काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलनिकट संगठनहरु उम्मेदवार छनोटमा जुटेका छन् । आगामी फागुन २ गते हुने निर्वाचनका लागि अहिलेसम्म नेकपा एमालेनिकट व्यवसायीहरुको संगठन प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले मात्रै अध्यक्षको उम्मेदवार टुंग्याएको छ ।
प्रगतिशीलबाट अध्यक्षमा नरेश गेलाल उठ्ने भएका छन् । बुधबार बसेको बैठकले मञ्च संघका पूर्वअध्यक्ष तथा मञ्चका पूर्वमहासचिवसमेत रहेका गेलाललाई अध्यक्षमा उठाउने निर्णय गरेको हो । प्रगतिशीलमा अध्यक्षका लागि दुई जनाको दाबी परेको थियो । अर्का आकांक्षी संघको हालका प्रथम उपाध्यक्ष डिकबहादुर खत्री (कुमार) रहेका थिए । प्रगतिशील मञ्चका कोषाध्यक्ष शिवहरि मैनालीका अनुसार महासचिवमा भने मञ्चका वर्तमान अध्यक्ष जनक रावलको मात्र दाबी परेकोले उनको उमेदवारी सर्वसम्मतिले पारित भएको छ । ‘संघको कार्यसमितिमा रहने मुख्य दुई जना पदाधिकारीको टुंगो लागिसकेको छ । अन्य पदाधिकारीको हकमा खासै समस्या नरहेकाले यही शुक्रबारसम्म सबैको नाम टुंगो लाग्छ,’ मैनालीले भने ।
यता नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले भने यो हप्ताभित्र उमेदवार टुंग्याउने जनाएको छ । गत सोमबार आकांक्षीको नाम सार्वजनिक गरिसकेको एसोसिएसनमा संघको अध्यक्ष बन्न सात जनाको दाबी परेको जनाइएको छ ।‘एक चरणको छलफल भएको छ, अब यही हप्ताभित्र नाम टुंगो लगाउँछौं,’ एसोसिएसनका महासचिव महेश बस्नेतले प्रभावसँग भने । एसोसिएसनबाट अध्यक्षमा फेमस ह्युमन रिसोर्स प्रालिका सञ्चालक चिरञ्जीवी बस्याल, नीलकमल ह्युमन रिसोर्स प्रालिका सञ्चालक तथा संघका वर्तमान कोषाध्यक्ष मेघनाथ भुर्तेल, गुरुङ म्यानेजमेन्ट प्रालिका सञ्चालक भुवनसिंह गुरुङ, सोलार एचआर म्यानेजमेन्ट प्रालिका सञ्चालक प्रज्ञान न्यौपाने, एलाइन्स ह्युमन रिसोर्स प्रालिका सञ्चालक सुजितकुमार श्रेष्ठ, फ्युजन इन्टरनेसनल प्रालिका सञ्चालक कुमुद खनाल र एसआरके ओभरसिज प्रालिका सञ्चालक किशोर केसीको दाबी परेको छ ।
त्यसैगरी प्रथम उपाध्यक्षमा तीन जना, द्वितीय उपाध्यक्षमा पाँच जना, तृतीय उपाध्यक्षमा चार जनाले दाबी पेस गरेका छन् । त्यसैगरी महासचिवमा चारजना, सचिवमा छ जना र कोषाध्यक्षमा एक जना गरी १७ पदाधिकारीमा जम्मा ३० जनाको दाबी परेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले सकेसम्म जाति, भूगोल, क्षेत्रजस्ता विषयलाई आधार बनाएर छनोट गरिने बताएको छ ।
अघिल्लो चुनावमा एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनसँग तालमेल गरेको माओवादीनिकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चले पनि संघको कार्यसमितिको सबै १७ जना नै पदाधिकारीको नाम टुंगो लागिसकेको बताएको छ । सञ्चारमाध्यममा आएजस्तो एकीकृतसँगै तालमेल हुने भन्ने यकीन भइनसकेको गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले बताए । को–कोसँग तालमेल गर्ने या नगर्ने भन्ने विषय यही शुक्रबारसम्म टुंगो लाग्ने उनको भनाइ छ । ‘यसपटक तराईतिरका संगठन, राष्ट्रिय प्रजातन्त्र पार्टी, रास्वपा र एकीकृत समाजवादीनिकट संगठनबीच गठबन्धन गरेर जाने सम्भावना प्रवल छ,’ जैसीले भने, ‘एमाले र कांग्रेसबाहेकका संगठन एक ठाउँमा उभिनेबारे छलफल भइरहेको छ ।’
यता एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनले भने सबै संगठनसँग तालमेलका लागि छलफल भइरहेको बताएको छ । संगठनका अध्यक्ष सन्त लामाले आफ्नो संगठन संघमा तेस्रो शक्ति भएको दाबी गरे । उनले चुनावी तालमेलका लागि सबैलाई ढोका खुला राखिएको बताए । ‘अब दुई–तीन दिनभित्र उमेदवारको टुंगो लगाउँछौं, त्यसपछि कसरी जाने भन्ने थाहा हुन्छ,’ लामाले भने । सत्ता गठबन्धनअनुसार तालमेल हुने सम्भावनाबारे प्रश्न गर्दा उनले कांग्रेस–एमालेबीचको तालमेल सम्भव नहुने दाबी गरे ।यता विगतमा कांग्रेसनिकट संगठनलाई समर्थन गर्दै आएको तराई मधेस रोजगार फोरमबाट पनि आकांक्षी देखिएको र कसरी अगाडि बढ्ने भन्नेबारे बिहीबार साँझसम्म निर्णय गरिने जनाइएको छ । ‘तराईमा वैदेशिक रोजगार व्यवसाय गर्ने १२७ वटा संस्थाको जमघटबाट कसलाई उठाउने र कसलाई समर्थन गर्ने भन्ने अन्तिम टुंगो आज लाग्छ,’ फोरमका अध्यक्ष शितल यादवले प्रभावसँग भने ।
निर्वाचनमा सकेसम्म सर्वसम्मतिबाट छनोट गर्ने र यदि सर्वसम्मतिबाट नभए लोकतान्त्रिक पद्धतिअनुसार चुनावमा जाने संघले जनाएको छ । संघमा आबद्ध झण्डै ९०० म्यानपावर कम्पनीमध्ये प्रत्येकबाट एक जना पदाधिकारीले मत हाल्ने छन् । सोही दिन चुनावअघि हुने साधारणसभामा संघको कार्यसमितिले प्रगति विवरण र संघबाट भएका कामहरु उल्लिखित प्रतिवेदन पारित गर्ने छ । आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को आयव्ययको विवरणसहितको वासतालउपर छलफल गर्ने पनि छ । त्यस्तै चालु आर्थिक वर्षको लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्नेलगायतका कार्यक्रम संघले यसअघि नै सार्वजनिक गरेको थियो ।