काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को एक विद्यालयका प्रधानाध्यापक, लेखापाल र व्यवस्थापन समिति सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सेवाग्राहीबाट लिएको ६५ हजार रुपैयाँ घुससहित पक्राउ परेका राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेश गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र कहारसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको हाे ।
प्रवक्ता नरहरि घिमिरेका अनुसार राजनारायण माध्यमिक विद्यालय सहायक (लेखापाल) गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य कहारले भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो ।
उजुरीका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले गुप्ता र कहारलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा राजनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक रेशमराज कँडेल, लेखापाल गुप्ता र विद्यालय व्यवस्थापन समिति सदस्य कहारको मिलोमतोमा सेवाग्राहीसँग घुस लिएको खुलेको थियो । आयोगले उनीहरूलाई कैद तथा बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ।