काठमाडौं– ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार निर्माणको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि सरकारी वार्ता टोली र ‘नो केबलकार’ पक्षले गठन गरेको सहजीकरण समितिबीच सोमबार भएको छलफल निष्कर्षविहीन बनेको छ । सोमबार अबेरसम्म चलेको छलफलको क्रममा केबलकार निर्माणको काम स्थगन गर्न सरकारी वार्ता टोली सकारात्मक नभएपछि छलफल निष्कर्षविहीन भएको सहजीकरण समितिका संयोजक प्राज्ञ अमर तुम्याहाङले बताए ।
‘वार्तामा बस्नुअघि हामीले केबलकार निर्माण कार्य रोकिनुपर्छ, मेसिनहरू फिर्ता ल्याउनुपर्छ भन्यौं,’ उनले प्रभावसँग भने, ‘हाम्रो मागमा सरकारी वार्ता टोली सहमत हुन सकेन ।’आन्दोलनरत पक्षको दोस्रो माग पक्राउ परेकाहरूको रिहा गर्न र तेस्रो माग नामजागेँ (काफ्लेपाटी)मा राखिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई फिर्ता बोलाउने विषयमा भने सरकारी वार्ता टोली सकारात्मक भएको तुम्याहाङले बताए ।
वार्तामा बस्नुअघि हामीले केबलकार निर्माण कार्य रोकिनुपर्छ, मेसिनहरू फिर्ता ल्याउनुपर्छ भन्यौं । हाम्रो मागमा सरकारी वार्ता टोली सहमत हुन सकेन ।
अमर तुम्याहाङ
संयोजक, वार्ता सहजीकरण समिति
सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले पनि केबलकार निर्माण कार्य जारी राखेर समस्याको समाधान खोजौं भनेर भनिएको र त्यसमा सहजीकण समिति सहमत नभएको बताए । उनले आन्दोलनरत पक्षबाट गठित सहजीकरण समितिसँगको छलफल सकारात्मक रहेको पनि बताए । भट्टराई संयोजक रहेको सरकारी वार्ता टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव महेन्द्रकुमार सापकोटा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव राकेश गुरुङ र सहरी विकास मन्त्रालयका उपसचिव झपटसिंह विश्वकर्मा छन् । ‘नो केबलकार’ पक्षबाट प्राज्ञ तुम्याहाङले नेतृत्व गरेको सहजीकरण समितिमा अधिवक्ता शंकर लिम्बू, राम मादेन, सरस्वता सिंगक रहेका छन् । सोमबारको छलफलमा सरकारी वार्ता टोलीका सबै र आन्दोलनरत पक्षका अधिवक्ता लिम्बूबाहेक थिए ।
‘नो केबलकार’ पक्षले कर्मचारीको नेतृत्वमा गठित वार्ता समितिले समस्यालाई तार्किक निष्कर्षमा पु¥याउन नसक्ने भन्दै आएको छ । त्यही भएर राजनीतिक नेतृत्वको नेतृत्वमा गठन हुने वार्ता टोली हुनुपर्ने माग अघि सारेको छ । तर, त्यसअघि सहसचिव भट्टराई नेतृत्वकै सरकारी वार्ता टोलीसँग वार्ता बस्न वातावरण बनाउनका लागि भन्दै गठित सहजीकरण समितिले सोमबार छलफल गरेको हो । समिति संयोजक तुम्याहाङे मंगलबार ११ बजे फेरि होटल हिमालयन कुपन्डोलमा दुवै पक्षको बैठक बस्ने भएको जानकारी दिए ।
