- फागुन २ गते वैदेशिक रोजगार व्यवसायी संघको चुनाव
- भुवन गुरुङ, मेघराज भुर्तेल, नरेश गेलाल, डिकबहादुर खत्री, रोशन कटुवाललगायत संघको नेतृत्व लिन आकांक्षी
काठमाडौं– वैदेशिक रोजगार व्यवसायीहरुमाझ चुनावी माहोल सुरु भएको छ । व्यवसायीहरुको साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनसहितको साधारणसभाको मिति तय भएसँगै यस क्षेत्रमा चुनावमय बन्दै गएको हो ।
संघको साधारणसभा आगामी फागुन २ गते हुने तय भएको छ । यसका लागि संघले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । संघले बिहीबार सूचना जारी गरी साधारणसभाका एजेण्डाहरु सार्वजनिक गरेको छ । उक्त साधारणसभाबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने, संस्थागत प्रगति तथा आयव्यय प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेलगायत एजेण्डा रहेको एसोसिएसनले जनाएको छ ।
आसन्न ३०औं तथा ३१औं साधारणसभा र निर्वाचनका लागि प्रमुख निर्वाचन अधिकृतसहितको समिति गठन भएको संघले सूचनामा उल्लेख गरेको छ । चुनावका लागि आन्तरिक गृहकार्यमा जुटेको संघले बाँकी योजना तथा कार्यक्रम क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ । संघको विधानमा प्रत्येक दुई वर्षमा कार्यसमिति चुन्ने व्यवस्था छ । निर्वाचनका लागि हुने साधारणसभामा प्रत्येक म्यानपावर कम्पनीबाट एकजना प्रतिनिधिले भाग लिन पाउने व्यवस्था छ ।
चुनावी माहोल बढेसँगै नेतृत्वको आकांक्षीहरु पनि तयारीमा जुटेका छन् । लोकतान्त्रिक एसोसिएसनबाट भुवन गुरुङ र वर्तमान महासचिव मेघराज भुर्तेल, प्रगतिशीलबाट नरेश गेलाल र वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री तथा वर्तमान समितिका तृतीय उपाध्यक्ष रोशन कटुवाललगायत संघको नेतृत्व लिन आकांक्षी देखिएका छन् ।
व्यवसायीहरुका अनुसार यसपटक सत्ता गठबन्धन आबद्ध व्यवसायीहरुको एउटै प्यानल बनाउनेबारे छलफल भइरहेको छ । यद्यपि, सत्ता सहकार्यमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले आबद्ध व्यवसायीहरुबीच एउटै प्यानल बनाउने कि छुट्टाछुट्टै चुनावमा जाने भन्ने विषय टुंगो लागिसकेको छैन । यता अघिल्लो चुनावमा तालमेल गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी निकट व्यवसायीले यसपटक के गर्लान् भन्ने पनि चासोको विषय बनेको छ ।
अघिल्लो चुनावजस्तै यसपटक पनि दलगत प्यानलबाट उमेदवार उठ्ने भने निश्चित छ । नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेकपा माओवादी केन्द्रनिकट गणतान्त्रिक मञ्च र नेकपा एकीकृत समाजवादीनिकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनलगायत संस्थाहरु क्रियाशील रहेका छन् । यी नै संस्थाहरुले संघको चुनावमा प्रभाव पार्दै आएका छन् ।
गएको चुनावमा संघको अध्यक्षमा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चका उम्मेदवार राजेन्द्र भण्डारी विजयी भएका थिए । उक्त चुनावमा उनका निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक एसोसिएसनका कुमुद खनाल थिए । कांग्रेसनिकट व्यवसायीहरुबीचको आन्तरिक कलहका कारण खनाल पराजित हुन पुगेको व्यवसायीहरु बताउँछन् । त्यसअघिको निर्वाचनमा भने लोकतान्त्रिक एसोसिएसनको प्यानल नै विजयी भएको थियो ।