काठमाडौं- पूर्वमन्त्री शेरबहादुर तामाङले तामाङ समुदायले बनाउने ल्होछार मेलामा अब बिदेशी ब्रान्डको रक्सी नभएर कोदोको रक्सी राख्नुपर्ने बताएका छन् । तामाङ पत्रकार संघले शुक्रबार काठमाडौंको मार्टिन चौतारीमा आयोजना गरेको ल्होछारको तिथि र विधि विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वपन्त्री तामाङले यस्तो धारणा राखेका हुन् ।
एमाले स्थायी कमिटि सदस्यसमेत रहेका तामाङले टुँडिखेलको ल्होछारमा तामाङ परिकारमात्र राखेर नयाँ विधिको शुरुवात गर्नसमेत आयोजकलाई सुझाएका छन् । 'रुस्लान भोड्काको बोत्तल ठडिन भएन । हाम्रो कोदोको बोत्तल ठडिने वातावरण बनाउनुपर्यो नि। कहिले बस्ने हो त्यहाँ । हाम्रो साइन्स यहाँ उपयोग गर्नुपर्यो नि । तामाङकै परिकारकोमात्र स्टल राखौं,' उनले भने ।
यसैगरी उनले अब हरेक विषयमा ल्होछार घरघरमा मनाउने र तामाङ पात्रो बनाएर नयाँ विधि स्थापित गर्नुपर्ने बताए । 'छाङरी डाङ थोसी चाङ माइतीरी सेबा तसिजे ल्होछार दिमदिम रे सप्ला । घरघरमा हामीले यो परम्परा शुरु गरेका छैनौ । पहिलो दिन के गर्ने, दोस्रो दिन के गर्ने ? सेड्युल हुन्छ नि । सभामा मनाउँछौ तर हामीले हाम्रो पात्रो बनाएनौ । पञ्चाङ्ग पात्रमै भर परेर बस्यौं । अब ल्होछार परम्पराको पात्रो बनाउनुपर्यो । त्यही अनुसार हामी तिथि बनाउनुपर्छ। कुन दिन साइत छ कुन दिन ठिक छैन भनेर हेरौ न ?' तामाङले भने ।
यसैगरी कार्यक्रमहरुमा प्रदान गरिने प्रमाणपत्रदेखि ब्यानरमा तामाङ महिना, गते र बार प्रयोग गर्नसमेत उनले सुझाए । 'नेपाली भाषामै कार्यक्रम सञ्चालन भएकोले यो तामाङ भाषामा रेकर्ड हुन पाएन । प्रमाणपत्रदेखि विभिन्न लिखित दस्तावेजमा हाम्रै मिति लेखौं । यसरी तिथिको परम्परा बस्छ,' तामाङले भने ।
रोशी गाउँपालिकाका अध्यक्षा दिनेश लामाले अबका दिनमा यस्ता विषयमा थप छलफल गरी मानक बनाउन सुझाव दिए । 'ल्होछारको बारेमा इन्फरमेटिभ र एनालाइटिकल कुरा आएको छ । तर यो एउटा मिथ हो । यसलाई भ्यालिड बनाउन रिसर्च गर्नुपर्छ,' कार्यक्रमका विशेष अतिथिसमेत रहेका लामाले भने । उनले चन्द्र पात्रो र तामाङ समुदायले मान्दै आएको सोनाम ल्होछार कतिको मिल्छ त्यस विषयमा पनि दाँज्नुपर्ने बताए । 'आधुनिक राज्य व्यवस्थाले हाम्रा कविला राज्यलाई कोलोनाइज गरेर संस्कृतिमाथि अतिक्रमण गरे । कल्चरल्ली कोलोनाइज भएपछि हामी हाम्रो संस्कृतिलाई बिर्सन बाध्य भयौ । अब हामीले कम्पराटिभले स्टडी गर्नुपर्यो । नुवाकोटमा पनि राज्य थियो, तेमालमा पनि हाम्रो राज्य थियो भन्ने छ,' अध्यक्ष लामाले भने, 'चन्द्र पात्रो र यसको तारतम्य कहाँ छ भन्ने कुरा अब हामीले खोज्नुपर्छ । हामीले मान्ने सोनाम ल्होछार र चन्द्र पात्रो कतिको मिल्छ हेरौ ।'