उनले वार्तामा बस्ने आधार नै निर्माण भइनसकेको भन्दै पूर्ववत् आन्दोलनका कार्यक्रमलाई जारी राखेको पनि बताए । आन्दोलनरत पक्षले केबलकार निर्माण परियोजना खारेजीको माग गरेको छ । तर, सुरक्षा घेराबीचबाट केबलकार निर्माण कार्य जारी छ । केबलकार निर्माणमा मुख्य लगानी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको छ । त्यहाँका स्थानीय आदिवासी लिम्बू समुदायले भने केबलकार निर्माण गरिए मुन्धुमीस्थल मुक्कुम्लुङ भनिने पाथीभराको महिमा नामेट हुने भन्दै चिन्ता प्रकट गर्दै आएका छन् । लिम्बू तथा हिन्दू समुदायको धार्मिक तथा सांस्कृतिक केन्द्रमा कुनै एक व्यापारीलाई पैसा कमाउने थलो बनाउन नहुने तर्क पनि सुनिने गरिएको छ ।
यद्यपि, मुक्कुम्लुङ भनिने पाथीभरालाई लक्षित गरी ताप्लेजुङको फुंलिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७ किलोमिटर लामो केबलकार निर्माण कार्य भइरहेको छ । ढकाल नेतृत्वको पाथीभरा मुक्कुम्लुङ केबलकार प्रालिले केबलकार निर्माणको काम गरिरहेको हो । २०७५ सालदेखि त्यस क्षेत्रमा केबलकार बनाउन हुँदैन भन्दै खासगरी लिम्बू समुदायले विरोध गर्दै आएका छन् ।
केबलकार निर्माण कार्य जारी राखेर समस्याको समाधान खोजौं भन्यौं, त्यसमा सहजीकरण समिति सहमत भएन । तर, छलफल सकारात्मक भयो ।
प्रेमप्रसाद भट्टराई
संयोजक, सरकारी वार्ता टोली
तर, स्थानीय सरकार (फुङ्लिङ नगरपालिका), प्रदेश सरकारदेखि संघ सरकारसम्मै एमाले नेतृत्वमा भएपछि केबलकार निर्माणको कार्य धमाधम भइरहेको छ । फुङ्लिङका मेयर अमिर मादेनले कुनै पनि हालतमा केबलकार निर्माण हुने र त्यसका लागि कसैले अवरोध गर्न चाहे पनि काम अबरुद्ध नहुने भन्दै आएका छन् । कोशी प्रदेशमा एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्कीले केबलकार निर्माण प्रयोजनकै लागि भनेर सशस्त्र प्रहरीलाई काफ्लेपाटी क्षेत्रमा खटाएको छ । केन्द्र सरकार मातहत रहने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरेको छ । त्यहाँबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एमाले सांसद योगेशकुमार भट्टराई खुलेरै केबलकार निर्माणको पक्षमा लागेका छन् ।
यसले गर्दा आन्दोलनरत पक्षको माग सुनुवाई गर्ने पक्षमा तत्काल सरकार देखिएको छैन । उता आन्दोलनकारीहरूले पनि आइतबारदेखि अरुण–सभाखोला पूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सुनसरीमा आमहड्ताललाई जारी राखेका छन् । आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ ।
यही १२ माघका काफ्लेपाटी नजिकै रहेको बलुडाँडामा आन्दोलनकारी र सशस्त्र प्रहरीबीच तनाव भएको थियो । त्यसबेला सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर तीन जना आन्दोलनकारी गम्भीर घाइते भए । दुई जना घाइते भए । सामान्य घाइते थुप्रै भए । गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरीतर्फ पनि २१ जना घाइते भएका थिए । सोही घटनापछि आन्दोलनरत पक्षले आन्दोलनलाई थप चर्काएका हुन् ।
मुन्धुमीस्थल कसरी मुक्कुम्लुङ ?
