- नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ स्थापना
- पुरस्कारका लागि अक्षयकोष निर्माण समितिद्वारा एक लाख रुपैयाँ शाखालाई हस्तान्तरण
- प्रत्येक तीन वर्षमा एक जना क्रियाशील पत्रकारलाई प्रदान गरिने
काठमाडौं– प्रभाव दैनिकका पूर्वसम्पादक स्व. कमलराज राईको स्मृतिमा पुरस्कार स्थापना भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामार्फत प्रदान गर्ने गरी ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो ।
उक्त पुरस्कारका लागि कोष निर्माणार्थ एक लाख रुपैयाँ महासंघलाई हस्तान्तरण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा अक्षयकोष निर्माण समितिकी संयोजक लालसरा राईले उक्त रकम नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याललाई हस्तान्तरण गरिन् ।
पुरस्कार स्थापनाका लागि भएको सम्झौतानुसार ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ कोषको व्यवस्थापन/सञ्चालनको सम्पूर्ण कार्य नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गर्ने छ । उक्त कोषको मूल पुँजी रकम खर्च नगर्ने र ब्याजबापत आउने रकमको ७५ प्रतिशतबाट प्रत्येक तीन वर्षमा एक जना क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गर्ने उल्लेख गरिएको छ । ब्याजबापतको २५ प्रतिशत रकम भने कोषमा बचत गर्दै जाने जानकारी दिइएको छ ।
‘नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको प्रत्येक तीन वर्षमा हुने अधिवेशनका अवसरमा एक जना क्रियाशील पत्रकारलाई यो पुरस्कार प्रदान गरिने छ,’ अक्षयकोष निर्माण समितिकी संयोजक राईले भनिन् । पुरस्कारका लागि पत्रकार छनोट गर्ने कार्य महासंघ काठमाडौं शाखाले आफ्नो कार्यविधिबमोजिम स्वतन्त्ररुपमा गर्ने उनले जानकारी दिइन् । ‘महासंघले योग्य पत्रकार छनोट गरी प्रत्येक तीन वर्षमा पुरस्कार वितरण गर्ने गरी जिम्मेवारी लिएकोमा आभार व्यक्त गर्न चाहन्छु,’ शनिबार आयोजित कार्यक्रममा संयोजक राईले भनिन् ।
महासंघकी अध्यक्ष अर्यालले पुरस्कार व्यवस्थापनको जिम्मेवारी काठमाडौं शाखाले प्रभावकारीरुपमा गर्ने बताइन् । उनले स्व. पत्रकार राई शाखाको कार्यसमिति सदस्य रहेकै समयमा हृदयघातका कारण असामयिक निधन भएको स्मरण गर्दै उनको योगदानबारे चर्चा गरेकी थिइन् । प्राप्त कोषबाट निष्पक्षरुपमा पत्रकार छनोट गरी पुरस्कार वितरण गर्ने प्रतिबद्धता उनले जनाइन् ।
रकम हस्तान्तरण गर्न आयोजित समारोहका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष गजुरधन राईले पुरस्कार स्थापनाका लागि गरिएको प्रयास प्रशंसानीय भएको बताए । स्व.पत्रकार कमलराजसँगको सहकार्य र उनको योगदानबारे चर्चा गर्दै अध्यक्ष राईले भने, ‘कमलराज राईजस्तो सत्यनिष्ठ पत्रकारको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारले नेपाली पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न योगदान पुर्याउने छ ।’
प्रभाव पब्लिकेसन प्रालिका प्रबन्ध निर्देशक कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्था तथा दलका प्रतिनिधिहरुले स्व. पत्रकार राईको योगदानबारे चर्चा गरेका थिए ।
सम्झौता पत्रः