काठमाडौं- तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन(खुल्ला आरोहण प्रतियोगिता)को दोस्रो संस्करण सुरु भएको छ । प्रतियोगिता आज बुधबार जगडोलस्थित गेटवे एड्भेन्चर हबमा सुरु भएको हो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले प्रतियोगिताको उत्घाटन गरेका हुन्। उनले भने, 'आज मैले तेन्जिङ नोर्गे शेर्पाको नाम लिन पाउँदाखेरि एक्दमै खु:सी लागेको छ । नेपालमा यस्ता कार्यक्रमलाई मैले महत्वपूर्ण ठानेको छु। नेपाललाई माउन्टेन कन्ट्री भनेर चिन्छन्। त्यसकारण हामी नै यसमा मलाई इन्ट्रेस्ट छ।'
आयोजकलाई नगरपालिकाको पनि साथ रहेको रिसालले बताए । हाम्रो नगरपालिकास्थित शहिद पार्कमा आरोहण सम्बन्धित क्लाइमिङ वाल बनाउना चाहेमा नगरपालिकाको पनि साथ रहने उनले बताए । यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको लागि जनवरी १५ देखि २५ तारिखसम्म आवेदन खुल्ला गरिएको थियो । जसमा ५० भन्दा बढीले सहभागिता जनाएका छन् । यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता यही आज (माघ १६ र १७ गते)सम्म हुने छ ।
प्रतियोगितामा नियामानुसार १२ वर्षभन्दा माथिकाले सहभागीता जनाएका छन् भने प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला/पुरुषले क्रमशः ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताकाे टाइटल स्पोन्सर: हेली एभरेस्ट, ग्रोल्ड स्पोन्सर: सेभेन समिट ट्रेक, सिल्भर स्पोन्सर: हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपेडिसन, एभरेस्ट शेर्पा फाउन्डेसन, ब्रन्ज स्पोन्सर: आम डब्लम बेस क्याम्प लज रहेका छन् ।