लिम्बू समुदायका मानिसहरू हिन्दु धर्मावलम्वीहरूले भन्दै आएको पाथीभरालाई मुक्कुम्लुङ भन्छन् । मुन्धुमीस्थलका रूपमा लिन्छन् । कारण, पाथीभरा डाँडामा अनेक लीला गर्ने युमा भएको विश्वास लिम्बू समुदायको छ ।लिम्बु समुदायका पुरोहित फेदाङमा, साम्बा, येबाहरूले मुन्धुम फलाक्दा मुक्कुम्लुङ माङ, सेमुक्तु मुक्तुबो माङ, सेमुक्तु मुक्तुबुङ र मुक्तिगोःक् चेप्तीगोःक् मुक्तीफो माङ भन्दै पुकार्ने गरेको लिम्बू भाषाविद् दिलेन्द्र कुरुम्बाङ बताउँछन् ।
उनका अनुसार तागेरानिङवाफु माङलाई लिम्बू समुदाय सर्वशक्तिमान ईश्वर मान्छन् र जसलाई युमाकै अर्को रूप भन्ने गरिन्छ । तागेरानिङवाफु माङ निराकार, अदृश्य र सर्वव्यापक भएको र कहिलेकाहीँ मानव स्त्रीको रूप धारण गरेर मानिसलाई दर्शन दिन्छन् भन्ने विश्वास पनि उनीहरूको छ ।कुरुम्बाङ मिथकमा युमा र मुक्कुम्लुङको कथा जोडिने बताउँछन् । मुन्धुम र मिथकअनुसार युमाको लीला विभिन्न स्थानमा अनेक भूमिकामा आउँछ । कहिले बालिका, कहिले जवान, कहिले वृद्धा स्त्रीको रूप लिएर तान बुन्ने, थुन्से बोकेर हिँड्ने युमाले तेह्रथुम, पान्थर, मधेश, हिमाल जताततै डुल्दै मानिसहरूलाई दर्शन दिएको किंवदन्ती छ ।
सोहीकारण लिम्बूहरूले मुक्कुम्लुङ भनिने पाथीभरालाई मुन्धुमीस्थल भन्दै आएका छन् । धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा पनि मान्ने गरेका छन् र उक्त स्थानमा केबलकार बनाउँदा मुक्कुम्लुङको महिमा नामेट हुने उनीहरूको चिन्ता छ । लिम्बू समुदायले ‘मुक्कुम्लुङ’ भनिने धार्मिकस्थललाई हिन्दु धर्मावलम्बीहरू भने पाथीभरा भन्छन् । यो हिन्दूहरूको प्रसिद्धमध्येको एउटा धार्मिकस्थल भइसकेको छ । श्रद्धालु भक्तजनहरू टाढा टाढादेखि दर्शन गर्न त्यहाँ पुग्छन् । उनीहरूको विश्वासमा त्यहाँ काली देवी छ र अधर्मीहरूको नाश गर्ने र पवित्र मन भएकाहरूको कल्याण गर्ने धार्मिक विश्वास छ । सोही ठाउँमा झण्डै ९४ वर्षअघि हालको फुंलिङ नगरपालिका–१० फुरुम्बोका गुरुङ भेडी गोठालाहरूको भेडीगोठ रहेको र एक दिन भेडाहरू हराएको कथा पूर्वमा चर्चित छ ।
कथाअनुसार एक दिन गोठमा भएका सबै भेडा हराएपछि गोठाला चिन्तामा थिए । राति सपनामा भने एक स्त्री आएर भेडीगोठ राखेर फोहोर गरेपछि आफूले भेडाहरू लिएको र सफा गरेर पूजाआराधना गरे भेडा ल्याइदिन्छु भनेको कथामा सुन्न पाइन्छ । भनिन्छ, सोहीअनुसार भोलिपल्ट बिहान गोठाले पूजा आराधना गरेपछि पूर्ववत् अवस्थामै भेडाहरू भेटिएको थियो । त्यसपछि त्यहाँ मानिसहरूले पूजा आराधना गर्ने परम्परा विकास भएको मानिन्छ । यससँगै पूजा गर्न थालिएको डाँडा अन्न भर्ने पाथीजस्तो देखिएकाले पाथीभरा देवी नामकरण भएको बताइन्छ ।
१५८ जना आन्दोलनकारीले दिए सामूहिक गिरफ्तारी
आमहड्तालको क्रममा आइतबार सुनसरीको इटहरीबाट पक्राउ परेका छ जना ‘नो केबलकार’का आन्दोलनकारीलाई रिहा माग गर्दै १५८ जना आन्दोलनकारीले सामूहिक गिरफ्तारी दिएका छन् । इलाका प्रहरी कार्यालयमा उनीहरूले सोमबार स्वेच्छिक गिरफ्तारी दिएका हुन् ।
यातायात बन्दको क्रममा प्रहरीले आइतबार जसपाका नेता सुमन चेम्जोङसहित छ जना युवालाई पक्राउ गरेको थियो । पक्राउपछि सात दिनको म्याद थपेपछि धरानमा सोमबार साँझ आन्दोलनकारीहरूले सामूहिक गिरफतारी दिएका हुन् ।
‘१५८ जनाले सामूहिक गिरफ्तारी दिएका हौं । किनभने हाम्रा योद्धाहरूलाई पक्राउ गरेर थुन्यो । त्यसको प्रतिरोधमा हामीले यस्तो कदम चाल्यौं,’ जनता समाजवादी पार्टीका नेता ताजुब लिम्बूले बताए ।इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगू लिम्बूले भने प्रहरीले उनीहरूलाई गिरफ्तार नगरेको बताए ।