काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा सात खर्ब ६३ अर्ब आठ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.१ प्रतिशतले बढेको छ । यो वृद्धिदर अघिल्लो आर्थिक वर्षको भन्दा न्यून हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.१ प्रतिशतले वृद्धि भई पाँच अर्ब ५८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १९.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६२ हजार ६२८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः दुई लाख छ हजार ३९० र एक लाख ३३ हजार ९४० रहेको थियो ।
समीक्षा अवधिमा सबैभन्दा बढी असोज महिनामा एक खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसैगरी साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड, भदौमा एक खर्ब २६ अर्ब २१ करोड, कात्तिकमा एक खर्ब १४ अर्ब ३२ करोड, मंसिरमा एक खर्ब १८ अर्ब ८० करोड र पुसमा एक खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ भित्रिएको तथ्यांक छ ।