काठमाडौं– वैदेशिक रोजगार विभागमा चालु आर्थिक वर्ष २०८१/८२ को पहिल्लो छ महिना (साउन–पुस) मा चार हजार १६२ वटा ठगीका घटना दर्ता भए । विभागको मुद्दा तथा अनुसन्धान शाखामा दुई हजार १६ वटा र प्रहरी शाखामा दुई हजार १४६ वटा उजुरी परेका छन् ।
छ महिनामा तीन लाख ९३ हजारभन्दा बढी नेपाली विदेसिँदा चार हजारभन्दा बढी व्यक्ति ठगीमा परेको तथ्यांकमा देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा छ हजार ३२१ वटा ठगीका घटना दर्ता भएका थिए ।
यी घटनाले वैदेशिक रोजगारीमा अझै पनि ठगीका घटना नरोकिएको देखाउँछ । कसरी सुरक्षित तवरबाट जाने भन्ने पर्याप्त ज्ञान नहुँदा बर्सेनि हजारौं नागरिक वैदेशिक रोजगारसम्बन्धी ठगीमा पर्दै आएका छन् । सरकारले विदेश जाने क्रममा हुने ठगीका घटना न्यूनीकरण गर्न अधिकांश जिल्लामा आप्रवासी स्रोत केन्द्र सञ्चालनमा ल्याएको छ ।
यस्ता केन्द्रले आप्रवासी कामदार तथा उनीहरुका परिवारलाई सूचना, परामर्श तथा अन्य सेवा दिएर वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सहयोग गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता वसन्त बोहोरा बताउँछन् ।
उनका अनुसार स्रोत केन्द्र हाल ५७ वटा जिल्ला प्रशासन कार्यालय र १७ वटा इलाका प्रशासन कार्यालयबाट सञ्चालनमा आइसकेको छ । चालु आर्थिक वर्षभित्र ७६ जिल्लामा स्रोत केन्द्र पुर्याइने सहायक प्रवक्ता बोहोरा बताउँछन् । उनी भन्छन्, ‘आवश्यक बजेट सम्बन्धित स्थानीय तहमा पुगिसकेको छ । हाल चौथो चरणअन्तर्गत ७६ जिल्लामा केन्द्र स्थापना हुँदै छ । त्यसपछि मुलुकभरका ७५३ वटै स्थानीय तहबाट सेवा दिने योजना छ ।’
तीन तहकै सरकारबीचको समन्वयबाट कार्यक्रम सञ्चालन भइरहे पनि कतिपय पालिकाले आफ्नै बजेटबाट पनि यो सेवा दिइरहेका उनले बताए । स्रोत केन्द्र नेपाल सरकार र स्वीस सरकारबीचको सम्झौताअन्तर्गत श्रम मन्त्रालयको नेतृत्व र हेल्भिटास नेपालको प्राविधिक सहयोगमा सञ्चालित छन् ।
कसले दिन्छ परामर्श ?
श्रम मन्त्रालयका अनुसार प्रत्येक स्थानीय तहमा दुई जना परामर्शदाता हुन्छन् । उनीहरु अनिवार्यरुपमा वैदेशिक रोजगारीमा गएर फर्किएको हुनुपर्छ । वैदेशिक रोजगारीसँग सम्बन्धित विभिन्न कामले जिल्ला प्रशासन पुगेका व्यक्तिहरुलाई उनीहरुले परामर्श दिन्छन् । यस्तो परामर्श रोजगारीका लागि जाने जुनसुकै देशको बारेमा लिन सकिन्छ ।
वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुग्नेहरूलाई स्रोत केन्द्रले प्रक्रियागत जानकारी दिन्छ । उनीहरुको विवरण टिपेर स्रोत केन्द्रले राख्छ । उनीहरुलाई समुदायस्तरमा आयोजना हुने समुदाय अभिमुखीकरणमासमेत सहभागी गराइन्छ । अभिमुखीकरणमा सम्बन्धित घर परिवारका सदस्यलाई पनि सुरक्षित वैदेशिक रोजगारसम्बन्धी जानकारी दिइन्छ ।
कार्यविधिमा के छ ?
आप्रवासी स्रोत केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७८ अनुसार केन्द्रले सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना, परामर्श तथा आवश्यक सेवा दिन्छ ।
समुदायमा अभिमुखीकरण, सेवा लिने व्यक्तिको लगत संकलन, तथ्यांक अद्यावधिक, रिटर्नी स्वयंसेवक परिचालन, सीप विकास तालिममा सहजीकरण गर्ने, सचेतना कार्यक्रमका लागि सञ्चारमाध्यमसँग सहकार्य गर्ने, केन्द्रकोे काम नियमितरुपमा स्थानीय तहलाई जानकारी गराउनेजस्ता काम गर्छ ।
यसको अनुगमन मन्त्रालय, राष्ट्रिय आप्रवासी स्रोत केन्द्र निर्देशक समिति र बोर्ड सचिवालयले गर्छ । केन्द्रले उपलब्ध गराएको सूचनाबापत कुनै सेवा शुल्क लिन पाइँदैन ।