काठमाडौं– चालु आर्थिक २०८१/८२ वर्षको छ महिना (साउन–पुससम्म) मा नीलकमल ह्युमन रिसोर्स प्रालिले सबैभन्दा धेरै कामदार वैदेशिक रोजगारीमा पठाएको पाइएको छ । वैदेशिक रोजगार विभागको पछिल्लो छ महिनाको तथ्यांकअनुसार नीलकमल पहिलो स्थानमा देखिएको हो ।
उक्त यस अवधिमा नीलकमलले तीन हजार २६० जनालाई विभिन्न कामका लागि वैदेशिक रोजगारीमा पठाएको तथ्यांक छ । सन् २००८ मा स्थापित यस संस्थाले साइप्रस, मलेसियासहित खाडी मुलुकहरुमा कामदार पठाउँदै आएको छ । यस कम्पनीमार्फत साउनमा ४२० जना, भदौमा ५०६, असोजमा ४१५, कात्तिकमा ४६५, मंसिरमा ६४० र पुसमा ८१४ जना विभिन्न मुलुक गएका देखिन्छ ।
दोस्रोमा प्याराडाइज इन्टरनेसलन प्रालि परेको छ । प्याराडाइजले यस अवधिमा तीन हजार १६९ जनालाई रोजगारीका लागि विदेश पठाएको छ । बखुन्डोल ललितपुरमा अवस्थित यस संस्थाले सिंगापुरसहित खाडी मुलुकमा कामदार पठाउँदै आएको छ । यस अवधिमा प्याराडाइजले तीन हजार १६९ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ ।
त्यस्तै तीन हजार १५३ कामदारलाई वैदेशिक रोजगारीमा पठाएर एसओएस म्यानपार एण्ड सर्भिस प्रालि तेस्रो स्थानमा रहेको छ । एसओएसले पनि विभिन्न क्षमता भएका श्रमिकहरुलाई मलेसियाका साथै खाडी मुलुकमा रोजगारीका लागि पठाउँदै आएको छ ।

एड्भान्स म्यानेजमेन्ट एण्ड कन्सल्टेन्स् प्रालि धेरै श्रमिक पठाउने मध्य चौथो स्थानमा छ । सामाखुसीमा अवस्थित यस संस्थाले छ महिनाको अवधिमा दुई हजार ५०७ जनालाई रोजगारीका लागि विदेश पठाएको छ । त्यस्तै पाँचौं स्थानमा रहेको एअर किंग्स प्लेसमेन्ट प्रालिले दुई हजार २५६, छैटौंको लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिसेज प्रालिले दुई हजार २०७, सातौंको गल्फ म्यानपावरले दुई हजार ७४, आठौंको साउन्डलाइन्स रिक्र्युटमेन्ट प्रालिले एक हजार ९७४ र दशौं स्थानमा रहेको शान नेपाल प्रालिले एक हजार ५८४ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् ।
धेरै श्रमिक पठाउने म्यानपावरको सूचीमा द रिभर ओभरसिज प्रालि, एसिया लिंक सभिसेज प्रालि, लुलु इन्टरनेसनल, मदल्यान्ड ओभरसिज प्रालि, अल–हायात म्यानेजमेन्ट सिस्टम प्रालि, आयुष ओभरसिजलगायत मेनपावर कम्पनी रहेका छन् । तथ्यांकका आधारमा यी संस्थाहरुले सबैभन्दा धेरै खाडी मुलुक पठाएका छन् भने युरोपेली देश जानेहरुको संख्या पनि बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि नीलकमल नै वैदेशिक रोजगारीमा सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर बनेको थियो ।
एक जनामात्र पठाउने कति ?
चालु आवको पहिलो महिना साउनमा एक जना श्रमिकलाई मात्र विदेश पठाउने म्यानपावर ३४ वटा रहेका थिए । भदौमा पनि यस्तो संख्या ३४ वटा नै कायम रहेकोमा असोजमा घटेर २९ वटामा सीमित भएको देखिन्छ । कात्तिकमा ४३, मंसिरमा ४० र पुसमा ५१ वटा संस्थाले एक जनालाई मात्र विदेश पठाएका छन् ।
यसैगरी १०० जनाभन्दा बढी कामदार पठाउने म्यानपावर साउन महिनामा ६३ वटा, भदौमा ७८, असोजमा ६३, कात्तिकमा ५१, मंसिरमा ८० र पुसमा ७९ वटा रहेका छन् । यसअघि सरकारले म्यानवार कम्पनी नवीकरणका लागि वर्षमा न्यूनतम १०० जना कामदार पठाउनुपर्ने व्यवस्था लागू गरेकामा व्यवसायीहरुको विरोधपछि उक्त प्रावधान हटाइएको थियो । अघिल्लो आर्थिक वर्षमा २५६ कम्पनीले १०० जनाभन्दा कम श्रमिक पठाएका थिए ।