‘दिन सबैको आउँछ ! फालेको ढुंगाको पनि दिन आउँछ ।’ बूढापाकाले त्यसै भनेको कहाँ हो र । अघिल्लो वर्ष पनि आएको थियो, अलि धेरै चिसो र हुस्सु लिएर । तर यो वर्ष बिहानी तातिरहेको थियो । अघिल्लो दिनसम्म सडकमा ओहोरदोहोर गर्ने कहीँ नटिकेर नेपाल पठाइ सवारीसाधनका कारण उडेको धूलोले धुलाम्य भएको थियो सुनौला रङ पोतिएको सालिक ।
अघि–पछि धेरैले देख्थे, हेर्दैनथे । ठिंग उभिएको सुनौलो शुक्रराज शास्त्री वर्षमा एकपटक रंगिएका थिए, शुक्रराजमात्र कहाँ हो र ? धर्मभक्तलाई पनि रंगाइएको छ, कालोले लिपेर । दशरथ चन्द र गंगालाल पनि सिँगारिएका छन् । मिल्ने भए त्यही अर्धकदको सालिकबाट ङिच्च हाँसिदिन्थे होला, ‘तिमेरुका पारा, स्यालहरु ! कति घिच्न सक्छौं घिच । कति लुट्न सक्छौं लुट । अब त हामीले के नै पो गर्न सक्छौं र !’ भन्दै ।
सत्ताका लागि विचार, सिद्धान्त र स्वाभिमान नगुमाएकै कारण हामी सालिक भयौं । लोभीपापी भएर स्वार्थमा लीप्त तिमीहरु मालिक बनिरहेको छौं ।
‘हुँदैन बिहानी मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए ।’
टेकुको रुखमुनि पहेँलै उभिएका शुक्रराज भन्दै थिए । राणालाई घुँडा टेकायौं, हामीले शिर झुकाएनौं बलिदान दियौं । त्यसैले हामीलाई भूमि लेखिदिए । तर अहिलेका मालिकहरुले हामीलाई हाँसोमा नै मेटिदिएका छन् । शोषक सामन्तको अत्याचारका विरुद्ध हामी चिच्याउँथ्यो, कराउँथ्यो र त हामी मारिएर सालिक भयौं ।
उता सिफलको ओरालोमा कालै बनाएका अर्धकदमा धर्मभक्तका आँखाबाट आँसु झरिरहेका थिए । उनको आँसु मुस्काउँदै पुष्पगुच्छा लिएर जानेले के देख्थे र ? न त संघर्ष त प्रताडित बन्नु परेको । बरु अरुलाई सहिद बनाएरै सालिकका सामु मालिक हुन पाएको । त्यही सालिकमा फनफनी घुमेर एउटा जिउँदो सहिद सालिक बनिसकेको धर्मभक्तलाई च्याप्प समाएर चिच्याउँदै थियो । डाँको छाडेर रुँदै थियो । अरु त तमासे न परे ! एक दिनका लागि गइदिएका । धन्न तिमी मरेर गयौं, सालिक बन्यौं अदृश्यरुपमा तमासा देखिरहेका छौं । हिक्कहिक्क गर्दै भन्दै थिए, ‘तिम्रा सपनालाई कुल्चिएर, विचार, सिद्धान्तलाई बिर्सिएर । केवल आफ्नौ स्वार्थ र सत्ताका लागि लिप्सिएकाहरुबाट म त आजित बनिसकें ।’ वरपर रहेकाहरु अचम्मित बनिरहेका थिए ।
आँसु पुछ्दै, थाहा छ धर्मभक्त तिमीलाई तिमीहरुले बलिदानी दियौं । झुक्दै झुकेनौ बरु बलि चढ्न तयार भयौं र सालिक भयौं । अहिले हेर त आफैं सामन्त बनेर, निमुखा र गरिबलाई मारेर मालिक बनिरहेका छन् ।’ उनी सुनाउँछन् आमा, त्यो आउँछ र ?
‘हो, बा, त्यो आउँछ
त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ
त्यसको कम्मरमा झुन्डिएको शितजस्तै टल्कने
तिमी एक हतियार देख्ने छौ
त्यसैले ऊ अधर्मसित लड्ने छ
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्ने छौं तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ’
गोपालप्रसाद रिमालले त्यसै भनेका हो र ?
