महेन्द्रनगर- मधेस प्रदेशसभाका महिला प्रदेशसभा सदस्यहरुले महिला भएकै कारण विभेद हुने गरेको गुनासो गरेका छन् ।लैङ्गिक संवेदनशील संसदीय रिपोर्टिङ्गसम्बन्धी तीन दिवसीय कार्यशालाको समापन कार्यक्रममा बोल्दै आज महिला प्रदेशसभा सदस्यहरुले सदन बाहिर तथा सदनभित्र दुवै स्थानमा आफूहरुमाथी विभेद हुने गरेको दुखेसो गरेका हुन् ।
मधेस प्रदेशसभाका उपसभामुख बबिता राउत इसरले भनिन्, “महिलाले राजनीतिमा अवसर पाउन सजिलो छैन । म लामो सङ्घर्ष पश्चात नै राजनीतिमा अवसर पाएको हुँ ।” उनले महिलाहरुको राजनीतिमा सङ्ख्यात्मक उपस्थिति बढेपनि त्यसलाई गुणात्मक उपस्थितिमा बदल्न सञ्चार जगतको साथ र सहयोग आवश्यक रहेको बताए।
सो कार्यक्रममा प्रदेशसभा सदस्य किरण साहले प्रदेशसभा सदस्य शाहिदा खातुनमाथी भएको आक्रमणको विषयमा मिलेर आवाज उठाउनुपर्ने बताए । प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका सचेतक जिवछी यादवले महिला प्रदेशसभा सदस्यलाई बजेट विनियोजन तथा निर्णय प्रकृयामा सहभागी गराउनुपर्ने र महिला राजनीतिकर्मीले उठाएका समस्यालाई गम्भिरतापूर्वक लिन आग्रह गरे। उनले महिला प्रदेशसभा सदस्यले सरकारलाई दिने सुझावको कुनै सुनुवाई नहुने गरेको आरोप समेत लगाए
त्यसैगरी अर्का प्रदेशसभा सदस्य अनिताकुमारी साहले महिला प्रदेशसभा सदस्यको आवाज सरकारले नसुन्ने गरेको गुनासो गरिन् । कार्यक्रममा प्रदेशसभा सदस्य शाहिदा खातुनले आफूमाथि भएको आक्रमणको विषयमा जानकारी गराउँदै सरकारले न्यायका लागि कुनै पहल नगरेको बताइन् ।