काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपतिशम्शेर राणाले पार्टीमा लाइन परिवर्तन गरेका छन् ।‘राप्रपा मेरो नजन्मिएको छोरा हो, पार्टीको मलाई अत्यन्तै माया लाग्छ,’ राप्रपाका पूर्वअध्यक्ष राणाले राप्रपा केन्द्रीय समिति वैठकको समापन सत्रमा बोल्दै आइतबार भने ।
यस अघिको केन्द्रीय समिति वैठकमा ‘राजेन्द्र (लिङ्देन) मेरो छोरा हो’ भन्ने नेता राणाले यस पटक ‘राप्रपा मेरो छोरा हो’ भन्ने धारणा प्रस्तुत गरे ।राप्रपाका एक नेताका अनुसार राणाको अडानमा आएको यो परिवर्तन राप्रपाको जीवनमा अर्थपूर्ण छ । महामन्त्री धवलशम्शेर राणालाई संगठन विभाग प्रमुखबाट अध्यक्ष राजेन्द्र लिङ्देनले हठात हटाउनु अन्यायपूर्ण भएको पूर्वअध्यक्ष राणाले भन्दै आएका छन् । कार्यसम्पादन समिति वैठकमा समेत पूर्वअध्यक्ष राणाले यही धारणा राखे ।
राप्रपाको तीन दिन चलेको केन्द्रीय समितिको वैठक चैतमा काठमाडौं केन्द्रीत आन्दोलन गर्ने निर्णय सहित आइतबार सम्पन्न भएको छ । नेता राणाले समापन सत्रको मन्तव्यमा अध्यक्ष लिङ्देनलाई राप्रपा स्थापनाको संघर्षपूर्ण विगत संस्मरण गराउँदै जवाफ पनि दिए ।
सिन्धुपाल्चोक, महोत्तरी, दाङ, जनकपुर लगायत विभिन्न स्थानमा आफू समेत लोकेन्द्र बहादुर चन्द, राजेश्वर देवकोटा, डा. प्रकाशचन्द्र लोहनी, पद्मसुन्दर लावती लगायत नेताहरुले सांघातिक आक्रमण सामना गर्दै ज्यान हत्केलामा लिएर राप्रपा स्थापना गरेको घटनाक्रमहरु विस्तृत रुपमा राखे । नेता राणा लिखित टिपोट लिएरै तयारीसाथ वैठकमा प्रस्तुत भएका थिए ।
राप्रपा स्थापनाकालको इतिहास प्रस्तुत गर्दै राणाले अध्यक्ष लिङ्देनलाई जवाफ दिएका थिए । लिङ्देनले वैठकको पहिलो सत्रमा राप्रपाका संस्थापक पूर्वपंचहरुले पार्टीलाई फुटाउने मात्र काम गरेको भन्ने असन्तुलित धारणा राखेको राप्रपाका एक पदाधिकारीले बताए ।