विचरा निर्जिव सालिकलाई भए पनि सुनाउन पाएको गर्व गरिरहेको छ । म त जिउँदो सहिद । मैले बोलेको सुनिदिने कोही छैन । त्यसैले आजको तिमीलाई मृत्युदण्ड दिइएको दिन सुनाउन आएँ । माफ गर धर्मभक्त । निरंकुश सामन्तवादलाई अन्त्य गर्ने तिमीहरुलाई सालिक बनाएर अहिले मालिक बन्नेहरु आधुनिक सामन्त बनिरहेका छन् ।
सबै भ्याऽऽ भ्या र म्याँऽ म्याँ मात्र गर्छन् । त्यो प्रजातन्त्र बनेर आयो । लोकतन्त्र भएर मुस्कुरायो अनि गणतन्त्र भएर थकाइरहेको छ । जसका लागि आउनुपर्ने हो त्यसका लागि आउँदै आएन । सहिदको सपना तिम्रा सालिक देखाएर अहिलेका मालिकहरु जनभावनामा बलात्कार गरे । ऊ अझै डाँको छाँडेर रुन्छ । फनफनी धर्मभक्तको सालिक घुम्छ । जिंग्रिन्छ केश पारेर फेरि सालिकलाई प्रश्न गर्छ । ए सालिकऽ भनिदेऊ तिमी र तिमीजस्तालाई मारेर मालिक बन्नेहरुलाई । हामीले गल्ती गरेछौं, तिमीजस्ता बज्रस्वाँठहरुलाई यहाँ पुर्यायौं ।
ऊ जति नै कराओस् न । जति नै चिच्याओस् न । सुन्ने को नै पो थियो र ? हरेक वर्ष ऊ यसैगरी आउँछ कराउँछ, जान्छ । तर त्यसपछि कतै देखिन्न यो मान्छे कहाँ जान्छ थाहा छैन । को हो पनि थाहा छैन । सालिकको छेउमा उभिएर नियालिरहेका अर्को व्यक्तिले भन्दै थिए । उता टेकुतिरबाट शुक्रराज कराउँदै थिए । भैगो छाडिदिउँ । अब कसैलाई केही बनाउने होइन । नागरिकलाई जागरुक बनाऊ चेतनशील बनाऊ । निरंकुशता आफैं ढल्छ । निरंकुश शासनसत्ता आफैं पतन हुन्छ ।
उता शोभाभगवतीतिर दशरथ र गंगालाल आफैं–आफैं कानेखुसी गर्दै थिए । सत्ताका लोभी सामन्तवाद सँगै कहिल्यै पर जाँदैन । डरले थर थर काँप्छ । ऊसँग बसेर हो मा हो मिलाउँछ । ‘ल नपत्याए हेर त गंगालाल’ दशरथ भन्दै थिए । त्यही त विचारलाई मारेर अगाडि बढ्ने विचार, सिद्धान्त र व्यवहार फरक गर्नेहरुबाट के अपेक्षा गर्छाैं ? भो छाड । गंगलाल उत्तर दिँदै थिए । सत्ताको स्वादका लागि जस्तोसुक्कै विचार नमिल्नेसँग पनि घाँटी जोडेर राज्यसत्तामा बसिरहनेहरुलाई म के भनुँ । यिनीहरुबाट केही आशा नगर्नू ।
लडेर आएकाहरुबाट तिमी अपेक्षा गर्न सकिरहेका छैनौं भने लडाएर आएकाहरुबाट के पाउँछ । उनीहरु त सामन्तवादमात्र हुने । मर्नेहरु जहिले पनि सालिक नै हुन्छन्, अनि मार्न लगाउनेहरु सधैं नै मालिक नै हुन्छन् । ढुक्क होऔं ।यिनको कुरा सुनेर टेकुतिरबाट खित्का छाड्दै हाँस्न थाले । भयो अव हामीले बोलेको कसैले सुन्न सक्दैन । सुन्न सक्नेले बोलेको त सुन्ने छैन भने तिमी त सालिक बनिसकेका छौं । फेरि किन वैराग्य बन्छौं ।
म खाऊँ मै लाऊँ, सुख–सयल वा मोज म गरूँ,
म बाचुँ मै नाचुँ, अरू सब मरून् दुर्वलहरू,
भनी दाह्रा धस्ने अबुझ शठदेखि छक परी,
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरि ।’ उनै लेखनाथलाई छाडिदिउँ ।
हामी मारिएर सालिक भएकाहरु हौं । उनीहरु मार्न लगाएर मालिक बन्न सफल भएका छन् । आऊँ बरु हामी चारै जना सालिक मालिकको कर्मप्रति दयाभावले एकपटक खित्का छाडेर हाँसौं । सबै खिच्का छाडेर हाँस्छन् । सहिदहरुको सपना पूरा होस् वा नहोस् सत्तामा जानको पक्कै होस् ।