यसपटक पनि हरेक वर्षझैं नेपालले सिमसार दिवस मनाएको छ । नारा र झारा टारेरै यस्ता दिवसहरु सम्पन्न गरिन्छ । जलवायु परिवर्तनको नाममा अर्बौं सक्काउँदा पनि सिमसार क्षेत्र भने सुख्खा बन्दै गएका छन् । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, पानीको मुल भएको क्षेत्र नै सिमसार हुन् । सिमसार जीवजन्तु तथा वनस्पतिको बाँच्ने प्रमुख स्रोत हो ।
विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन् गर्छन् । सिमसार लाखौं घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो । यस्तै नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् ।
यस्तो क्षेत्रलाई आदिवासी जनजाति देवभूमिका रुपमा पूजा गर्छन् । यस्ता क्षेत्रमा फोहोर गर्न बर्जित गरिन्छ र रुख कटान गर्नसमेत मनाही गरिन्छ । तर यी विषयलाई कुरीति भन्दै पढेलेखेका भनिएकाहरुले यस्तो क्षेत्रमा अतिक्रमण बढाएका छन् । परम्परागत ज्ञानलाई उनीहरु विकासविरोधी भन्नसमेत पछि पर्दैनन् ।
बसाइँसराइ, नदीखोला तथा आसपासमा फोहरमैला विसर्जन, नदीजन्य वस्तुको उत्खनन्, सिमसारजन्य स्रोतको अधिक दोहन, रासायनिक मल र विषादीको मिसावट, जथाभावी पूर्वाधार निर्माणलगायत चुनौती थपिएका छन् । पानीको स्रोतमा सिमेन्टेड ट्यांकी निर्माणले पनि पानीको स्रोत सुक्ने क्रम जारी छ । तर स्रोत थुनेर मानिसले यसलाई अझ आफ्नै बनाउन सिमेन्टेड गर्दा स्रोत नै सुक्ने स्थितिमा पुगेको हो ।
रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील संकटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको संख्या १७२ पुगेको छ । साथै दुई हजार ४२२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो । नेपालमा सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर छ । यस्ता क्षेत्रलाई जोगाउन आदिवासी ज्ञान पनि प्रयोग गरौं ।