काठमाडौं– एकीकृत वैदेशिक रोजगार व्यवसायी संघले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विधान संशोधन गनुपर्ने माग राखेको छ । आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा हालको कार्यसमिति फेल भएकाले कानुन संशोधन आवश्यक रहेको उक्त संगठनको दाबी छ । विद्यमान कार्यसमिति खारेज गरी दलगत नभई खुला प्रतिस्पर्धामा जानुपर्ने एकीकृतले माग गरेछ ।
एकीकृत व्यवसायी संघको कार्यपत्र सुनाउँदै सुरजकुमार गुरुङले वैदेशिक रोजगार व्यवसायी संघमा उमेदवारको मात्र कुरा हुँदा व्यवसाय अव्यवस्थित बनेको बताए । गलत विषयमा व्यवसायीबीच प्रतिस्पर्धा हुँदा अन्य व्यवसायीजत्तिको हैसियत पनि बन्न नसकेको उनको भनाइ थियो । ‘सुनचाँदी व्यवसायी, निर्माण व्यवसायीहरुले आन्दोलन गर्दा सरकारले माग पूरा गर्छ, तर हामीलाई पत्याउँदैन । यो व्यवसायीकै कारणले हो,’ उनले भने । जुन व्यक्तिलाई विदेश पठायो उसैले राम्रो नजरले नहेरेको भन्दै उनले दुःख व्यक्त गरे ।
यसको जवाफ दिँदै संघका अध्यक्ष राजेन्द्र भण्डारीले विधान संशोधनको विषय तयार अवस्थामा रहे पनि व्यवसायीबीच हिलो छ्याप्ने प्रवृत्तिले काम अघि नबढेको बताए । आफूले कुनै कदम चाल्न लाग्दा काम हुन नदिन विरोधकै लागि विरोध गरिँदै आएको उनको आरोप छ । ‘हामी आफैंमा समस्या छ । सबैले म म गरौं,’ उनले भने, ‘दुई वर्षे कार्यावधि छोटो भयो, गर्न खोजेको काम पनि गर्न सकेको छैन । तीन वर्षे बनाउँ भन्दा अझै कुर्सीमा बस्न यस्तो कुरा उठायो भनियो ।’
मुलुकको आधाभन्दा बढी जनसंख्या महिला भएको तर संघमा भने पुरुषहरु नै हाबी भएकाले महिला उपाध्यक्ष अनिवार्य राख्ने प्रस्ताव गरेको उनले बताए । यस्तै विगतमा कुटाकुट गर्ने व्यवसायीलाई आफूले एक ढिक्का बनाएर लगेको उनको दाबी छ । सिन्डिकेट ल्याउन खोज्ने केहीकाविरुद्ध एकढिक्का भएर उभिन उनले आग्रह गरे ।
अन्तरक्रियामा विभिन्न संस्थाका ४० जनाभन्दा बढी व्यवसायीले विधान संशोधनका विषयमा आफ्नो धारणा राखेका थिए । केहीले भने चुनावको संघारमा गरिएको कार्यक्रमको औचित्यमाथि प्रश्नसमेत उठाए ।
०००