मंगलबार राष्ट्रपति कार्यालय शितलनिवासमा लामा धुन गुञ्जियो । एकछिनमा ताम्बाहरुले साङ सेरगेम गरे अनि बोम्बोहरुको ढ्यांग्रोको आवाज गुञ्जियो । ल्होछारको अवसरमा पूजापाठ चलिरहँदा लुङ्दरले राष्ट्रपति निवासको प्रांगण झकिझकाउ र रंगीचंगी देखिएको थियो । सायद शितलनिवासमा पहिलोपटक यसरी जनजातिको संस्कृति झल्किएको हो ।
राष्ट्रप्रमुखको निवासमा प्रायः महान् भनिएको चाड दसैंमामात्र यस्तो मेला लाग्थ्यो । राष्ट्रपतिबाट टीका र जमरा लगाउन सर्वसाधारण लाइन लागेर जानुपथ्र्यो । त्यसमा पनि निश्चित पोसाक लगाएर । नभए प्रधानमन्त्री र मन्त्रीस्तरबाट टुँडिखेलमा मुस्किलले सहभागिता हुन्थ्यो । त्यसमा पनि जातिवादी देखिने हो कि भन्दै डराउँथे प्रधानमन्त्री तथा मन्त्रीहरु । तर मंगलबार तामाङ पोसाक लगाएर राष्ट्रपति रामचन्द्र पौडेल शितलनिवासको अगाडि प्रकट भए । सुरक्षाका कारण उक्त स्थानमा सेना कार्यक्रम गर्न तयार थिएनन् । हुन पनि राष्ट्रपति र प्रधानमन्त्रीको शपथग्रहणका समयमा मात्र प्रयोग गरिने उक्त स्थानमा सर्वसाधारणलाई मोबाइल चलाउन निषेध थियो । भिडमा ती स्थानको दृश्य कैद हुने डर सुरक्षा संयन्त्रलाई थियो ।
तर राष्ट्रपति पौडेलले जनताबाट राष्ट्रपति निवास असुरक्षित ठानेनन् । डम्फु र ढ्यांग्रो बोकेर शीतलनिवास छिरेका तामाङ समुदायसँग खुलेर सोनाम ल्होछारको पूजापाठमा सहभागी भए । दसैंकै शैली हो भने राष्ट्रपतिले सोनाम ल्होछारको दिन आशीर्वाद दिएर सर्वसाधारणलाई ढोगभेट दिनुपर्ने हो । तर राष्ट्रपतिले तामाङ समुदायकै लामा गुरु, ताम्बा र बोम्बोबाट प्रसाद ग्रहण गरे ।
यो ऐतिहासिक परम्पराको सुरुआत भयो । नेपालको जनसंख्याको पाँचौं ठूलो जाति तामाङलगायत बौद्ध धर्मालम्बीहरुको चाडलाई यसरी अपनत्व लिनु राष्ट्रपति पौडेलको मननीय कदम हो । यसअघि गणतन्त्रपछि तीन दुई जना राष्ट्रपति चुनिए । तर दुवै राष्ट्रपतिले राजाकै शैलीमा अरु जातिका चाडलाई महत्व दिएनन् । राष्ट्रपति पौडेलले भने शितलनिवासमै ल्होछारलाई भित्र्याएर महानता देखाएका छन् ।
राष्ट्रपतिले तामाङ समुदायको मात्र नभएर हरेक जातजातिको चाड यसरी नै मनाइदिनुपर्छ । राष्ट्रप्रमुख देशका अभिभावक हुन् । त्यसैले पनि जनताले यतिको अपनŒव लिने अभिभावक खुसीका साथ मनपराउँछन् पनि । राष्ट्रपति निवासको भूमि पूजा भएसँगै यो भूमि पवित्र भएको छ । तामाङहरु आफ्ना पूर्खालाई मात्र हैन प्रकृतिलाई पनि पुज्छन् । मंगलबार बोम्बोहरुले याम्बु अर्थात् काठमाडौंलाई सम्बोधन गर्दै राष्ट्रपति भवन क्षेत्रलाई राम्रो होस् भनी पूजासमेत गरेका थिए । यसरी तामाङ समुदायको संस्कृतिलाई अपनŒव लिनु राष्ट्रपति पौडेलको सरहनीय कदम हो । यस्तो कदमले निरन्तरता पाओस् ।