- एमाले प्रतिरक्षामा उभिँदा चर्कियो विवाद
- सभापति पोखरेलको राजीनामा माग
काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा मंगलबार सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच चर्काचर्की भयो । प्रतिपक्षी दलहरु र सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदहरुले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेपछि एमाले सांसद तारा लामा तामाङ प्रतिरक्षामा उत्रिएका थिए ।
त्यसपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदबीच चर्काचर्की नै भयो । एक त लेखा समितिका सभापति पोखरेल विवादमा तानिएका छन् भने अर्को यो समितिको सभापतिमा सत्ता छाडेसँगै माओवादी केन्द्रले दाबी गर्दै आएको छ । यो विषयमा माओवादीका सांसदहरुले मंगलबार पनि प्रश्न उठाएपछि एमाले सांसद तामाङ कड्किएका थिए ।
सार्वजनिक लेखा समिति सरकारको लाचार छायाँजस्तो बनेको छ । पारदर्शी नेतृत्व प्रदान गर्न बल पुग्नुपर्नेमा छुट दिएको देखिन्छ । हाम्रै बीचमा ९५ उजुरी छन् । सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने हो ।
लेखनाथ दाहाल
सांसद, माओवादी केन्द्र
‘अनौपचारिक कुरामा अँगालो मारेर हिँड्ने । सधैं सभापतिलाई पेलेको छ । एजेन्डामा बहस हुँदैन । सधैं यो बोल्ने भए, अबदेखि बोले राम्रो हुँदैन,’ तामाङले माओवादी केन्द्रका सांसदलाई लक्षित गर्दै चेतावनी दिए । यसबारे तुरुन्तै प्रतिवाद गरे माओवादी सांसद लेखनाथ दाहालले । ‘के राम्रो हुँदैन भनेको ? कुस्ती खेल्न भनेको हो ? यो असंसदीय भाषा भयो, रेकर्डबाट हटाउनुहोस् ?,’ दाहालले भने ।
माओवादीका सांसदहरू जनार्दन शर्मा, दाहाल र अमनलाल मोदीले लेखा समितिको नेतृत्व सरकारको नेतृत्वकर्ता दलले राख्न नहुने भनेर राजीनामा मागेका थिए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पनि सभापति पोखरेललाई राजीनामा दिन सुझाएका थिए ।परम्पराअनुसार लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने माग कांग्रेस सांसद अर्जुननरसिंह केसीको थियो । ‘परम्परा नै लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने हो । तर यो तोडिएको छ,’ केसीले भने ।
पोखरेलपत्नी अञ्जला कोइराला सहकारी ठगी प्रकरणमा मुछिएसँगै विपक्षीले उनको राजीनामा माग गर्दै आएका थिए । यद्यपि पछिल्लो समय अञ्जला यो प्रकरणमा अदालतबाट धरौटीमा छुटिसकेकी छन् । यस्तो अवस्थामा लगातार सभापति पोखरेलप्रति खनिएकोमा एमाले सांसदहरु असन्तुष्ट बने । त्यसपछि सांसद तामाङले आफूले बोलेको कुरा कुनै किसिमले हटाउन नमिल्ने तर्क गरे । ‘किन हटाउने ? बोल्छु त । मैले कसैलाई इंगित गरेको छ र ? आफैं अनेक काम गरेर आउने,’ सांसद तामाङले भने ।
तत्कालीन परम्पराअनुसार नै लेखासमितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने हो । तर यो तोडिएको छ । यो सुधार्नुपर्ने छ ।
अर्जुननरसिंह केसी
सांसद, नेपाली कांग्रेस
