काठमाडौं– झण्डै एक वर्ष विदेशी कामदार रोकेको मलेसियाले यो वर्षमा रोजगारीको माग खुलाउने बताइएको छ । यद्यपि, विगतको तुलनामा मागमा भारी गिरावट आउने जानकारहरुले बताएका छन् ।
विश्वव्यापीरुपमा व्याप्त आर्थिक मन्दी, विभिन्न देशबीच जारी द्वन्द्वका कारण उत्पादित वस्तुको घट्दो मागलगायत कारणले कामदारको माग घटेको जानकार बताउँछन् । मलेसियाले कलकारखानाजस्ता महŒवपूर्ण क्षेत्रमा कामदार मागेको छैन । त्यहाँको सरकारले आफ्नै नागरिकलाई रोजगारी दिन जोड दिइरहेको छ । मलेसियास्थित स्थानीय सञ्चारमाध्यमका अनुसार ३.२ प्रतिशतको हाराहारीमा रहेको त्यहाँको आन्तरिक बेरोजगारीलाई यो वर्ष (सन् २०२५) तीन प्रतिशतमा सीमित राख्ने लक्ष्य लिइएको छ । जसकारण कुनै समय वैदेशिक रोजगारीमा सबैभन्दा धेरै नेपाली जाने मुलुक बनेको मलेसियामा कामदारको मागमा ह्वात्तै घटेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा मलेसियाका लागि श्रम स्वीकृति लिने र नवीकरण गर्नेको संख्या ८१ हजार ३८२ रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ । त्यसअघिको वर्ष २०७९/८० मा यस्तो संख्या दुई लाख १९ हजार ३७५ रहेको थियो । सन् २०२४ को मे महिनाको अन्त्यतिर मलेसियन सरकारले कुनै पनि नयाँ विदेशी कामदारलाई नल्याउने नीति लिएपछि मलेसियाबाट मागपत्र आउन बन्द भएको थियो । केही कम्पनीले भने मलेसियाको मानव संसाधन मन्त्रालयसँग समन्वय गरेर केही आवश्यक कामदारहरू लग्दै आएका थिए । अब भने विदेशी श्रमिक ल्याउने तयारी गरेको मलेसियन सरकारले रोजगारदाताको माग, श्रमिक पठाउने देशमा रोजगारीको अवस्थालगायतका विषयमा अध्ययन गरिरहेको छ । अध्ययनपश्चात् कति कामदार लग्ने भन्ने यकीन हुने छ ।
झण्डै एक वर्ष ठप्प भएको मलेसिया अब भने क्रमिकरुपमा खुल्दै जाने व्यवसायीहरु बताउँछन् । सुरुमा प्लान्टेसनमा तीन हजारको हाराहारीमा श्रमिक लैजाने तयारी भइरहेको वैदेशिक रोजगार व्यवयासी जनक रावल बताउँछन्, ‘त्यसपश्चात् सेक्युरिटी गार्ड, उत्पादनलगायतका क्षेत्रमा पनि रोजगारी खुल्दै जानेमा हामी आशावादी छौं । कति कामदार लग्ने या नलग्ने भन्ने यकीन भइसकेको अवस्था भने छैन ।’
व्यवसायीहरुले कृषि, सफाइ, निर्माण, रेस्टुरेन्ट, कार्गो, माछापालनलगायत १० वटा क्षेत्रका लागि ‘एपु्रभल’ पठाएका छन् । फ्रेबु्रअरीमा एप्रुभल आइसक्छ । तर पहिलाजस्तो ठूलो संख्यामा माग नआउने अर्का व्यवसायी लोकतान्त्रिक वैदेशिक रोजगार मञ्च दीपक थापा बताउँछन् । ‘त्यहाँका करिब डेढ सयजति कम्पनीमा बुझ्दा २०–२५ जनाको पनि माग छैन । मलेसियन सरकारले यही फेब्रुअरीबाट श्रमिकको न्यूनतम ज्याला १५ सयबाट १७ सय पु¥याउँदै छ, तर माग नै न्यून छ ।’
संकटमा व्यवसायी, खारेज हुँदै नियम
अर्कोतिर झण्डै एक वर्ष मलेसियामा रोजगारी ठप्प हुँदा मलेसियामा मात्र कामदार पठाउँदै आएका व्यवसायीहरु भने संकटमा परेका छन् । कामदारको माग नआउँदा एकातिर व्यवसाय चौपट छ भने अर्कोतिर न्यूनतम १०० जना नपठाए संस्था नवीकरण गर्न नमिल्ने व्यवस्थाले उनीहरु थप समसयामा छन् । सरकारबाट इजाजतपत्र लिएर कर तिरिरहेको अवस्थामा व्यवसायीमाथि बाध्यकारी नियम लगाउन नहुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भनाइ छ । ‘वर्तमान श्रममन्त्री यो नियम खारेजी गर्नेतर्फ सकारात्मक हुनुहुन्छ । संसद् बसेपछि मन्त्रीस्तरीय निर्णयलाई हाउसमा लाने तयारी छ,’ संघका महासचिव मेघनाथ भुर्तेल भन्छन् ।
नेपालसँग मिल्दोजुल्दो हावापानी, सिक्न सजिलो भाषा, राम्रो पारिश्रमिकलगायतका कारण प्रायजसोको रोजाइ बन्ने मलेसियामा गैरकानुनीरुपमा बस्दै आएका कामदारहरुलाई घर फर्काउने भन्ने विगतको नीति पनि फेरिएको छ । विगतमा कुनै एउटा सेवामा रोजगारीका लागि गएका कामदारले क्षेत्र परिवर्तन गर्नेबित्तिकै उनीहरू अवैध हुने व्यवस्था थियो । अब भने उनीहरुलाई वैधानिक गर्न मिल्ने कानुन बनेको छ । यस्तो कामदारको संख्या करिब एक लाखको हाराहारीमा रहेको बताइन्छ । उनीहरु उतै वैधानिक हुने भएपछि पनि कामदारको माग केही घट्नसक्ने व्यवसायी बताउँछन् ।