काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र मन्त्रीलाई एक ढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएका छन् । पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको शनिबार बसेको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।
सभापति देउवाले आगामी दिनमा संसद्मा होस् या संसद्बाहिर एक ढिक्का भएर प्रस्तुत हुन निर्देशन दिएको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । ‘पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको शनिबारको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एक ढिक्का भएर प्रस्तुत गर्ने निर्णय गरेको छ,’ उनले भने ।
बैठकमा गृहमन्त्री रमेश लेखकले लामो समयदेखि मुलुकको आर्थिक अवस्था शिथिलतातर्फ उन्मुख भएकाले अर्थतन्त्र चलायमान बनाउनका लागि अध्यादेशमार्फत केही कानुन संशोधन गर्नुपरेको बताएका थिए । उनले वर्तमान सरकारका कामकारबाही र प्राथमिकताबारे पनि बैठकमा जानकारी गराएका थिए ।गृहमन्त्री लेखकले संविधान संशोधनका दलका तर्फबाट गठित सदस्यबारे तत्कालै निर्णय गरेर अघि बढाइने जानकारी गराउँदै अध्यादेशमा कुनै संशोधन गर्नुपर्नेमा भएमा प्रतिस्थापन विधेयकका रूपमा सदनमा टेबुल हुने समयमा संशोधन गर्न सकिने स्पष्ट पारेका थिए ।
पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको शनिबारको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एक ढिक्का भएर प्रस्तुत गर्ने निर्णय गरेको छ ।
श्यामकुमार घिमिरे
सचेतक, नेपाली कांग्रेस
संविधान कार्यान्वयनका लागि अध्यादेशबाटै भए पनि कानुन संशोधन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्न सुझाव दिए पनि पदाधिकारीले पार्टीका तर्फबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनप्रति कुनै टिप्पणी नभएको प्रमुख सचेतक घिमिरेले बताए ।त्यस अवसरमा प्रमुख सचेतक घिमिरेले संसद् आगामी अधिवेशनको तयारी, विधेयक संख्या, अवस्था र पारित गर्न सकिने विधेयकबारे जानकारी गराएका थिए । संसदीय दलको आइतबार र सोमबार बस्ने बैठकमा पार्टीका आन्तरिक जीवनमा देखिएका र सुधार गर्नुपर्ने विषवस्तु भए सघनरूपमा सांसदका बीचमा छलफल गरी निष्कर्षमा पुर्याउने विषयमा पनि सहमति जनाइएको थियो ।
प्रमुख सचेतक घिमिरेले भने, ‘विधेयकलाई संसद्मै पनि टेबल गर्न सकिन्थ्यो, त्यसो गर्दा लामो समय लाग्ने भएकाले तत्काल केही काम गरी लगानीको वातावरण सिर्जनाका लागि अध्यादेश ल्याइएको र उक्त विषयमा पदाधिकारीका बीचमा समान बुझाइ र साझा धारणा रह्यो ।’पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मन्त्री र संविधान संशोधनका गठित संयन्त्रले बैठकमा अध्यादेश र समग्र सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी गराएको बताए । उनले भने, ‘संसद्मा विचाराधीन विधेयकलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पारित गरी सम्बन्धित समितिमा समयमै काम सम्पन्न गर्ने विषयमा पनि जानकारी दिइयो ।’
समग्रमा मन्त्रीहरूले राम्रै काम गरिरहनुभएको छ, तथापि हाम्रा आवश्यकता धेरै छन्, काम गर्नुपर्ने क्षेत्र ठूलो छ ।
डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस
मन्त्रीहरूको ‘ब्रिफ्रिङ’मा पदाधिकारीहरूबाट राय, सुझाव र सल्लाह दिने उद्देश्यले बैठक आयोजना गरिएको प्रवक्ता डा. महतको भनाइ थियो । एक प्रश्नको जवाफमा संविधान संशोधनका विषयमा गम्भीर गृहकार्य थालनी गर्ने र त्यसमा विषयवस्तु के हुनसक्छ भनी दलभित्र पनि बेग्लै संयन्त्र पनि बन्ने सक्नेबारे गृहमन्त्री लेखकले बैठकमा जानकारी गराएका प्रवक्ता महतले बताए ।बैठकमा मन्त्रीहरूले आफ्नो सम्पूर्ण क्षमता, योग्यता र क्रियाशीलता लगाएर भइरहेको पहलबारे जानकारी तथा पदाधिकारीले सरकारमा सशक्त उपस्थितिबारे सुझाव र सल्लाह दिएको बताउँदै प्रवक्ता डा. महतले भने, ‘समग्रमा मन्त्रीहरूले राम्रै काम गरिरहनुभएको छ, तथापि हाम्रा आवश्यकता धेरै छन्, काम गर्नुपर्ने क्षेत्र ठूलो छ ।’
बैठकमा पार्टी नेताहरू विजयकुमार गच्छदार, विमलेन्द्र निधि, पार्टी प्रवक्ता डा. महत, महालक्ष्मी उपाध्याय, उमाकान्त चौधरी तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री, कृषि तथा पशुपन्छीलगायतले कार्य जिम्मेवारी र समसामयिक विषयमा धारणा राखेका थिए ।