मनहरी - नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा यही माघ १३ गतेदेखि हेटौँडामा २५औँ राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका महासचिव धरमबहादुर लामाले प्रतियोगिताको तयारी पूरा भएको बताए । “खेलाडी छनौट भइसकेका छन्, आइतबारदेखि राउन्ड रोविन चरणमा खेल खेलाइनेछ”, उनले भने ।
अघिल्लो वर्षका विजेताहरु र राष्ट्रिय ‘बी’ छनौटबाट भएका पुरुषतर्फ १२ र महिलातर्फ १२ जना खेलाडीले प्रतिस्पर्धा गर्ने उहाँको भनाइ थियो । कूल ११ चरणमा खेलाइने खेल यही माघ १९ गतेसम्म सञ्चालन हुनेछ । “निर्णायक, खेलाडीहरु तथा अफिसियलहरु हेटौँडा आइसक्नुभयो, प्रतियोगिता आयोजनाका लागि रु २४ लाख ५० हजार खर्च हुने अनुमान छ”, महासचिव लामाले भने ।
प्रतियोगितामा विजेताले श्रीलङ्कामा आगामी मार्च १० गतेदेखि हुने एसियन जोनल गेमका लागि सहभागिता पाउनेछन् । साथै दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु १५ हजार र रु १० हजार नगद प्राप्त गर्नेछन् ।