- सोमबार बसेको पदाधिकारी बैठकले पूर्वराष्ट्रपति पुनलाई दियो उत्पादन विभागको जिम्मेवारी
- २०७२ कात्तिक १३ गते उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनले पार्टी छाडेका थिए
- दोस्रो कार्यकाल पनि उपराष्ट्रपति भएका उनी नौ वर्षपछि राजनीतिमा फर्किएका हुन्
- दुईपटक राष्ट्रपति बनिसकेकी विद्यादेवी भण्डारी पनि सक्रिय राजनीतिमा ‘कमब्याक’ भइ एमालेको नेतृत्व लिने कसरतमा
काठमाडौं– पूर्वराष्ट्रपति नन्दकिशोर पुन सक्रिय राजनीतिमा फर्किएका छन् । पुनले नेकपा माओवादी केन्द्रको उत्पादन विभाग प्रमुखको जिम्मेवारी पाएसँगै सक्रिय राजनीतिमा फर्किएका हुन् ।
माओवादी केन्द्रको पदाधिकारी बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी हुँदै आएका उनको ‘कमब्याक’लाई माओवादीभित्रै विरोध भएको थियो । यद्यपि, उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा सोमबार बसेको पदाधिकारी बैठकले उत्पादन विभागको जिम्मेवारी दिएको हो ।
यसबारे नीतिगत निर्णय भए पनि अझै केही मिलाउन बाँकी रहेको माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले बताए । ‘विभागहरुको जिम्मेवारीको नीतिगत निर्णय भएको छ । प्राविधिक त्रुटि मिलाएर पछि सर्कुलर आउँछ,’ पार्टी प्रवक्तासमेत रहेका सापकोटाले भने ।माओवादीमा हाल ३५ विभाग छन् । यद्यपि पुनलाई जिम्मेवारी दिएको भनिएको उत्पादन विभाग भने छैन । यसकारण उनलाई अर्थ र उद्योग हेर्नेगरी जिम्मेवारी दिइनेसमेत बताइएको छ ।
२०७२ कात्तिक १३ गते उपराष्ट्रपतिमा निर्वाचित भएसँगै पुनले पार्टी छाडेका थिए । यसपछि दोस्रो कार्यकाल पनि उपराष्ट्रपति भएका उनी नौ वर्षपछि राजनीतिमा फर्किएका हुन् । २०७९ चैत ६ गते उपराष्ट्रपतिको भूमिकाबाट बाहिरिएका उनी पटक–पटक माओवादीको राजनीतिमा फर्किने चर्चा चलेको थियो । माओवादी पदाधिकारी बैठकमा उनको कमब्याकलाई लिएर प्रश्नसमेत उठेको थियो । जसकारण माओवादी अध्यक्ष दाहालले पुन आफैं राजनीतिमा सक्रिय हुन चाहेको तर्क गर्थे । अध्यक्ष दाहालले पुनलाई उपाध्यक्ष बनाउने प्रयास गरे पनि विधानअनुसार नमिल्ने भएपछि अहिले विभाग प्रमुख बनाएको बताइएको छ ।
तीन इञ्चार्जको जिम्मेवारी खोसियो
माओवादी पदाधिकारी बैठकले मधेस प्रदेश, बागमती प्रदेश र सार्क समिति प्रदेशको इञ्चार्जको जिम्मेवारी खोसेको छ । मधेसबाट लिलामणि पोखरेल, बागमतीबाट अग्नि सापकोटा र सार्क प्रवासबाट पम्फा भुसालको जिम्मेवारी खोसिएको हो । माओवादी उपाध्यक्ष सापकोटाले भने महासचिवभन्दा माथिका पदाधिकारीले भुगोल नहेर्ने भनी निर्णय भएसँग अरु नेतालाई जिम्मेवारी दिएको बताए । मधेसमा पोखरेलको ठाउँमा मातृका यादव, बागमतीमा सापकोटाको ठाउँमा हितमान शाक्य र सार्कमा लक्ष्मण पन्तलाई जिम्मेवारी दिइएको छ ।
कोशीमा हरिबोल गजुरेल, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको जिम्मेवारी यथावत् राखिएको छ । त्यस्तै विशेष प्रदेश इञ्चार्जमा जयपुरी घर्ती, सम्पर्क समन्वय विशेषमा लिलामणि पोखरेल, प्रवास युरोप–अमेरिका इञ्चार्जमा राम कार्की र प्रवास एसियामा ओम शर्मा तोकिएका छन् ।
दाहालको सचिवालय हेरफेर
माओवादी अध्यक्ष दाहालनिकट मानिने रमेश मल्ललाई स्वकीय सचिवबाट बिदाइ गरेर उनको ठाउँमा गोविन्द आचार्यलाई तानिएको छ । मल्ल लामो समयदेखि दाहालको सचिवालयमा थिए । आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुँदै दाहाल प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकार थिए ।
२०७८ कात्तिकमा जोखवहादुर महरालाई विस्थापित गरेर दाहालको स्वकीय सचिव नियुक्त भएका सल्यानका मल्ललाई सक्रिय राजनीतिको जिम्मा दिने तयारी गरेको छ । यसअघि दाहालका निजी अंगरक्षक रहेका युवराज दुलाल अहिले बागमती प्रदेशमा दुईपटक प्रदेशसभा सदस्य निर्वाचित हुँदै मन्त्री भइसकेका छन् ।
पूर्वराष्ट्रपति भण्डारीको पनि ‘कमब्याक’ प्रतीक्षा
दुईपटक राष्ट्रपति बनिसकेकी विद्यादेवी भण्डारी पनि नेकपा एमालेलाई नेतृत्व गर्ने कसरतमा छिन् । हिजोआज भण्डारी सक्रिय राजनीतिमा फर्कने विषय ट्रेन्डिङमै रहेको छ । उनको निवास भंगालमा एमाले नेता कार्यकर्ताको दैनिक भीड लाग्छ ।
एमालेका अधिकांश नेताहरु अहिले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली गुटबाट विस्तारै भण्डारी खेमामा प्रवेश गरिरहेका छन् । यसैले पनि गुटबन्दी नगरिदिन आग्रह गर्न ओली पुस १८ गते भंगाल पुगेका थिए । केन्द्रीय कमिटी बैठकअघि ओली भण्डारीलाई भेट्न उनको निवास पुगेका थिए ।
भण्डारीले आफू सक्रिय राजनीतिमा फर्कने तयारी थालेसँगै सचिवालयलाई सक्रिय बनाएकी छन् । एमालेमा नेतृत्व गर्ने अरु नेता नदेखिएसँगै ओली आफैंले पनि भण्डारीलाई नेतृत्वका लागि तयारी अवस्थामा रहन आग्रह गरेको बताइन्छ ।