काठमाडौं- वैदेशिक रोजगार विभागले इजरायल जान छनोटमा परेका सहायक कामदारलाई पूर्वप्रस्थान अभिमुखीकरण तालिममा सहभागी हुन आग्रह गरेको छ । विभागले स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका ८९७ जनालाई तालिम दिने तयारी गरेको हो । जसमा महिला ५२८ र पुरुष ३६९ जना रहेका छन् ।
अभिमुखीकरण तालिम सञ्चालन गर्ने जिम्मेवारी पाएको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले यही माघ १० गतेदेखि तालिम सञ्चालन हुने जानकारी दिएको छ । प्रतिष्ठानले आइतबार सूचना जारी गरी क्रम संख्याका आधारमा तीन समूहमा विभाजन गरी तालिम सञ्चालन गरिने उल्लेख गरेको छ ।
जसअनुसार क्रम संख्या १ देखि १५० सम्मका उम्मेदवारहरुलाई माघ १० र ११ गते, क्रम संख्या १५१ देखि ५३० सम्मकालाई माघ १३ र १४ र क्रम संख्या ५३१ देखि ८९७ सम्मका उम्मेदवारहरुलाई माघ १५ र १६ गते तालिममा सहभागी गराइने छ । तालिम ललितपुरको भैंसेपाटीस्थित प्रतिष्ठानको कार्यालयमा सञ्चालन हुने छ ।
पुरुष सहायक कामदारले तालिममा सहभागी हुन ७०० रुपैयाँ शुल्क बुझाउनुपर्ने प्रतिष्ठानले जनाएको छ । महिला सहायक कामदारका लागि भने तालिम निःशुल्क हुने सूचनामा उल्लेख छ । सरकारले इजरायलसँगको द्धिपक्षीय श्रम सम्झौताबमोजिम इजरायलमा सहायक कामदार पठाउँदै आएको छ । सहायक कामदारका रुपमा इजरायल जान छनोट भएका उम्मेदवारले स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएपछि अनिवार्य पूर्वप्रस्थान अभिमुखीकरण तालिम लिनुपर्ने व्यवस्था छ ।
आकर्षक कमाइ हुने इजरायल नेपाली कामदारहरुको रोजाइमा पर्दै आएको छ । तर, सीमित कोटामा आउने मागका कारण थोरैले मात्रै त्यहाँ जाने अवसर पाउँछन् । गएको केही महिना द्वन्द्व चर्किएपछि सरकारले इजरायलमा कामदार पठाउन रोक लगाएको थियो । द्वन्द्व रोकिने देखिएपछि फेरि खुला गरिएको हो ।