सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ का सम्भव राउतले ‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन् ।
आगामी अप्रिल ५ देखि १२ सम्म नेपालमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको कार्यक्रम ‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड’मा सोलुका राउतले नेपालको तर्फबाट एकल सहभागिता जनाउने आयोजक संस्था फेसन एराका प्रमुख कार्यकारी अधिकृत आनन्द सिंहले जानकारी दिएका हुन् ।
चार वर्षदेखि ५० वर्ष माथि उमेर समूहका व्यक्तिको सहभागिता रहने कार्यक्रममा किड्स, टिन र एडल्ट गरी ९ समूहमा हुने प्रतिस्पर्धामा क्षेत्रीले १७ देखि १९ वर्षको उमेर भित्र समूह (इ) मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने जनाइएको छ ।
कार्यक्रममा दर्जन भन्दा बढी देशका प्रतिस्पर्धी सहभागी हुनेछन् । ‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ अन्तरगत फेसन शो, फोटो सुट, र्याफ्टिङ, पशुपतिनाथ मन्दिर भ्रमण गराउने कार्यक्रम राखिएको छ ।
अप्रिल ११ मा ग्राण्ड फिनाले हुने आयोजक फेसन एराले जनाएको छ । समूहगत विजेताले आगामी जुलाइमा थाइल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी बन्ने मौका प्राप्त गर्नेछन् ।