमा २९ बर्षीय ब्रह्मदेव यादव, ४० बर्षीय विला मण्डल, ६५ बर्षीय गदर मण्डल, ३५ बर्षीय राजु महरा रामनारायण महरा, शत्रुघन मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले घटनाबारे अनुसन्धान शुरु गरिएको बताए ।
अवैध मदिरा बिक्री गरेको अभियोगमा स्थानीय रामानन्द साह र एक महिलालाई पक्राउ गरी आवश्यक कारबाही सुरु गरिएको जनाइएको छ । अहिले पूरै गाउँ शोकमा डुबेको छ । आर्थिकरूपले विपन्न परिवारका व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६ ०५:३२