काठमाडौं - त्रिकोणात्मक टी ट्वान्टी सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग २० रनले पराजित भएको हो ।
नेदरल्याण्ड्सले जितका लागि दिएको एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३७ रनमा समेटिएको हो ।नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रनको योगदान दिइन् । उनले ४५ बलमा तीन चौकाको सहयोगमा २८ रन बनाएकी हुन् । त्यसैगरी कविता जोशीले १७ बलमा एक चौका र दुई छक्काको सहयोगमा २७ रन बनाइन् ।
पुजा महतोले १४ बलमा दुई चौका र दुई छक्काको सहयोगमा २४ रन बनाइन् । त्यसबाहेक अन्य नेपाली खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । सम्झना खड्काले ९ रन बनाइन् भने कविता कुवँरले ८ तथा कप्तान इन्दु बर्माले ७ रन जोडिन् । बलिङतर्फ नेदरल्याण्डसका इभा लिन्च र क्यारोलिन डे लाङले समान दुई दुई विकेट लिइन भने आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले समान एक एक विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५७ रनको योगफल बनाएको हो । नेदरल्याण्ड्सका लागि रोबिन रिकेले सर्वाधिक ५९ रनको योगदान दिइन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाएकी हुन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रन बनाइन् ।
स्ट्री कालिसले ३५ बलमा २९ रन जोडिन भने र हेटर सिगेसर्ले १९ बलमा २३ रन जोड्दै आउट भइन् ।नेपालका लागि कविता कुँवर, पुजा महतो, सिता रानामगर र ईश्वरी विष्टले समान एक–एक विकेट लिए । अब नेपाली महिला टोलीले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।