उनलाई एमालेका अर्का सांसद योगेश भट्टराईले साथ दिए । भने, ‘के असंसदीय भयो ? के असंसदीय भयो ?’भट्टराई बोलेपछि माओवादी सांसद दाहालले आफ्नो अडान दोहोर्याए । भने, ‘असंसदीय भयो । हटाउनुपर्छ ।’त्यसपछि सांसद तामाङले अर्थहीन कुरा गरेर चर्चामा आउन ठीक नहुने तर्क गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै पोखरेललाई सभापति बनाएको दाबी गर्दै हटाउन डेलिगेसन जान सुझाए । ‘भाइरल हुन बोल्ने ? ल जाउँ प्रचण्डजीकहाँ डेलिगेसनमा । शेरबहादुरजीकहाँ जाउँ । म आफैं जान्छु । हिजो आफैं बनाएको । एजेन्डामा बहस छैन, कराको छ, सभापतिलाई प्रश्न उठाएको छ,’ तामाङले भने ।
माओवादी सांसद दाहालले ‘राम्रो हुँदैन’ भनेको के हो भनेर पटक–पटक प्रश्न गरेपछि तामाङले निरन्तर आफ्नो भनाइ राखे । उनले आफूले कसैलाई इंगित नगरेको दाबी गर्दै भने, ‘मैले कसैलाई इंगित गरेर बोल्या छैन । कसको खुट्टा काट्छु भन्दा कल्ले खुट्टा तान्या थियो भन्या जस्तो नगर्नु न ।’ त्यसपछि माओवादी सांसद दाहालले आफूहरूलाई नधम्क्याउन चेतावनी दिएका थिए । त्यसपछि तामाङले समितिमा अरु सदस्य पनि भएको उल्लेख गर्दै भने, ‘तपाईंमात्रै हुनुहुन्छ त यो समितिमा ? म पनि छु । मैले आफैंलाई पनि भनेको हुन सक्छु । जहिले पनि त्यही कुरा गर्या छ, गर्या छ । जम्मै आजै छलफल गरौं न ।’
भाइरल हुन बोल्ने ? ल जाउँ प्रचण्डजीकहाँ जाउँ, डेलिगेसनमा । शेरबहादुरजीकहाँ जाउँ । माधव नेपालकहाँ जाउँ । रविजीकहाँ जाउँ । एजेन्डामा बहस छैन, कराएको छ, सभापतिलाई प्रश्न उठाएको छ ।
तारा लामा तामाङ
सांसद, नेकपा एमाले
सभापतिको विषयलाई लिएर समितिमा विवाद लम्बिएपछि कांग्रेसका सांसद देवप्रकाश तिमिल्सनाले लेखा समिति सभापति भएपछि नछाड्ने प्रवृत्ति रहेको भनेर यससम्बन्धी प्रस्ट कानुनी व्यवस्थाकै आवश्यकता औंल्याए । ‘अब एउटै काम गर्नुपर्यो । प्रतिपक्षी जो हुन्छ त्यसको लेखा समितिको सभापति हुने भनौं । घण्टा–घण्टामा सरकार चेञ्ज भए सभापति पनि घण्टा–घण्टामा चेञ्ज हुन्छ । यसमा लामो कुरा नगरौं,’ तिमिल्सनाले भने ।
कानुनीरूपमै सम्बोधन गरिए दीर्घकालीन समाधाा हुनसक्ने उनको भनाइ थियो । ‘कानुन बनाएपछि झगडै गर्नु परेन । एउटाले विगत लामो समयसम्म बैठक नै बहिष्कार गर्यो । यसकारण लेखिदिएपछि सरकार जतिबेला चेञ्ज हुन्छ त्यसको भोलिपल्टै हामी लेखा समिति सभापति चेञ्ज गरिदिइहाल्छौं । अनि यो विवाद गर्नै परेन,’ तिमिल्सिनाले भने । सांसद दाहालले लेखा समितिका सभापति सत्तापक्षकै सांसद भएसँगै सत्ताको लाचार छायाँ बनेको आरोप लगाए ।
माओवादी सांसद मोदीले संसद् भनेकै प्रतिपक्षको भएको तर्क गर्दै धम्की नदिन एमाले सांसदहरुलाई चेतावनी दिए । ‘संसद् भनेको प्रतिपक्षको हो । अनि संसद्को प्रतिपक्षका साथीहरू बोल्दा धम्की दिन मिल्छ ? खोजेकै हो भन्न मिल्ने ?,’ सांसद मोदीले भने, ‘अहिले हामी ३२ सिटका छौं । अर्को २० सिटको प्रतिपक्षमा छ । अरू प्रतिपक्षमा छन् । यिनलाई धम्की दिन मिल्छ ? कुस्ती खेल्न आउने ? यो कुरा हुन्छ संसद्मा ?’बोल्नमै लगाम लगाएको भनेपछि समिति सभापति पोखरेलले आफूबाट त्यस्तो नभएको उल्लेख गर्दै मनलागेजति बोल्न दिइएको दाबी गरे । ‘माननीयज्यूहरू सायदै सबै समितिहरूमध्ये सिंगो संसद्मध्ये लेखा समिति नै होला मनलागेजति बोल्न दिइएको छ,’ सभापति पोखरेलले भने ।