बुटवल– बुटवलको पश्चिम नेपाल बस व्यवसायी प्रालिले यात्रुलाई गाडी चढाउनुअघि यात्रुको ज्वरो परीक्षण गर्ने भएको छ । बस व्यवसायी प्रालिले आफू मातहत रहेका १० वटा टिकट काउन्टरबाट बस चढ्ने यात्रुको तापक्रम मापन गर्ने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । संक्रमण भएको व्यक्ति गाडीमा चढ्दा अरु व्यक्तिलाई संक्रमण नहोस् भनेर गाडीमा चढ्ने यात्रुको ज्वरो परीक्षण गर्न लागिएको उनले बताए । सामान्यभन्दा बढी तापक्रम भएमा वा संक्रमण भएको आशंका भएमा गाडी चढ्न आएका यात्रुलाई नजिकको स्वास्थ्य संस्थामा पुग्ने व्यवस्था मिलाइने उनले बताए ।
प्रालिले बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीमा उपकरणबाट यात्रुहरुको तापक्रम मापन गर्ने जनाइएको छ । खरेलका अनुसार यात्रुको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै सबै काउण्टरमा उपकरण ल्याइएको र आफ्नै कर्मचारीमार्फत तापक्रम मापन गरी उनीहरुको अवस्था जानकारी गराइनेछ । एक संक्रमितबाट अन्य यात्रुहरुको समेत स्वास्थ्य जोखिममा रहने भएको र सरकारले विभिन्न स्थानमा तापक्रम मापन गर्ने व्यवस्था गरिरहेकाले आफूहरुले पनि टिकट काउण्टरहरुबाट शुरुवात गर्ने जानकारी गराइएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६ ०९:४७