खानेकुराको विषयमा पनि समुदायमा पुगेर मानक बनाउनुपर्ने उनको सुझाव थियो । 'मुख्य खानपिन खाप्से आलुम तेमे भन्यौ । यसलाई वक्ताको कुरा मान्ने कि समुदायमा गएर रिसर्च गरेर वैज्ञानिक र भ्यालिड बनाउ न । ल्होको विषय पनि परम्परागत हो । यसलाई पनि वैज्ञानिक बनाउन पाए अझ राम्रो हुन्छ,' लामाले भने, 'तिथि विधि बसाल्ने धेरै मोडालिटी छन् । चन्द्र पात्रोअनुसार जस्ताको तस्तै ल्याउने कि दुइतीन सय वर्ष पुरानो संस्कृतिलाई डिसकभर गर्ने हो ? यसमा अझै इनडेप्थमा गएर एकेडेमिक रिसर्च गर्नुपर्छ । यो विषयमा इकोनोमेकल्ली ब्लेन्डिङ गरौ ।'
सार्वजनिक सेवा प्रसारण नेपालका सञ्चालक समिति सदस्य फूलमान वलले ल्होछारको सन्दर्भमा न्यु मिडिया चुनौति रहेको बताए । यसका लागि तामाङ समुदायले न्यु मिडियाकोसमेत फेस गर्नुपर्ने धारणा राखे । 'ल्होछारको सन्दर्भमा चुनौति छ। मुख्य चुनौति न्यु मिडिया। संसारमा चाडपर्व सत्ता र शक्तिले इस्ट्याब्लिस गरेर मिडियामार्फत विधि बनाएर प्रोपोगन्डा गर्ने, अर्को चाहि मिडियाले मनोविज्ञान परिवर्तन व्यवहार परिवर्तन गरेर नयाँ खालको कल्चर स्थापना गर्ने। एउटा सत्ता र अर्को बजारले,' वलले भने, 'अहिलेको मुख्य शक्ति बजार हो । यो दुबैमा हामी जोडिएको छैन ।'
तामाङ समुदायले सत्ताले निर्माण गरेको संस्कृति नै बोकिरहेको उल्लेख गर्दै वलले यस्तो विषयलाई चिरेर जानुपर्ने बताए । 'हिजोको सत्ताले निर्माण गरेको ज्ञान सत्ता नै हाम्रो समुदायले बोकिरहेको कल्चर हो । राणाकालमा मासिन्य भयौ । हामी संस्कृति र ज्ञान निर्माण गर्ने ठाउँमै थियनौ । बजारले निर्माण गरेको कल्चर हाम्रो हितमा छैन । यसलाई हामीले चिर्नुपर्छ,' उनले भने, 'यसका लागि न्यु मिडिया नै प्रयोग गर्नुपर्छ । अब टिकटकमा पनि जात्रा गर्नुपर्छ । परम्परागत विषयलाई पनि छाड्न हुन्न् । कम्युनिटी स्ट्रङ हुनलाई एकोनोमी पनि स्ट्रोङ हुनुपर्छ ।'
पछिल्लो समय तामाङ समुदाय आर्थिक रुपमा समृद्ध हुँदै आए पनि केही तारतम्य भने नमिलेको बताए । 'तामाङ समुदायमा इकोनोमि केहि बुम त भएको छ । तर इकोनोमी भएकोसँग राजनीतिक चेतना छैन । राजनीतिक चेतना भएकोसँग इकोनोमिक हैसियत छैन । इकोनोमिक हैसियत नहुँदा बोलेको कुरामा रियाक्सन हुँदैन । नसुन्ने रहेछ,' वलले भने ।
