काठमाडौं – ‘कहिँ जानुभन्दा अघि ह्वाटएप्स्मा भोइस मेसेज पठाएर म यस्तो गर्न लाग्दैछु आमा भन्थ्यो, पछिल्लो पटक नेपाल आउन मन छ तर जानै दिएको छैन भनेको थियो,’ नरमाया सुनुवारले टोलाउँदै भनिन् । सोमबार पशुपति आर्यघाटमा छोराको दाहसंस्कार गर्न आएकी नरमाया सुनुवार ६२ वर्षकी भइन् ।
ओखलढुङ्गाको मोलुङ गाउँपालिका घर भएकी नरमायाका माइला छोरा विनोद बहादुर सुनुवार अघिल्लो वर्षको असोजमा रुसी सेनामा भर्ना हुन गए । उनले घरपरिवारलाई थाहै नदिइ रुस जाने सबै चाँजोपाँजो मिलाएका थिए । ‘जाने दिन विहान आमा मेरो फ्लाइट आयो भनेको थियो । त्यतिबेला पो थाहा भयो रुस जान लागेको भनेर,’ भावविह्वल भएर उनले सुनाइन् ।
बुढेसकालमा आफ्नो सन्तान गुमाउनुको पीडा उनले सकिनसकि पोखिन्, ‘आठ जना छोराछोरीमध्ये एकजना रुसि लाहुरे भएर बित्यो, दुई जनालाई पहिरोले लग्यो, एउटाले आत्महत्या गर्यो ।’नरमाया मोबाइलमा मेसेज टाइप गर्न सक्दिनन् । रुस गएदेखि के गर्दै छु भनेर हरेक दिन भ्वाइस मेसेज पठाउँथे विनोदले । तर करिव साढे दुई महिनादेखि कुनै खबर आएको थिएन । लामो समयदेखि कुनै खबर नआउँदा परिवार आत्तिन थालिसकेका थिए । तर पनि छोरा फर्किने ठूलो आश थियो, नरमायालाई । के भएको हो भनेर नेपाली दुतावास र रुसी सेनामा मारिएकाहरुको शव झिकाउने पहल गरिरहेकाहरुसँग सम्पर्क गर्दा बमबारीमा परि बंकरभित्र परि उनको मृत्यु भइसकेको खबर आयो । सम्पर्कमा नभए पनि विनोद जिउँदै होलान् भन्ने आशमा बसेका परिवारजनमा त्यसपछि बज्रपात पर्यो ।
बमबारीमा ज्यान गएकाले उनको शव झिकाउने सकिएन । छोराको अन्तिम संस्कार गर्नुपर्ने चलन अनुसार पराल र कुशको शव बनाएर दाहसंस्कार गरियो । ‘उसको भाइहरुले कुश, पराल र जौँको पीठोले शव बनाए,’ नरमायाले सुनाइन् । यसरी रुसी सेनामा ज्यान गुमाएकाको कुशको काल्पनिक शरीर(डमी) बनाएर दाहसंस्कार गरिएको यो पहिलो घटना भएको अभियान्ता कृतु भण्डारीले बताइन् । परिवारको भविष्य अनि आफ्नै घर बनाउने सपना बुनेर रुस गएका विनोद उतै अस्ताए, परिवारले मृत शरीर समेत देख्न पाएनन् । प्रेम विवाह गरेका विनोदका एक श्रीमती र पन्ध्र वर्षीय एक छोरा छन् । शोकमा डुबेकी उनकी श्रीमती बोल्न सक्ने अवस्थामा थिइनन् । श्रीमती र छोराले उनलाई दागबत्ति दिए ।
‘रुसमा कोहि पनि नजाउन्’
रुसी सेनाबाट फर्किएका सुदिप खत्री युद्धग्रस्त अवस्थामा रुसी सेनामा नजान आग्रह गर्छन् । ओखलढुङ्गा चम्पादेवी घर भएका उनी त्यहाँको स्थिति हाम्रो कल्पनाभन्दा बाहिरको रहेको बताउँछन् । कोरीयन भाषा पढ्दै गरेका सुदिपलाई रुसमा भाषा जान्न नपर्ने, तलब पनि राम्रै हुने भनेर टिकटकबाट थाहा पाएपछि रुसी आर्मी बन्ने रहर जाग्यो । एउटा ट्रभल एजेन्सी समातेर दश लाख तिरेर रुस गए । उनले तेह्र महिना युद्धक्षेत्रमा काम गरे । करिव तीन महिना फाइरिङ सिकाएपछि युद्धमा लगिएको उनले बताए ।
नेपालीहरुले फ्रन्टलाइनमा बसेर मिसाइल हान्नुपर्छ, सुरक्षाको साधन भनेको आर्मर र हेलमेट मात्रै हुन्छ, ड्रोनहरुबाट छलिएर बंकरमा बस्नुपर्छ,’ उनले भने, ‘म बाकमुद भन्ने ठाउँमा थिएँ । त्यसबेला त्यहाँ करिव दुई सयको हाराहारीमा नेपालीहरु थिए ।’ उनका अनुसार युद्धरत अवस्थामा त्यहीँका रुसी नागरिकले ६ महिनापछि २० दिन छुट्टी पाउँछन् भने अन्य देशबाट आएकालाई एक वर्ष पुगेपछि दुई महिना छुट्टी दिइन्छ । उनी एक वर्ष काम गरेर छुट्टिमा नेपाल आएका हुन् । युद्धरत देशमा किन जानुभयो भनेर सोध्दा, ‘नेपालमा राम्रो रोजगारी नपाएर गएको हो नि । त्यत्ति ठूलो रुसले युक्रेनलाई हराइहाल्छ बढिमा एक दुई महिनामा युद्धविराम होला भनेर गइयो । त्यहाँ पुगेपछि स्थिति अर्कै थियो । सेनामा कोहि पनि नजाउन्,’ उनले भने ।