टाेकियाे - जापानका अर्थमन्त्री कात्सुनोबु कातोले आइतबार प्रमुख व्यापारिक साझेदारहरू क्यानाडा, मेक्सिको र चीनलाई लक्षित गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको व्यापक भन्सार महसुलको विश्वव्यापी व्यापारमा पर्ने सम्भावित असरबारे जापान ‘गहिरो चिन्ता’ मा रहेको बताएका छन् ।
ट्रम्पले क्यानाडा र मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा हुने निर्यातमा मङ्गलबारदेखि २५ प्रतिशत भन्सार महसुल लाग्ने र चीनबाट आउने सामानमा थप १० प्रतिशत भन्सार महसुल लाग्ने बताएका छन् । यो घोषणाले ऊर्जादेखि अटोमोबाइल र खाद्यान्नसम्म आपूर्ति शृङ्खलामा उथलपुथलको खतरा निम्त्याएको छ ।
“यी भन्सार महसुलले विश्व अर्थतन्त्रमा कस्तो प्रभाव पार्न सक्छन् भन्ने बारेमा हामी गहिरो चिन्तामा छौँ”, जापानी अर्थमन्त्री कातोले फुजी टिभीको एक आइतबारको कार्यक्रममा भने ।फुजी टिभीका अनुसार कातोले विदेशी मुद्रा बजारमा ट्रम्पको भन्सार महसुल नीतिको सम्भावित प्रभावहरूको ‘पूर्ण मूल्याङ्कन’ गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।
“जापानले यी नीतिहरू र तिनका प्रभावहरूको सूक्ष्म परीक्षण गर्नुपर्छ र उचित कदमहरू चाल्नुपर्छ”, फुजी टिभीले कातोलाई उद्धृत गर्दै भन्यो । गैरकानूनी आप्रवासी र फेन्टानाइलसहितका लागुऔषधको संयुक्त राज्य अमेरिकामा प्रवाह रोक्न असफल भएका देशहरूलाई सजाय दिने उद्देश्यले यी कदमहरू चालिएको ट्रम्पले बताएका छन् ।
चीन, क्यानडा र मेक्सिकोले भन्सार महसुलको जवाफ दिने प्रतिज्ञा गरेका छन् । बेइजिङको वाणिज्य मन्त्रालयले ‘सम्बन्धित जवाबी कदमहरू’ चाल्ने र विश्व व्यापार सङ्गठनमा वासिङ्टनविरुद्ध दावी दर्ता गर्ने बताएको छ ।
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले आफ्नो देशले जवाबी शुल्क लगाउने बताएका छन् भने क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावाले पनि एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब छ अर्ब ६० करोड अमेरिकी डलर) मूल्यका केही अमेरिकी सामानमा २५ प्रतिशत कर लगाउने बताएका छन् ।