लुम्बिनी कलेज अफ बुद्धिजम एन्ड हिमालयन स्टडिजका प्राध्यापक मोहन योञ्जनले ल्होछारको तिथिविधिबारे सामान्य गफ गरेर बस्न नहुने बताए । 'एकेडेमिक रिसर्च चाहियो । कसै न कसैले यो विषयमा पिएचडी गर्नुपर्यो । दुई चार दिन पढ्यो । टक्कटुक्क गर्यो यसरी त हुँदैन । अर्काको कुरा सुन्यो । हाम्रो अध्ययन भएन,' प्राध्यापक योञ्जनले भने । पुरानै सत्ताले पर संस्कृति लाद्ने क्रम जारी रहेको तर्क गर्दै उनले अब ल्होछारमा उत्सव मनाउनुपर्ने बताए । 'पालिकामा तीन दिन बिदा दिने चलन आइसकेको छ । तर किन तीन दिन दियो भनेर हाम्रै मान्छेले बुझेनन् । पर संस्कृति ग्रहण गरेकै छ । दसैं नमान भन्दा रिसाईहाल्छन् नि । ल्होछारमा हामीले पनि झिलिमिली पारौ न । मान्यजनबाट वाङ लिऔं न,' योञ्जनले भने ।
तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष रवीन्द्र तामाङले धेरै कुरा अहिले इन्टरनेटमै पाइने भएकोले थप भ्रम सिर्जना गरेर बस्न नहुने बताए । 'अनलाइनमा सबै कुरा पाइन्छ । तर भ्रम सम्प्रेषण भयो भने अरु पनि राम्रो हुँदैन । राजेश्वर थापा भन्नेले लोसार भन्ने पुस्तक लेख्नुभएको छ । यसमा तिथि र विधि दुबै छ । त्यो किताबलाई पनि हेरौं । यसले भ्रम चिरिन्छ भन्ने लाग्छ,' तामाङले भने ।
उनले ल्होछार पर्वको विषयमा चीन र नेपालका तामाङहरु निकै नजिक भेटिएको समेत बताए । 'पञ्चतत्वले, विपदले घेरेको र हाम्रो पितृले पनि पिरेको हो कि भनेर पितृलाई पनि पुजा गर्ने चलन रहेछ बोन धर्ममा । बुद्ध धर्मको विकासपछि भगवान बुद्धको पुजा गर्ने चलन आएको रहेछ । चीनसँग हामी नजिक रहेछ । तिब्बतमा चाहि अलि मिश्रित रहेछ । ल्होछार आएपछि पानीको स्रोतमा पुगेर चोखो पानी ल्याउने आलुम माग्ने ती कुरा हेर्दा ठ्याक्कै चीनसँग मिल्ने देख्दा हामी तिब्बतमा बुद्धिजम विकास हुनुभन्दा अघि नै हामी नेपालमा आइपुगेका हौ कि भन्ने देखिन्छ । अब ज्योतिषीय र सामाजिक कोणबाट थप दस्तावेज तयार गरे झन् राम्रो हुन्छ,' तामाङले भने ।
अन्तरक्रिया कार्यक्रममा तामाङ पत्रकार संघका पूर्वअध्यक्ष एवं सल्लाहकार प्रतीक ङेसुर तामाङले सोनाम ल्होछारको तिथिबारे प्रस्तुति दिएका थिए । लेखक एवं मातृभाषी अभियन्तासमेत रहेका ङेसुरले ल्होछारको मिति र तिथिमा औं प्रयोग गर्न नहुने सुझाए । 'अब मिहिन ढंगले हेर्दा २८६१ औं डुल ल्होछार भनेर लेख्छौ । यसको शाब्दिक अर्थ २८६१ औं डुल भनेको डुलमात्र २८६१ भयो नि । औं नै भन्ने हो भने त २३९ औं लेख्नुपर्यो नत्र यसरी औं नलेखौ । किनभने हाम्रोमा प्रत्येक वर्ष ल्हो नै फरक फरक हुन्छ । इस्बीसम्बत, विक्रम सम्बतमा पनि यस्तो औं भन्ने छैन नि,' ङेसुरले भने । उनले यस्तो विषयमा निरन्तर बहस हुनुपर्ने धारणासमेत राखे । 'यसको विषयमा निरन्तर बहस गर्नुपर्छ । ब्यानरदेखि प्रमाणपत्र सबै लेखनमा तामाङ भाषा ल्याउनुपर्छ । बाह्र वटा महिना हाम्रै छ । यसलाई स्थापित गर्नुपर्छ । हाम्रो पाठ्यपुस्तको कन्टेन्टमा पनि राखेका छौ,' ङेसुरले भने ।
