- माघ १८ गतेबाट सुरु हुने संसद् अधिवेशनका लागि तयारी
- प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफल
- प्रतिपक्षी दलहरुसँग पनि छलफल गर्दै
काठमाडौं– संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख देवराज घिमिरेले आफ्नो सक्रियता बढाएका छन् । यही क्रममा उनले आइतबार प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफल गरे । राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभामा आएका विधेयकबारे छलफल गरिएको जानकारी दिइएको छ ।
सभामुख घिमिरेले आइतबार कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आमन्त्रण प्रतिनिधिसभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग गरेका हुन् ।
‘सभामुखले राष्ट्रियसभाबाट पारित भएर आएका संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकलगायत प्रतिनिधिमै अड्किएका अन्य विधेयकबारे धारणा माग गर्नुभएको छ, त्यसबारेमा पार्टीमा छलफल गरेर सोमबार फेरि सभामुखसँग बस्नेगरी आजको छलफल टुंगिएको छ,’ कांगे्रस प्रमुख सचेतक घिमिरेले भने । एमाले प्रमुख सचेतक बर्तौलाले भने संसद्मा विचाराधीन सबै विधेयक अघि बढ्ने बताएका छन् ।
संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेका लागि आह्वान गरिएको छ । संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । सभामुख घिमिरेले प्रतिपक्ष दलहरुसँग पनि छलफल गर्ने जानकारी दिइएको छ ।