हिउँदयामसँगै सुख्खा मौसम सुरु भएको छ । सामान्यतया यो मौसम पतझरको मौसम हो । यो बेला पानीका मुलहरु विस्तारै सुक्ने समय हो । मौसममा बदलाव आएसँगै हुरी चल्ने समय पनि आउँदै छ । यस्तो मौसम आगलागीका लागि जोखिमपूर्ण समय हो । अहिले मौसम परिवर्तन हुँदै हुरी चल्नुपूर्व नै आगलागीका घटना बढ्न थालेका छन् । जुम्लामा घरमा आगलागी, काठमाडौंका केही स्थानमा आगलागी हुँदा लाखौंको क्षति भएका खबर आएका छन् । अमेरिकाको क्यालिफोर्नियामा केही समयअघिमात्र भीषण आगलागी भएको खबर नेपालमा विजुलीझैं फैलियो ।
नेपालमा पनि एक–दुई हुँदै यस्ता घटना बढ्दै जान थालेका छन् । सामान्यतया मानिसको लापरवाहीकै कारण आगलागीका घटना हुन्छन् । आगो लागेपछि यो निभाउनका लागि एक त दक्ष जनशक्ति चाहिन्छ, अर्को यसबाट बच्ने उपायहरुको पनि जानकारी हुनुपर्छ । यसबारेमा नेपालमा न त पूर्वतयारी शिक्षा छ न त विपद्बाट बच्ने शिक्षाको अभ्यास ।
क्यालिफोर्नियामा आगलागी हुँदा धनसम्पत्तिमा ठूलो क्षति पुगे पनि मानवीय क्षति न्यून थियो । नेपालमा मानवीय क्षति भने डरलाग्दो हुने गर्छ । यसका लागि पहिले त पूर्वतयारी र शिक्षा अति आवश्यक छ । यसका लागि सरकारले विशेष शिक्षा अभियान त सञ्चालन गर्नैपर्छ । कतिपयले ख्यालख्यालमा जंगलमा लगाएको आगोले गाउँ नै सखाप बनाएका घटनाहरु पनि छन् । त्यसबारे सरकारले विशेष तयारी गर्नुपर्छ । रोकथामका उपायहरु बेलैमा अपनाए क्षति कम गर्न सकिन्छ । किनभने हामीसँग आगलागी भएपछि निभाउने क्षमता निकै कम छ ।
पहिलेपहिले सहरबीचमा पोखरी खनेर पानी जम्मा गर्ने प्रथा थियो । जुन आगलागीजस्ता घटनालाई नियन्त्रणमा लिन बनाइएको हुन्थ्यो । अहिले सहरमा अव्यवस्थित बसोबासका कारण खुला क्षेत्रको अभाव छ । पानी जम्मा गर्न बनाइएको पोखरीहरु सुख्खा छन् । जसकारण आगो लाग्दा निभाउने उपाय भनेको दमकल नै हो । तर साँघुरो गल्लीमा दमकल पस्न पनि सक्ने अवस्था हुँदैन ।
गाउँका दूरदराजमा दमकलको कल्पना गर्नै सकिन्न । पानी भएकोको ठाउँमा दमकल नहुने, दमकल भएको ठाउँमा पानी नहुने, आगलागी नियन्त्रणका आधुनिक उपायहरुमा सरकारको लगानी कमी हुनुका कारण पनि क्षति कम गर्न सकिरहेको हुन्न । त्यसैले यस्ता घटना हुनुभन्दा पहिले नै सचेत हुनेगरी पूर्वतयारी शिक्षा दिनु आजको आवश्यकता हो ।