ल्होछार सम्बन्धको नवीकरण गर्ने समय भएकोले यसलाई अझ अवसरका रुपमा मनाउन सकिने उनको भनाई थियो । 'ल्होछार भनेको नयाँ सम्बन्ध स्थापना गर्ने अवसर । मनमुटाव छ भने त्यो बिर्सेर मित्रता गास्ने दिन । बालीनाली नयाँ लगाउने । नयाँ खाता कारोबार शुरु गर्ने दिन । ल्होछारमा कारोबार चुक्त गर्ने बेला । नयाँ विचार व्यवहारमा उत्रने कि भन्ने । सबैतिर उत्साह छ । यो ठुलो अवसर हो हाम्रो लागि,' लेखक ङेसुरले भने, 'गाउँघरमा निम्तो दिने जाने चलन छ । सहरमा त्यस्तो अझै आएको छैन । सिधै टुँडिखेलमा हुन्छ । टुँडिखेलमा पनि मनाउनुपर्छ । यो शक्ति प्रदर्शन पनि हो । यति ठुलो प्रदर्शनसहितको चाड अरुको हुँदैन । यो सार्थक पनि हो ।'
यसैगरी तामाङ पत्रकार संघका वरिष्ठ उपाध्यक्ष तिर्थमान वलले ल्होखोर र वर्ग गणनाबारे प्रस्तुति दिएका थिए । वलले ज्योतिषीय आधारमा तामाङ ल्होखोर निकै महत्व बोकेको विषय भएको बताए । 'ल्होमा पञ्च तत्व हुन्छ । गणनामा १२ वटा भएपनि ल्हो ६० वटा हुन्छ । हरेक सर्प वर्गको फरकफरक स्वभाव हुन्छ । हामी ल्हो खोर्लो चक्रमा गन्छौ । तर तीनवटा औंलामा गन्नुपर्छ । यो दिशा र तत्वसँग सम्बन्धित हुन्छ । हामीले आधार मान्ने तत्व ज्योतिष हो,' वलले भने ।
उनले बजारमा आफूखुसी ल्होखोर बनाउने चलन आएकोले सैद्धान्तिक आधारमा ल्हो चक्र बनाउन सुझाए । 'बजारमा आफूखुसी ल्होखोर बनाउने चलन छ । पञ्चतत्व अनुसार बनाउनुपर्छ । आग्नि, काठ, फलाम, आगो, जल र जमिन तत्वअनुसार फरकफरक रंग हुन्छ,' उनले भने । वलले ज्योतिष विज्ञान समस्याबारे सतर्क गराउने र समाधान खोज्ने माध्यम भएको बताए । सहभागीको प्रश्नको जवाफसमेत वरिष्ठ उपाध्यक्ष वलले दिएका थिए । संघका अध्यक्ष नेत्र तामाङको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा काठमाडौं तामाङ पत्रकार संघका अध्यक्ष हिरोज लोप्चन, ललितपुर तामाङ पत्रकार संघका अध्यक्ष प्रकाश थिङका साथै सदस्यहरुको सहभागिता रहेको थियो । महासचिव सरस्वती तामाङले सञ्चालन गरेको कार्यक्रममा संघकी सचिव मिक्साङ वाइबाले स्वागत मन्तव्य राखेकी थिइन् । पूर्वअध्यक्ष तथा सल्लाहकार विष्णु मोक्तानलगायत कार्यसमितिका उपाध्यक्ष साहिला तामाङ, शिशिर दोङ, डोल्मा मनाङथेन, सचिव जिबी लामा, आदर्श थोकर, कोषाध्यक्ष हिरामान बल, सदस्यहरु श्याम योञ्जन, सन्तोष योञ्जन, अमृता तामाङ, राधिका ल्हो, मानकाजी पाख्रिन लगायतको सहभागिता रहेको थियो ।